गलकोट । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनाबाट लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको छ ।
निसीखोला गाउँपालिका–१ किटेनीका वीरबहादुर विक फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे । गाउँपालिकाले फागुनबाट लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बतायो । उनले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किए ।
उनी मात्र होइन, यतिबेला निसीखोला गाउँपालिकाले फागुनबाट लागू हुने गरी बीमा गरेका एक हजार आठ सय ३८ जना सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाले बीमा गरिदिए पनि बीमा रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवा लिनबाट बञ्चित भएका हुन् ।
गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय घरधुरीका लागि राजस्व बाँडफाँडबाट रु दुई करोड विनियोजन गरेको थियो ।
पहिलो चरणमा ९ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण संकलन गरिएको थियो । जसमध्येबाट गाउँपालिकाले फागुनबाट लागू हुने गरी एक हजार आठ सय ३८ जनाको बीमा गरेको थियो ।
तर, गाउँपालिकाले हालसम्म पहिलो चरणको रु ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधा लिनबाट बञ्चित भएका हुन् ।
संघ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि संघ र प्रदेशबाट समयमै बजेट नआउँदा बीमा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो ।
गाउँपालिकाले असोज, कात्तिक र मंसिरमा रकम भुक्तानी गरिदिएको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए ।
संघीय सरकारबाट केही दिन पहिले मात्र रु ५५ लाख रकम प्राप्त भएको एक हप्तामा रु एक करोड भुक्तानी गर्ने तयारी गरिसकेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले बताए ।