काठमाडौं । सामान्यतया स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । यो मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ।
अल्जाइमर लागेपछि यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने , बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ। विस्मृति रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो।
विस्मृति रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढङ्गले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्। तत्कालैका घटना, फोन नम्बर, समयतालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रमसमेत बिर्सिन्छन्।
किन हुन्छ अल्जाइमर ?
उमेर
सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ।यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।
वंशाणुगत
आफ्नो अग्रज वंशमा यो रोग भएमा अनुज वंशमा रोग लाग्ने सम्भावना दुई तीन गुणा बढी हुन्छ।
डिप्रेसन
तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई अल्जाइमरको जोखिम बढी हुन्छ ।
उपचार विधी
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन । खाली चिकित्सले स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलायहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने मात्रै सिकाउँछन् । नियमित रुपमा गरिने शारीरिक व्यायाम, सामाजिक कार्यमा सक्रियताका कारण यो बढ्ने गतिलाई कम भने बनाउन सकिन्छ ।