ट्रान्स फ्याट के हो ?
ट्रान्स फ्याट अंग्रेजी शब्द हो । ट्रान्स फ्याट् धेरै कम सुन्नमा आएको शब्द हो । यसबारे धेरैलाई जानकारी छैन । अंग्रेजी भाषामा पनि सन् १९७८ मा मात्र अंग्रजी शब्दकोषमा लेखिएको शब्द हो ट्रान्स फ्याट यो एक प्रकारको अति खराब चिल्लो पदार्थ हो । यसलाई नेपालीमा पनि अति खराब चिल्लो पदार्थ भन्न उपयुक्त हुन्छ । यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो पदार्थ नै भन्नुपर्ने हुन्छ । यसको छोटकरी रुप अखचि हो ।
स्वास्थ्यका दृष्टिकोणले ट्रान्सफ्याक्ट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो पदार्थ हो । खानामा यस प्रकारको चिल्लो पदार्थको मात्रा अत्याधिक भएमा हृदयघात, मस्तिष्कघात,मधुमेह,उच्च रक्तचाप,मोटोपन,स्तन क्यान्सर जस्ता स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् ।
ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरि दुई श्रोतबाट प्राप्त हुन्छ । रांगा,भैंसी ,खसी ,बोका आदि जनावरको रातो मासुमा हुने बोसो र दुध दहीबाट बनेको परिकारमा पाइने ट्रान्स फ्याटको मात्रा ३ देखी ९ प्रतिशत सम्म हुन्छ । थोरै मात्रामा खादाँ प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा धेरे नकारात्मक असर गर्दैन । तर अत्याधिक मात्रामा सेवन गर्दो भने स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
कृत्रिम स्रोतबाट प्राप्त हुने, अर्थात् खाद्य उद्योगमा उत्पादन गरिने ट्रान्स फ्याटले स्वास्थ्यलाई निक्कै हानि गर्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर ,त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रकृयाबाट तरल अवस्थामा रहेको कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवर्तन हुने गर्छ । उद्योगमा सस्तो तेललाई तताएर , हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नका साथै यसमा खानेकुरा पकाउँदा खानाको रुप र स्वाद राम्रो बन्छ र धेरै दिनसम्म संचय गर्न सकिन्छ ।
वनस्पति तेल भन्दा यो सस्तो पर्न आउँछ । व्यवसायमा फाइदा हुने वनस्पति घिउ। केकमा प्रयोग हुने सर्टनिङ ,मार्गरिन आदि औद्योगिक ट्रान्स फ्याक्टका केही उदाहरण हुन् ।
चिल्लो पदार्थका प्रकार
चिल्लो पदार्थ मुख्यतया ३ प्रकारका हुन्छन् । ती हुन् स्याच्यूरेटेड , अनस्याच्यूरेटेड र ट्रान्सफ्याक्ट । यिनीहरुको बनावट फरक फरक हुन्छ । स्याच्यूररेटेड फ्याक्टमा कार्बनचेनको सबै भागमा हाइड्रोजन अणुले भरिएको हुन्छ । अनस्याच्यूरेटेड फ्याक्टमा हाइड्रोजन अणु केही ठाउँमा खाली हुन्छ तर एकातर्फबाट मात्र खाली भएको सिस फ्याक्ट हो भने दुई तर्फबाट खाली भउको चाहि ट्रान्सफ्याक्ट हो । यस प्रकार हाईड्रोजन अणुको कम वेसी र स्थान परिवर्तनले चिल्लो पदार्थलाई फरक फरक रुप दिन्छ ।
ट्रान्स फ्याट कति खान सकिन्छ ?
ट्रान्स फ्याट बारे गरिएका विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानका अनुसार मान्छेलाई दैनिक आवश्यक चिल्लो पदार्थको एक प्रतिशत भन्दा बढी मात्रामा ट्रान्स फ्याट भएमा यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
वैज्ञानिक सल्लाह अनुसार मान्छेलाई दैनिक आवश्यक पर्ने कूल क्यालोरीको एक तिहाई उर्जा चिल्लो पदार्थबाट प्राप्त हुन्छ । दैनिक क्यालोरीको दश प्रतिशत स्याच्यूरेटेड फ्याक्टबाट र एक प्रतिशतबाट कम ट्रान्स फ्याक्ट प्राप्त हुन्छ । एक प्रतिशत ट्रान्स फ्याट भनेको कति हो यो सजिलैसँग नाप्न सकिन्छ ।
मानौं एउटा मान्छेलाई दैनिक २ हजार क्यालोरी उर्जा दिने खाना खानुपर्छ । २ हजार क्यालोरी एक प्रतिशत भनेको २० हो र सो को २० क्यालोरी उर्जा करिब दुई ग्राम चिल्लो पदार्थबाट प्राप्त हुन्छ । दुई ग्राम भनेको आधा चिया चम्चा भन्दा अलिकता कम हो । चिया चम्चामा ५ ग्राम हुन्छ यस प्रकार दैनिक २ हजार क्यालोरी बराबर खाना खाने व्यक्तिले आफ्नो खानामा आधा चिया चम्चा भन्दा कम ट्रान्स फ्याट प्रयोग गर्न सकिन्छ ।
ट्रान्स फ्याक्टले स्वास्थ्यमा कस्तो असर गर्छ ?
ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ हो । यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउँछ । धमनीहरुको भित्री भागमा नकारात्मक असर पारी धमनीहरु साँधुरिने क्रमलाई बढाउँछ । रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ , जसकारण हृद्यघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ ।
यसकारण यस्तो प्रकारको चिल्लो धमनीहरुका लागि धेरै नै हानिकारक छ । यसले मधुमेह,उच्च रक्तचाप,मोटोपना,महिलाहरुमा हुने एक प्रकारको स्तनको क्यान्सरको जोखिम बढाउँछ ।
कस्तो खानामा ट्रान्स फ्याक्टको मात्रा बढी हुन्छ ?
वनस्पति तेललाई जति धेरै पटक ततायो त्यति नै त्यसमा खराब प्रकारको चिल्लोको मात्रा बढ्दै जान्छ । जति धेरै ततायो तेल त्यतिकै हानिकारक हुन्छ । यस्तो तेलमा पकाइएको पकौडा,समोसा,चाउचाउ, आलु , चिकेन आदि खानेकुाहरु स्वादिलो भए पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन् ।
खाद्य उद्योगमा तयार गरि प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु जस्तै कूकिज,तयारी चाउ चाउ ,भूजिया,दालमोठ,कुरकुरे,चिज वल्स,आलु चिप्स आदिमा अत्याधिक मात्रामा खराब प्रकारको चिल्लो पदार्थ रहेको हुन्छ । तसर्थ यस्ता खानेकुराको सेवन गर्दो चिल्लो पदार्थको लेभल हेरर मात्रै खानुपर्ने हुन्छ ।
त्यस्तै वनस्पति घिउमा बनाइएका बेकरी आइटमहरु केक, डोनट,आइसक्रिम,पिज्जा तथा डिप फ्राई गरेर तयार पारिएका फास्ट फुडहरु जस्तै पकौडा,समोसा, पुरी चिकेन फ्राई,आलु फ्राई बर्गर लगायतका खानेकुराहरुमा यस्तो प्रकारको चिल्लोको मात्रा बढी हुन्छ ।