काठमाडौं । ब्रेन डेथ भएका व्यक्तिको ८ अंग काम अन्य व्यक्तिका लागि काम लाग्ने अध्ययनले देखाएको छ ।
आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा भएको ब्रेन डेथपश्चात् अंग प्रत्यारोपणसम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ यस्तो बताएका हुन् ।
ब्रेनले काम नगर्ने भएपछि शरीरका अरु अंगहरूले पनि बिस्तारै काम गर्न छाड्छन् । चिकित्सकले बिरामीलाई ब्रेन डेथ भएको घोषणा गरेपछि जतिसक्दो छिटो त्यस्ता व्यक्तिको अंग निकाल्नुपर्ने डा.श्रेष्ठको भनाई थियो ।
अंग निकालेपछि आइस बक्समा राख्नुपर्छ । उनले भने मिर्गौला २४ घण्टा, कलेजो र आमाशय १० देखि १२ घण्टा, मुटु तथा फोक्सो ४ देखि ६ घण्टाभित्र अर्को जिवित शरीरमा प्रयोग गर्नुपर्छ ।
ब्रेन डेथ भएका व्यक्तिहरूको अन्य अंगहरूले केही समय (अत्यन्तै कम समय)काम गरिरहेका हुन्छन् । बिस्तारै–बिस्तारै अरु अंगको गुणस्तर खराब हुँदै जान्छ। ब्रेनले काम नगर्ने भएपछि शरीरका अरु अंगहरूले पनि बिस्तारै काम गर्न छाड्छन् । जतिसक्दो चाँडो अंग प्रत्यारोपण गर्न सकेको अवस्थामा त्यसको नतिजा राम्रो आउने उनको जिकिर छ ।
ब्रेन डेथ भएका एक व्यक्तिबाट २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ वटा मुटु, १ वटा प्याङक्रियाज र १ सानो आन्द्रा गरी ८ वटा अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिने राष्ट्रिय प्रत्यारोपण केन्दकी नेफ्रोलोजी प्रमुख डा.कल्पना श्रेष्ठको भनाई थियो । उनका अनुसार प्रत्येक वर्ष ३ हजार जनाको मृगौलाले तथा १ हजार जनाको कलेजो बिग्रने गरेको छ ।
हालसम्म नेपालमा २ हजार जनाको मृगौला प्रत्यारोपण गरिएको उनले बताईन् । जसमा १ हजार प्रत्यारोपण केन्द्रले गरेको उनको भनाई थियो । हाल दाता नपाएरमा ७७० जना मृगौला प्रत्यारोपण तथा २५ जना कलेजो प्रत्यारोपणको प्रतिज्ञामा छन् ।