भिरिङ्गी प्यालिडम उपप्रजातिको ब्याक्टेरियम ट्रेपोनेमा प्यालिडमका कारणले हुने यौनरोग हो। यसलाई चार चरणमा विभाजन गरिएको छ । प्राथमिक, माध्यमिक, निष्कृय र तेस्रो चरणको भिरिङ्गी। यसका लक्षण तथा चिह्नहरू कुन चरणको भिरिङ्गी लागेको हो भन्ने कुरामा निर्भर गर्दछन्। प्राथमिक चरणको भिरिङ्गी लागेको व्यक्तिमा एउटा मात्र खटिरा देखा पर्छ।
कडा, नदुख्ने र नचिलाउने यो खटिरा प्रायजसो प्रजनन् अङ्गको छालामा देखिन्छ। एउटै खटिरा भए पनि धेरै ठाउँमा पीडा महशुस हुन सक्छ। माध्यमिक चरणको भिरिङ्गी लागेको मानिसको प्रायजसो हत्केला तथा पैतालामा रातो र ठूलो आकारमा फैलिएको फोका देखा पर्छ। त्यस्तै मुख तथा योनीमा पीडा महशुस हुन सक्छ।
निष्कृय भिरिङ्गीमा थोरै लक्षणहरू देखिने वा कुनै पनि लक्षण नदेखिने हुन सक्छ। यो धेरै वर्षसम्म निष्कृय रहन सक्छ। रोगको संक्रमण भएर ३०/३५ वर्षसम्म पनि यो रोग शरीरमा फैलिरहेको हुन्छ । लामो समयसम्म रहिरहने यो रोग लाग्दा सुरुमा यौन अंगमा नदुख्ने खालको सानो खटिरा आउने गर्छ ।
रोग लागेको कति समयमा थाहा हुन्छ ?
यौन सम्पर्क भएको करिब ४ हप्ताको हाराहारीमा यौन अंगमा यस प्रकारको घाउ आउने गर्छ । प्रारम्भिक चरणमा परीक्षणको क्रममा पनि यो रोग लागेको थाहा पाउन सकिदैंन ।
बिरामीको हिस्ट्री लिएर यो रोग पत्ता लगाउन सकिन्छ । यसको उपचारको क्रममा सुई लगाउनुपर्ने हुन्छ । कहिले काँहि आफै पनि यस्तो घाउ खटिरा निको भएर जान्छ भने बिरामीहरुले औषधि पसलबाट औषधि लगेर पनि यसलाई निको बनाएका हुन्छन् ।
यो रोग लागेपछि छाला नङ तथा शरीरका विभिन्न अंगको रंङ नै परिवर्तन हुन्छ । सुरुमा यस रोगका लागि भिडिआर परीक्षण गरी बिरामीबारे धेरै कुरा पत्ता लगाउन सकिन्छ । रोग लागेको तेस्रो चरणमा यस रोगको किटाणु ब्रेनमा समेत बस्ने भएकोले रोग लागेको लामो समयपछि बिरामीहरुमा पक्षघात समेत हुने गर्छ । जब बिरामी तेस्रो अवस्थामा पुग्छन् भर्ना गरेर नै उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।
लक्षणहरु
भिरिङ्गीका लक्षणहरू ब्यक्तिमा बर्सौंसम्म नदेखिन पनि सक्छन् । सामान्यतया यस्ता लक्षणहरु देखा पर्छन् ।
शरीरभरि डाबर आउने,
लिङ्ग, मलद्धार, (योनिको बाहिरी भाग), पाठेघरको मुख, घाँटी अनि ओठका वरिपरि नदुख्ने घाउ खटिरा आउने,
कपाल झर्ने,
टाउको दुख्ने
तौल कम हुने
यसका असरहरु
समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ। साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले कही मृत्यु नै पनि हुन सक्छ ।