काठमाडौं । किशोर अवस्थामा विपरीत लिङका मानिसहरु प्रति आकर्षित हुनु वा यौन सम्पर्क गर्ने चाहना हुनु स्वभाविक र प्राकृतिक नियम नै हो । यो प्राकृतिक नियम भएता पनि हाम्रो समाजको मुल्य मान्यताको कारणले यस विषयमा खुल्ला रुपमा कुराकानी हुँदैंन ।
यसरी खुल्ला रुपमा जानकारी नपाइने भएकोले किशोर किशोरीहरुले यस अवस्थामा प्रवेश गरेपछि विभिन्न माध्ययमबाट यौन सम्बन्धि जानकारी पाउन खोज्छन् । त्यसैले बिद्यालयको पाठ्यक्रममा यौन शिक्षा सम्बन्धि विषय हुनुपर्छ भन्ने मान्यताको विकास भइरहेको छ। यदि बिद्यालयमा नै यौन शिक्षा सम्बन्धि सत्य र तथ्य जानकारी पाएर त्यस सम्बन्धि स्वस्थ्य व्यवहार एवं जीवन उपयोगी शीप सिक्न पाएमा हाल किशोरावस्थामा हुने यौन सम्बन्धि व्यवहारमा सुधार हुनुको साथै यौन हिंसामा पनि कमी गर्न सकिन्छ ।
आईपासले सन् २०१४ मा प्रकाशित गरेको एक तथ्यांक अनुसार विश्वमा हुने असुरक्षित गर्भपतन मध्ये करिब १४ प्रतिशत गर्भपतन २० वर्ष भन्दा कम उमेरका किशोरीहरुमा पाईएको छ । अझ दक्षिण अफ्रिकामा त २५ वर्ष भन्दा कम उमेरकाहरुले गर्ने असुरक्षित गर्भपतनको अनुपात जम्मा सुरक्षित गर्भपतनको संख्याको दुई तिहाई भएको पाइएको छ ।
नेपालमा यसबारे रहेका केही तथ्यांक :
-करिब ५० प्रतिशत महिलाले १८ वर्ष वा सो भन्दा कम उमेरमा नै प्रथम पटक यौन सम्पर्क राख्छन् ।
-४ प्रतिशत किशोरीहरुले १५ वर्ष वा सो भन्दा कम उमेरमा नै प्रथम पटक यौन सम्पर्क राखेको पाइएको छ ।
-१५ देखी १९ वर्ष उमेर सम्मका विवाहित महिलामध्ये केवल १५ प्रतिशतले मात्र कुनै एक प्रकारको परिवार नियोजनको साधन प्रयोग गरेका छन् ।
-१५ देखी १९ वर्ष उमेरका विवाहित महिलाहरुको परिवार नियोजनको अपरिपुर्त माग ३५ प्रतिशत रहेको छ ।
माथिको तथ्यांकले नेपालमा किशोरीहरु चाँडै यौन क्रियाकलापमा संलग्न हुने र परिवार नियोजनको साधन धेरै कमले मात्रै प्रयोग गर्ने देखाएको छ । ३ जना विवाहित किशोरीहरु मध्ये १ जनामा परिवार नियोजनको अपरिपूर्त माग भएकोले अनिच्छित गर्भ रहने सम्भावना धेरै हुन्छ । अनिच्छित गर्भ धेरै भएमा गर्भपतनको संख्या पनि स्वभाविक रुपमा नै धेरै हुन्छ । यसको साथै, संचार क्षेत्रमा भएको विकास , सामाजिक सञ्जालको प्रयोग, एक ठाउँबाट अर्को ठाउँमा हुने आवतजावत , बेरोजगारी, अशिक्षा, गरिबीपना, बलात्कार सम्बन्धि बलियो कानुनको अभाव जस्ता कारणहरुले स्वेच्छा तथा इच्छाविपरीत पनि किशोरीहरु कम उमेरमा नै यौन क्रियाकलापमा लाग्न बाध्य हुने गरेको पाइएको छ ।
त्यसैले यी कारणहरुलाई केलाएर यसको निराकरण गर्न सकेमा किशोरीहरुमा हुने अनिच्छित गर्भलाई कम गर्न सकिन्छ र यसबाट गर्भपतन गराउने किशोरीहरुको संख्यामा स्वत कम हुन्छ । तर यी कारणहरुलाई समाधान नगरी सुरक्षित गर्भपतन गर्ने सुविधामा कमी गराएमा उनीहरुले असुरक्षित स्थानमा गएर गर्भपतन गराई भविष्यलाई अन्धकारमा लैजाने सम्भावना रहन्छ ।
(गर्भपतन सम्बन्धि भ्रम र तथ्यहरु पुस्तकबाट लिइएको )