महिलाहरुलाई पेशागत दायित्व निर्वाह गर्नका लागि एकदमै गाह्रो हुन्छ । अझै विवाह पश्चात् महिलाहरुलाई कुनै पनि क्षेत्रमा सफलता हांसिल गर्नका लागि घर परिवारको साथ र सहयोग एकदमै महत्वपूर्ण हुन्छ । परिवारको साथ र आफनो लक्ष्यप्रति संकल्पित भएर घर परिवार तथा व्यक्तिगत जीवनलाई व्यवस्थित गर्दै पेशागत भूमिका निर्वाह गर्न सकेको अवस्थामा अवश्य नै सफलता पाउन सकिन्छ ।
कुनै पनि क्षेत्रमा निरन्तर रुपमा लगावसहित काम गर्न सकेको अवस्थामा अवश्य पनि कामयाबी हुन सकिन्छ । मेरो कुरा गर्नुपर्दा बिहे अगाडि बुबाआमाको सपोर्ट,बिहे पछाडि घरपरिवारको साथ र सहयोग तथा साथीभाइको हौसलाका कारण आज आफ्नो पेशागत भूमिका निर्वाह गर्न सफल भएकि छु । सबैको साथ र सहयोग पाएको हिसाबले म आफूलाई एकदमै भाग्यमानी ठान्छु ।
चिकित्सक पेशा मैले आफ्नो रुचिले अध्ययन गरेकि हुँ । बिद्यालय तहको अध्ययनको क्रममा मेरो रुचि आर्किटेक्ट तर्फ भएपनि टिचिङ अस्पतालमा एनाटोमि प्रोफेसर रुपमा कार्यरत्त मेरो अंकलको प्रेरणाले नै म चिकित्सक भए । मान्छेलाई सेवा गर्नुभन्दा ठूलो धर्म अरु केही नै हुन सक्दैन भन्ने प्रेरणा अंकलबाट पाएपछि म आफूले पनि चिकित्सक बन्ने निधो गरे । मैलै सन् २००२ मा नेपाल मेडिकल कलेजबाट एमबिबिएस अध्ययन सकाएकि हुँ । एमडी अध्ययन सम्पन्न गर्दाेको समयमा भने म आफ्नो ब्याजको गोल्डमेडलिष्ट हुँ ।
आइभिएफको क्षेत्रमा विगत ९ वर्ष देखि निरन्तर काम गरिरहेकि छु। यस क्षेत्रमा प्रतिस्पर्धा धेरै भएपनि यदि हामीले बिरामीहरुलाई राम्रोसँग काउन्सिलिङ गरेर समय लगाएर उनिहरुसँग भावनात्मक सम्बन्ध विकास गर्न सकेको अवस्थामा चिकित्सक बिरामीको सम्बन्ध सुमधुर बनाउन सकिन्छ ।
बिरामीहरुको लागी यदि हरेकपल हामीले विभिन्न माध्ययमद्वारा उपलब्ध हुन सकेको अवस्थामा उनिहरुले स-साना प्रश्नहरूको जवाफ पाउन सक्छन् र त्यस संस्थाप्रतिको विश्वाश रहिराख्छ । जसका कारण बिरामी आफैलेनै संस्थाको प्रचार प्रसार गरिदिन्छ ।
हालका दिनमा बिरामीहरुमा आइभिएफ सम्बन्धी बुझाईमा फरकपना आएको पाउन सक्छौं । मेरो ९ वर्षको यस क्षेत्रको कार्य अनुभवमा चिकित्सा क्षेत्र धेरै नै प्रविधियुक्त भएको पाएको छु । ल्याप्रोस्कोपी सर्जरी सेवाको विस्तारले चिकित्सा क्षेत्रमा ठूलै फड्को मारेको छ । आइभिएफको क्षेत्रमा पनि हाम्रो संस्थाले ठूलो उपलब्धी हांसिल गरेको छ । चिकित्सा क्षेत्रमा गरिने हरेक काम नतिजामुखी भएको छ ।
आइभिएफ भनेको के हो ?
साधारण भाषामा आई।भि।एफ भनेको टेष्ट ट्युब बेबी बनाउने विधि हो । आइभिएफमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि महिलाकै पाठेघरमा प्रत्यारोपण गरेर पाठेघरभित्रै बच्चा जन्माइन्छ ।
सामान्यतया केटी मान्छेमा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भ्रूण पछि आएर पाठेघरमा बस्छ। बच्चा बन्ने यो एउटा सामान्य प्रक्रिया हो।
यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ। बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेशन )पद्धति भनिन्छ।
विश्वमै १०० जनामध्ये १५ देखी २० जनामा निसन्तानको समस्या हुने गर्छ । महिला तथा पुरुष दुवैमा बाँझोपनको समस्या हुने गर्छ ।
यस क्षेत्रमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ । यस क्षेत्रमा संलग्न डाक्टरहरु लाई समावेश गरेर इनफर्टिलिटी सोसाइटि अफ नेपाल भनेर संस्थाको स्थापना गरेका छौ । संस्था सञ्चालनका लागि हामी नियमावली बनाएर नै अगाडि बढिसकेका छौं तर सरकारले यसमा चासो देखाएको छैन ।
हालसम्म नेपालमा आइभिएफ सम्बन्धि कुनै पनि कानुन छैन । त्यसका लागि समेत यस संस्थाको आवश्यकता महसुस गरिएको हो । यस क्षेत्रको नियम कानुन नहुँदा केहि समस्या पर्दा के का आधारमा अगाढी बड्ने भन्ने कुरामा अन्यौलता नै छ ।
यसका लागि सरकारको साथ र सहयोगको पनि अपेक्षा छ । अझै पनि सरकारले आइभिएफ सम्बन्धि कानुनको आवश्यकता महसुस गरेको छैन। नेपालमा मात्रै नभई विश्वका धेरै मुलुकमा नै आइभिएफको क्षेत्रलाई वेवास्ता गरिएको छ । केही देशले यस क्षेत्रमा गरेको प्रयास भने प्रशंसायोग्य नै छन् ।