काठमाडौं । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ। बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन्। त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ।
बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ। तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन सकेका छैनन। बङ्गलाचुली–५ की रीता नेपाली नौ महिनाकी गर्भवती छन्। उनी बङ्गलाचुली अस्पतालमा स्वास्थ्य जाँच गराउन गइन्।
गर्भमा रहेको बच्चाको अवस्था बुझ्न नेपाली सो अस्पताल पुगिन्। अस्पतालमा एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण उक्त सुविधा लिन पाइनन्। अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा पाउन नसकेको उनले गुनासो गरिन्।
“गाउँमै अस्पताल भए पनि उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ।” नेपालीले भनिन्। पूर्वाधार भएर पनि स्वास्थ्य सेवा पाउनका लागि सास्ती भोग्नु परेको स्थानीयवासीको गुनासो छ।
स्थानीयस्तरमा अस्पताल सञ्चालनमा आए पछि यहाँका बासिन्दा गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाइने भयो भन्दै दङ्ग परेका थिए। सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बङ्गलाचुली गाउँपालिकाको पहलमा रू १० करोडको लागतमा अस्पताल भवन निर्माण भएको हो। स्थानीय शिवराज भण्डारीलेअस्पताल बनेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पालिकाले पहल गर्नुपर्ने बताए।
अस्पतालमा कार्यरत सिनियर अनमी शारदा चन्दले जनशक्ति नहुँदा स्वास्थ्य चौकीकै मापदण्डअनुरुप काम गर्दै आएको बताइन्।
स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार केही समय अघिसम्म डा वसन्त शाह अस्पतालमा कार्यरत रहे पनि उनी अध्ययनका लागि गएपछि अस्पताल चिकित्सकविहीन भएको हो। दाङका १० मध्ये १५ शय्याको अस्पताल बनेको बङ्गलाचुली पहिलो पालिका हो।