काठमाडौं। नेपालमा अझै पनि ३२ हजार क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार यस वर्ष थप १० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार गत वर्ष २८ हजार क्षयरोगका नयाँ बिरामीहरु पहिचान भएकामा १० हजार नयाँ संक्रमित थपिएका हुन् ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरी ६० लाख पुरुष , ३४ लाख महिला र १२ लाख बालकालिका गरी करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए ।
नेपालमा हरेक वर्ष क्षयरोगका बिरामीहरु थपिने र थपिएका मध्ये १७ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. नविन प्रकाश शाहका अनुसार गत आर्थिक वर्षमा आर्थिक वर्षमा ३७ हजार ८ सय ६१ क्षयरोगका नयाँ बिरामीहरु दर्ता भएका थिए ।
दर्ता भएका बिरामीहरु मध्ये ६१.६ प्रतिशत पुरुष रहेका छन् भने ३८.४ प्रतिशत महिला र करिब ८.७ प्रतिशत बालबालिका रहेको तथ्यांक सार्वजनिक भएको छ ।
क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामी संख्याको अनुपात हेर्दा हरेक वर्ष झन्डै ३२ हजार क्षयरोगका बिरामीहरुमा रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन सकिएको छैन । बिरामीहरुलाई उपचारको दायरामा ल्याउन नसक्नु नै राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि चुनौतीको रुपमा देखा परेको डा.शाहले बताए ।
विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखी नेपाललाई औषधी प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० मुलुकमा समावेश गरेको छ । आर्थिक वर्ष २०७८ ७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्रै उपचारको दायरामा आएका थिए ।
सन् २०२० मा दक्षिणपूर्वी एसियामा क्षयरोगका ४३ प्रतिशत नयाँ घटनाहरू भेटिंदा अफ्रिकामा २५ प्रतिशत रोगी थपिएका छन् । डब्लुएचओका अनुसार क्षयरोग संक्रमणको दुईतिहाइ भाग बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र दक्षिण अफ्रिका गरी आठ देशमा रहेको छ।