गण्डकी- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म्याग्दी बेनी–५ की ४५ वर्षीया महिलाको शुक्रबार मृत्यु भयो । भने पर्वतको जलजला गाउँपालिका ४ का ५५ वर्षीय पुरुषले पनि सोही अस्पतालमा ज्यान गुमाए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै तनहूँको भिमाद नगरपालिका ५ का २२ वर्षीया महिलाको शनिबार र स्याङजाकोको अर्जुनचौपारी १ का ७० वर्षीय पुरुषको निधन भयो।
त्यस्तै कास्कीको पोखरा २ की ३९ वर्षीया महिला, पर्वतको कुश्मा १२ की ५२ वर्षीया महिला र पोखरा १४ का ५२ वर्षीय पुरुषको शुक्रबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ।
यस्तै मृत्यु हुनेमा गोरखाको शहीद लखन गाउँपालिका ४ का ४२ वर्षीय पुरुष, पोखरा १४ का ४९ वर्षीया पुरुष, स्याङ्जाको वालिङ ६ का ७८ वर्षीय पुरुष, पोखरा १४ कै ४५ वर्षीय पुरुष, पर्वतको फलेबास ५ की ३२ वर्षीया महिला, कास्कीको पोखरा ८ का ४२ वर्षीय पुरुष, र पोखरा ३० का ५३ वर्षीय पुरुष रहेका छन्।
यी मध्ये पोखरा ३० का पुरुषले घरमै ज्यान गुमाएका हुन् भने गोरखाका ४२ वर्षीय संक्रमितको गोरखा अस्पतालमै ज्यान गएको हो।
बाँकी सबैको पोखराको विभिन्न अस्पतालमा निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक तथा प्रवक्ता बिनोद बिन्दु शर्माले बताए । गण्डकीमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट थप ७७० जनामा संक्रमण थपिएको छ।