जनै खटिरालाई अंग्रेजीमा हर्पीस जोस्टर भाइरस भनिन्छ । जनैखटिरा एकप्रकारको छाला सम्बन्धी संक्रमण हो जुन अत्यन्त पीडादायी हुन्छ । यो संक्रमण वेरिसेला जोस्टर नामक भाइरसका कारण हुने गर्छ । यसको संक्रमण जोर्नी, शरीरका कुनाकाप्चा लगायत छाला तथा अनुहारको कुनै पनि भागमा देखिन सक्छ । यसलाई हर्पस जोस्टर पनि भनिन्छ ।
यो एक प्रकारको भाइरसजन्य रोग हो । जसरी ठेउला जुन भाइरसका कारण हुन्छ । ठेउला गइसक्दा पनि उक्त भाइरस शरीरमा बसि नै रहन्छ । धेरै वर्षसम्म मानव शरीरमा उक्त भाइरस निष्क्रिय रुपमा बसेको हुन्छ । धेरै वर्षसम्म निष्क्रिय भएको उक्त भाइरस सक्रिय हुँदा जनै खटिरो आउने गर्छ । यसरी एकै प्रकारको भाइरस लामो समयपछि सक्रिय हुँदा फरक प्रकारको रोग लाग्छ ।
ठेउला कम उमेरमा नै आउने गर्छ भने जनै खटिरा पाको भएपछि आउँछ । उमेर बढ्दै जाँदा मानिसको प्रतिरक्षा क्षमता कमजोर हुँदै जाने तथा मानसिक तनाव बढ्दै जाने अवस्थामा जनै खटिरा आउने गर्छ । जनै लगाउने ठाउँमा मात्रै फैलिने प्रकृतिको भएकोले नेपालीहरुले यसलाई जनै खटिरो भनेका हुन् । वास्तवमा यो जनै नै आउने ठाउँमा आउनु पर्छ भन्ने चाहिँ छैन । जनै खटिरो भनिएतापनि यो पेट, हात। गोडा जहाँसुकै पनि आउन सक्छ ।लामो समयसम्म दुखाउनु नै यसको मुख्य विशेषता हो । निको भएको ६ महिना १ वर्ष दिनसम्म पनि यसको पीडा रहिनै रहन्छ । यो पटक पटक आउन पनि सक्छ ।
जनै खटिराका लक्षण
जनै खटिराका लक्षण विभिन्न चरणहरूमा देखिने गर्छ । सबैभन्दा पहिले टाउको दुख्ने तथा उज्यालोप्रति संवेदनशील हुन्छ । ज्वरो आएजस्तो महसुस भए पनि ज्वरो आएको हुँदैन ।
शरीरको कुनै भागमा चिलाएको महसुस हुने तथा त्यस ठाउँमा पीडा हुने गर्दछ । जोर्नी तथा शरीरका कुनाकाप्चामा घाउ तथा खटिरा हुने गर्दछ । यस्तो खटिरा विस्तारै ससाना विमिरामा परिणत हुनथाल्छ । यो विमिरामा पानी भरिन्छ र त्यसको बाहिर पाप्रा जम्न थाल्छ । यस्तो समस्यालाई ठीक हुन दुईदेखि चार हप्तासम्म लाग्न सक्छ । केहीमा त यसको कारण दाग समेत बस्ने गर्छ ।
यसकै कारण केहीलाई चक्कर लाग्ने तथा शरीरमा कमजोरी महसुस हुने गर्छ । केहीलाई लामो समयसम्म अनुहारमा पीडा महसुस हुने तथा खटिरा आउने गर्दछ । यसकै कारण व्यक्तिको सोच्ने तथा हेर्ने क्षमतामा समेत नकारात्मक असर पर्नसक्छ । जनैखटिराका कारण कुनै समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानु पर्दछ ।
उपचार विधि
औषधी सेवनद्वारा पनि जनैखटिरा निको पार्न सकिन्छ । यस्ता औषधीमा एन्टीभाइरल तथा दुखाइ कम गर्ने औषधी समेत समावेश हुने गर्दछ । सक्दो छिटो एन्टीवायरल औषधी लगाउनाले जनै खटिराका कारण हुने घाउ निको हुने गर्छ । साथै, दुखाइ पनि कम हुन थाल्छ ।
जनैखटिराको घरेलु उपचार पनि निकै प्रभावकारी हुन्छ । यसलाई फुकेर तथा बाघको चित्र बनाएर पनि ठीक पार्ने गरिन्छ तर यो अन्धविश्वाससँग सम्बन्धित भएकाले यसैको भर पर्नु उचित नहुनसक्छ ।
घरमा यसरी गर्ने हेरचाह
घरमै राम्रो हेरचाह गरेर पनि यो समस्या निको पार्न सकिन्छ । त्यसको लागि छालामा देखा परेको कुनै पनि घाउ वा संक्रमणलाई बेवास्ता गर्नु हुँदैन । सरसफाइमा ध्यान दिनु आवश्यक छ । चिकित्सकहरूको सल्लाहअनुसार नियमित रूपमा औषधीको सेवन गर्नुपर्छ ।