काठमाडौं । पछिल्लो केही वर्षहरुमा नेपाल सहित विश्वमा नै मृगौला रोगीहरुको संख्या चुनौतीपूर्ण रुपले बढिरहेको छ । जीवनशैलीमा आएको व्यापक परिवर्तनले मृगौला रोगीहरुको संख्या पछिल्लो समय व्यापक रुपमा बढिरहेको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।
धुमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका बयश्कहरु र मृगौलामा समस्या भएकाहरूलाई मृगौलाका रोगले बढी मात्रामा सताउने गरेको पाइन्छ । नेपालमा कूल जनसंख्याको करिब १० प्रतिशत मानिसहरुमा मृगौलाको रोग भएको तथ्यांक छ ।
पछिल्ला दिनहरुमा वैदेशिक रोजगारीका लागि कतार, साउदी अरेबिया, मलेसिया लगायतका देशहरुमा जानेको संख्या एकदमै बढिरहेको छ । रोजगारीको शिलशिलामा त्यहाँ रहँदा नेपालीहरुले बढी गर्मीमा काम गर्ने, सागसब्जीभन्दा माछा मासुको अत्याधिक प्रयोग गर्ने,कडा परिश्रमको काम गर्ने जस्ता बानीले नेपाल आएपछि उनीहरु मृगौला रोगको शिकार हुने क्रम बढेको छ ।
मृगौला रोग बढेसँगै डायलासिस् मेसिनको माग पनि बढ्यो
यसरी दिनप्रतिदिन मृगौला रोगीहरुको संख्या बढेसँगै स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका डायलासिस् मेसिनको माग गर्ने स्वास्थ्य संस्थाहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
महाशाखाका अनुसार देशभरका साना ठूला गरी ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका हुन् छन् । व्यवस्थापन महाशाखामा आएको मागको निवेदन हेर्दा हाल झापाको अर्जुनधारा नगर अस्पतालदेखि कैलालीको टीकापुर अस्पतालसम्मले मिर्गौला डायलासिस मेसिन मागिरहेका छन् भने काठमाडौंका ठूला अस्पताल वीरदेखि सिभिलसम्म मिर्गौला मेसिनको पर्खाइमा छन्। तर हाल विभागसँग २० वटा मात्रै मेसिन छ।
केही दिनअघि भारत सरकारले २० थान डायलासिस मेसिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। तिनै मेसिन अहिले विभागको भण्डार कक्षमा रहेको हो।भारत सरकारले हालै २०० सय थान मिर्गौला डायलासिस मेसिन उपलब्ध गराउने घोषणा गरेपनि त्यहीमध्ये १८० वटा मेसिन नेपाल आइपुगेको छैन।
महाशाखाका प्रमुख डा.सर्वेश शर्माका अनुसार जति नै माग भएपनि मेसिन वितरण भने आवश्यकता अनुसार मात्रै हुने छ । कतिपय स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी नहुँदा पनि मेसिन माग्ने र प्रयोग नगरी राख्ने गरेको दाबी गर्दै उनले भने बिरामीको चाप हुने र प्रयोग हुने स्थानमा प्राथमिकतामा राखेर मेसिन वितरण गरिन्छ । महाशाखाको तथ्यांक अनुसार उपत्यकाका ठूला स्वास्थ्य संस्था र साना स्वास्थ्य संस्थाहरूले डायलासिस मेसिनको माग गरेका छन् । झापाको अर्जुनधारा नगर अस्पतालले २ थाना, तनहुँस्थित बन्दीपुर अस्पतालले १० थान, गुलरियास्थित बर्दिया अस्पतालले दुई थान मेसिनको माग गरेका छन् ।
महाशाखाका अनुसार वीर अस्पतालमा २० वटा, चितवनस्थित बीपी कोइराला मेमोरियाल क्यान्सर अस्पतालले चार, सिभिल अस्पतालले १४, डडेलधुरा अस्पतालले पाँच, दमक अस्पतालले पाँच, धुलिखेल अस्पतालले १०, जिल्ला अस्पताल धनकुटाले पाँच, जिल्ला अस्पताल लमजुङले चार, जिल्ला अस्पताल पाँचथरले तीन, जिल्ला अस्पताल स्याङ्जाले तीन थान मेसिन माग गरेका छन् ।
गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीले चार, स्वास्थ्य कार्यालय रुकुम पश्चिमले चार,भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा ३० वटा मिर्गौला डायलासिस मेसिनको माग गरेका छन् । त्यस्तै, सप्तरीको कञ्चनरुप नगरपालिकाले एक, कान्ति बाल अस्पतालले पाँच, खैरहनी नगरपालिका चितवनले तीन, कोशी अस्पताल मोरङले चार, लुम्बिनी प्रादेशिक अस्पतालले १०, महेन्द्र नारायणनिधि मेमोरियल अस्पताल काठमाडौंले १०, मुग्लिङ हाइवे अस्पताल एक, नारायणी अस्पताल पर्साले २५, नयन हेल्थ नेपाल अछामले एक थान मेसिन माग गरेको डा.शर्माले जानकारी दिए ।
कास्कीस्थित पोखरा नगरपालिका पाँच, थानकोटको प्राथमिक अस्पताल दुई, मोरङको रङ्गेली अस्पताल दुई, दाङको राप्ती एकेडेमी अफ हेल्थ साइन्सले १०, तुल्सीपुरको राप्ती प्रादेशिक अस्पतालमा आठ, गुल्मीको रेसुङ्गा नगरपालिका पाँच, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा दुई, सेती प्रादेशिक अस्पतालमा १२, सिरहा अस्पतालमा पाँच, टिकापुर अस्पतालको १०, उदयपुर जिल्ला अस्पतालमा पाँच थान मेसिन गरी २५४ थान मेसिनको माग छ ।
मुलुकभरमा सूचीकृत ५० वटा सरकारी र २९ वटा निजी, सामुदायिक तथा शिक्षण अस्पतालमा डायलासिस हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका अनुसार सरकारी अस्पतालमा २८० र निजी अस्पतालमा ४३३ गरी ७१३ वटा डायलासिस मेसिन सञ्चालनमा रहेका छन् ।
नेपालमा रहेका मृगौला रोगीहरुमध्ये करिब ९० प्रतिशतले सरकारले प्रदान गरेको निःशुल्क रूपमा डायलासिस सेवाको उपयोग गरिरहेका छन् । मृगौला रोगीहरुले आवश्यकताअनुसार सातामा तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।
निजी र सरकारी गरेर देशैभर ६ सय भन्दा बढी डायलायसिस मेसिन सञ्चालित
सरकारले अहिले मृगौलाका बिरामीहरूका लागि निजी क्षेत्रका सीमित र सबै सरकारी अस्पतालमा १ लाखसम्मको उपचार खर्चको व्यवस्था गरेको छ ।
यस व्यवस्थाअनुसार बिरामीले सो रकम बराबरको उपचार सुविधा पाउँछन् । त्यसैगरी भक्तपुर अस्पताल, वीर अस्पताल र महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हप्ताको २ पटक आजीवन निःशुल्क डायलायसिस गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।
यसका साथै सरकारले मृगौला प्रत्यारोपण गरेका बिरामीका लागि आजीवन निःशुल्क औषधिको व्यवस्था पनि गर्नुपर्छ । मृगौला रोगीको संख्या कम गराउन उपचार मात्रै नभई मानिसमा जनचेतना जगाउन पनि जरुरी छ । अहिलेको अवस्थामा निजी र सरकारी गरेर देशैभर ६ सय भन्दा बढी डायलायसिस गर्ने मेसिन छन् ।