- डा. अरुणा उप्रेती
काठमाडौं - रक्तअल्पता नेपाली महिला, किशोरीहरु र बालबालिकाहरुलाई आमरुपमा देखा पर्ने समस्या हो । त्यसमा पनि गर्भवतिलाई यो समस्या अलि बढी नै देखिने गरेको छ । यसले गर्दा गर्भको बच्चा रोगी र सानो हुने, महिलालाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ ।
नेपालमा आमा बन्ने क्रममा हुने मृत्यु अत्यधिक हुनमा यो पनि एउटा प्रमुख कारणका रुपमा रहेको छ । गर्भवती महिलाको शरीरबाट नै गर्भमा रहेको भू्रणलाई पोषण, अक्सिजन आदि सबै जाने गर्छ । यस्तो बेलामा महिलाको शरीरलाई केही बढी पोषणको जरुरत पर्छ ।
नेपालका केही समुदायमा गर्भवती महिलाहरुलाई दोजिया (दुई जीउकी) भनेर बढी भोजन दिइन्छ । तर सुदूर पश्चिमाञ्चलका कतिपय स्थानमा गर्भवती महिलाहरुलाई धेरै खाना दिनुहुदैन, हरियो सातपात, फलफूल, मासु, दूध आदि दिनुहुदैन भन्ने मान्यता पनि छ । केरा खाए बच्चा पाठेघरमा टासिन्छ, मेवा खाए गर्भपात हुन्छ, दूध–दही खाए गाईभैंसीको दूध सुक्छ भन्ने खालका अन्धविश्वासहरु छन् । यसले गर्दा गर्भवती महिलाहरु कुपोषण र रक्तअल्पताको समस्याले पीडित हुने पनि गर्छन् ।
यसैगरी सुत्केरी भएको बेलामा आमालाई हरियो सागपात, दाल खान दिएमा बच्चाको पेट दुख्छ, पखाला लाग्छ भनेर खान दिइदैन । यस्ता अन्धविश्वासले पनि पश्चिम नेपालका महिलाहरुमा रक्तअल्पता धेरै हुने गरेको छ । यस क्षेत्रमा यो एउटा सामाजिक तथा सांस्कृतिक समस्याका रुपमा रहेको छ ।
नेपालमा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धान अनुसार महिलाहरुको मातृ मृत्युमध्ये प्रत्यक्ष रुपमा १० प्रतिशत रक्तअल्पताको कारणले हुन्छ । यसको साथै रक्तअल्पता भएका महिलाहरुलाई रक्तस्राव हुने सम्भावना बढी हुने भएकाले २० प्रतिशत महिला अप्रत्यक्षरुपमा रक्तअल्पताको कारणले मर्छन् ।
विश्व स्वास्थ्य संघले कुल जनसङ्ख्यामा २० प्रतिशतभन्दा माथिको जनसङ्ख्यालाई रक्तअल्पता भयो भने यो एउटा जनस्वास्थ्यको प्रमुख समस्या हो भनेर मानेको छ । यसो हो भने त नेपालमा यो समस्या चार गुना बढी छ । तराई क्षेत्रमा गर्भवती महिलाहरुमा गरिएको एक अनुसन्धानमा झण्डै ८० प्रतिशतलाई रक्तअल्पता भएको पाइएको थियो । यसैगरी पहाडी क्षेत्रमा ६० प्रतिशत र हिमाली क्षेत्रमा ७७ प्रतिशतलाई रक्तअल्पता भएको पाइएको थियो ।
केहि समय पहिला पर्याप्त मात्रामा खाना नपाउने बालबालिकामा रक्तअल्पता हुने गर्छ भन्ने मान्यता थियो । तर आज रक्तअल्पता हुने अरु कारणहरु पनि थपिएका छन् । पर्याप्त मात्रामा खाना उपलब्ध भएका घरका बालबालिकाहरुमा पनि रक्तअल्पता भएको पाइएको छ । विशेषगरी आधुनिक तयारी खाना बढी प्रयोग गर्ने बालबालिकाहरुमा यो समस्या देखिएको छ ।
स्वाथ्य विज्ञानअनुसार बालबालिकाहरुको शरीरको तौल जति किलोग्राम हुन्छ, उनीहरुलाई एकदिनमा त्यो भन्दा तीन–चार गुना बढी ग्राम प्रोटिनको जरुरत पर्छ ।
रक्तअल्पता के कारणले हुन्छ ?
रक्तअल्पता विभिन्न कारणले हुने गर्छ । जस्तै, खानामा पर्याप्त लौहतत्वको कमी भएमा, पेटमा जुका परिरहेमा, औलो लागेमा रक्तअल्पता हुनसक्छ । त्यस्तै शरीरबाट बढी रगत बगेमा, गर्भवति भएका अवस्थामा पनि रक्तअल्पता हुनसक्छ । कहिलेकाही“ वंशाणुगत कारण र केही रोग विशेषले गर्दा पनि रक्तअल्पता हुने गर्छ । मुख्यचाहि“ भोजनमा लौहतत्वको कमीले गर्दा नै रक्तअल्पता हुने गर्छ ।
पाठेघरमा मासु पलाएको बेलामा केही महिलाहरुलाई महिनावारी हुदा शरीरबाट बढी रगत जाने गर्छ । साथै कतिपय महिलाहरुलाई महिनावारी हुदा त्यसै पनि बढी रक्तस्राव हुने गर्छ, जसले गर्दा उनीहरुलाई रक्तअल्पता हुने सम्भावना हुन्छ ।
महिलाहरु धेरै खालका गर्भनिरोधका साधन प्रयोग गर्ने गर्छन् । गर्भनिरोधका साधनले केही महिलाहरुलाई केही साधारण असर पु¥याउन सक्छन् । ती साधनहरुलाई महिलाको शरीरले सजिलै झेल्न सक्दैन । जसले गर्दा महिलाको शरीरमा अनेक खालका समस्याहरु आउछन् । तिनमा एउटा प्रमुख समस्या शरीरबाट बढी रक्तस्राव हुनु पनि पाइएको छ । कसैलाई लुप राख्दा, कसैलाई डिपोप्रोभेरा लगाउदा, कसैलाई नरप्लान्ट राख्दा महिनाभरि नै लगातार अलिअलि रगत बगिरहने हुन्छ । कसैलाई एक–दुई महिना बिराएर धेरै मात्रामा रगत जाने गर्छ । यस्तो बेलामा महिलाहरुमा रक्तअल्पता हुनसक्छ । यस्ता समस्यालाई समाधान गर्न आफूले प्रयोग गरिरहेको गर्भनिरोधको साधनलाई डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ ।
फोहोर पानीमा विभिन्न प्रकारका जुगाहरु हुने गर्छन् । फोहोर पानी पिउनाले शरीरमा जुगा पर्ने हुन्छ । जुगाले शरीरमा भएको रगत खाइदिन्छन् । यसले गर्दा पनि रक्तअल्पता हुने खतरा हुन्छ । यस्तो दुष्प्रभाव बच्चाबच्ची, किशोरकिशोरी महिला सबैमा पर्न जान सक्छ । यसबाट बच्ने एउटै उपाय छ – सकेसम्म पानी उमालेर मात्र पिउने गर्नुपर्छ । उमालेर पिउन सकिंदैन भने जिवाणुरहित सफा पानी मात्र पिउने बानी बसाल्नु पर्छ ।
साना बालबालिकालाई रक्तअल्पता भएपछि त उनीहरुको मानसिक विकासमा पनि असर पर्छ । भोक नलाग्ने, मुटुको धड्कन बढ्ने, अलिकता हिँड्यो कि स्याँ स्याँ हुने गर्छ । शिशुहरुलाई रक्तअल्पता भयो भने उनीहरुको सम्पूर्ण शारीरिक र मानसिक विकास क्रम नै ढिलो हुन्छ, जुन पछि रक्तअल्पता, ठिक गरेर पनि ठिक हुन सक्दैन ।
रगतले हाम्रो शरीरका विभिन्न भागमा आवश्यक पोषक तत्व र अक्सिजन आदि पु¥याउने काम गर्छ । शरीरभित्र रगतमा सेता र राता रक्तकोष रहेका हुन्छन् । राता रक्तकोषमा हेमोग्लोबिन भन्ने लौहतत्व रहेको हुन्छ । यो लौहतत्व भोजनको माध्यमबाट हाम्रो शरीरले प्राप्त गर्ने गर्छ । यसबाहेक लौहतत्वलाई राम्रोसग शोषण गर्न प्रोटिन र भिटामिन सीको जरुरत पर्छ । साथै फोलिक एसिड र भिटामिन बीको पनि जरुरत हुन्छ ।
(जनस्वास्थ्यबिद्, अरुण उप्रतीको हेल्थ बुकबाट साभार)