काठमाडौं । ओम समाज डेन्टल अस्पतालले आफ्नै सुविधासम्पन्न भवनसहित मधेसको महोत्तरी जिल्लास्थित बर्दीबास शाखाबाट आगामी चैत्र ११ गतेदेखि दन्त उपचार सेवा दिने भएको छ।
अस्पतालले पछिल्लो समय सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रकारका दाँत मुख सम्बन्धि कार्यक्रमहरु चलाइरहेको छ । नाफा भन्दा पनि सेवाको भावनाले ओम समाज डेन्टल अस्पतालले महोत्तरीको बर्दीबासमा आफ्नो शाखा विस्तार गरेको अस्पतालका प्रशासन प्रमुख अजय रेग्मी बताउँछन्।
मधेस प्रदेशमा पर्ने यस क्षेत्रका मानिसहरुलाई सस्तोमा सुलभ दन्त सेवा उपलब्ध गराउनका लागि अस्पतालले बर्दिबासमा शाखा विस्तार गरेको उनको दाबी छ । अत्याधुनिक उपकरणको उपलब्धताका साथ शाखा विस्तार गर्न लागिएको हो । त्यहाँ डिजिटल ओपीजीको सेवा कतै पनि नभएकोले शाखा विस्तार आवश्यक भएको रेग्मीले बताए ।
जनकपुर, वीरगन्ज लगायतका ठाउँहरुबाट बिरामी रेफर भएर त्यहाँ आइपुग्छन् । बर्दीबास शाखामा ४ जना चिकित्सक, हाइजिनिस्ट तथा विभिन्न जनशक्ति सहित २४ जनाको टिमसहित सेवा सुचारु गर्न लागिएको हो । कसैलाई पनि दाँत मुखको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका बर्दीबास शाखाले काम गर्नेछ ।
शाखा विस्तारको उद्घाटन सत्रमा क्याप्टेन विजय लामा, नायक निखिल उप्रेती तथा कलाकार निर्मल शर्मासहित विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरुको सहभागीता रहनेछ ।
जतिबेला काठमाडौंको चाबहिलमा ओम समाज डेन्टलको स्थापना भयो त्यतिबेला मानिसहरुमा दाँत उपचारलाई विलासी सेवाको रुपमा लिने प्रचलन थियो । अहिले ओम समाज डेन्टल अस्पताल त्यो भ्रम चिर्न सफल भएको छ । बर्दीबासका मानिसहरुमा पनि दन्त स्वास्थ्य सम्बन्धि चेतना बढाउने लक्ष्यका साथ त्यहाँ शाखा स्थापना गरिएको रेग्मी बताउँछन्।
मधेस प्रदेशका मानिसहरुले पान परागको अत्याधिक प्रयोग गर्ने र त्यसले दाँत बिगार्ने भएका कारण त्यहाँ दाँत बिरामीहरुको संख्या उल्लेख्य छ । यस्ता आदतले बिगारेको दाँतलाई राम्रो बनाउनका लागि ओम समाज डेन्टलको बर्दीबास शाखाले काम गर्ने रेग्मीको दाबी छ । त्यहाँका मानिसहरुमा प्रत्येक ६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ भन्ने सचेतना नभएका कारण पनि हामी यस शाखाद्वारा सेवा दिएर त्यस्तो अवधारण चिर्ने लक्ष्यका साथ लागिपरेका छौं , रेग्मीले भने ।
५ करोड लगानीमा सञ्चालित उक्त शाखाबाट दाँत मात्र नभई फार्मेसी, ल्याब, प्याथोलोजी ल्याब, डेन्टल ल्याब लगायतका दाँत उपचारको सम्पूर्ण सेवा एउटै कम्पाउन्डबाट पाउन सकिन्छ । बर्दीबास नेपालको बढी मात्रामा दुर्घटना हुने क्षेत्र हो । दुर्घटनामा परी दाँत तथा हड्डी भाँचिएका बिरामीको समेत उपचारका लागि सर्जनसहितको सेवा बर्दिवास शाखाबाट पाउन सकिन्छ ।
हालसम्म ओम समाज डेन्टल अस्पतालले चाबहिल, नैकाप, बर्दीबाससहित ३ शाखाबाट दन्त उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
जसको दाँत सबल उसको जीवन सफल भन्ने नारासहित ओम समाज डेन्टल अस्पतालले सेवा दिदैं आइरहेको छ । अस्पतालले दाँत उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने मुख्य लक्ष्यका स्थापनाकालदेखी नै काम गरिरहेको छ ।