प्रफुल्ल शाक्य कन्सल्टेन्ट ब्रेस्ट अंको सर्जन
स्तन क्यान्सर महिला या पुरुष जोसुकैलाई पनि हुने गर्छ । नेपालमा स्तन क्यान्सर सबैभन्दा बढी देखिएको क्यान्सरमध्ये एक नम्बरमा पर्छ । नेपालीहरुमा स्तन क्यान्सर लागिसकेपछि निको हुँदैन भन्ने भ्रम रहेको छ । तर त्यो सत्य होइन ।
नेपालमा नै स्तन क्यान्सरको उपचार हुने गर्छ । स्तन क्यान्सर भएकामध्ये करिब ९६ प्रतिशत मानिसहरुले निको भएर सहज रुपमा आफ्नो जीवनयापन गरिरहेका छन् । महिलाको तुलनामा स्तन क्यान्सर एकदमै कम मात्रामा मात्रै पुरुषहरुमा देखिने गर्छ । करिब १ प्रतिशत भन्दा कम पुरुषहरुमा स्तन क्यान्सर देखा पर्छ । स्तन क्यान्सरलाई मुख्यतया प्राथमिक र अन्तिम चरणमा विभाजन गर्न सकिन्छ ।
आजभन्दा ५ वर्ष अगाडि स्तन क्यान्सरको अन्तिम चरणमा बिरामीहरु उपचार लागि अस्पताल आइपुग्ने गर्थे । आजभोली भने प्राथमिक चरणमा नै उपचारमा आउने बिरामीहरुको संख्या बढिरहेको छ ।
नेपाल सरकार तथा निजी क्षेत्रमा क्यान्सर सचेतना सम्बन्धि भएका विभिन्न कार्यक्रमहरुको प्रभावका कारण पनि आजभोली क्यान्सरको सुरुवाती चरणमा नै बिरामीहरु अस्पताल आइपुग्ने गरेका हुन् भन्ने मेरो बुझाई छ ।
क्यान्सर उपचारमा आउने बिरामी बढे
दैनिक रुपमा जनचेतना बढेका कारण स्तन क्यान्सरको उपचारका लागि आउने बिरामीको संख्या बढेको छ। जनचेतना बढाउने काममा सरकारको भन्दा पनि निजी संस्थाहरुको भूमिका महत्वपूर्ण भएको छ।
नेपाल क्यान्सर अस्पताल गुणस्तरीय क्यान्सर उपचार दिने निजी क्षेत्रबाट सञ्चालित अस्पताल हो । सबै प्रकृतिको क्यान्सर पछिल्लो समय बढि नै रहेको छ । क्यान्सर रोगमध्ये स्तन क्यान्सरले ५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । सबै उमेर समूहका महिलाहरु यसको जोखिममा रहेका छन् । कम उमेरमा भन्दा पनि ४० वर्ष नाघिसकेका महिलाहरुले स्तन रोग विशेषज्ञलाई नै भेटेर आफ्नो स्तनको परीक्षण गराउनु आवश्यक हुन्छ ।
बिरामी अनुसार स्तन क्यान्सरको प्रकृति पनि फरक हुने गर्छ । उपचारमा आएका बिरामीहरुमा पनि फरक फरक प्रकृतिको क्यान्सर हुन्छ । त्यसैले सबैमा एउटै किसिमको लक्षण नदेखिनसक्छ ।
स्तन क्यान्सरको पहिचान कसरी गर्ने
स्तनमा गिर्को आउनु ।
स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
स्तन दुख्नु वा सुन्निनु
स्तनमा खाल्टो पर्नु
स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
शरीरको अनावश्यक तौल घट्नु
महिनावारी पश्चात् घरमा नै स्तनको परीक्षण गर्ने ।
क्यान्सर उपचार क्षेत्रमा सरकारले गरेको प्रयास
नेपाल सरकारले क्यान्सर तथा अन्य दीर्घ रोगका बिरामीहरुलाई उपचारका लागि भनि १ लाख रुपैंया प्रदान गर्दै आइरहेको छ । सरकारले दिने उक्त अनुदानले त टाढाबाट उपचारका लागि आउने बिरामीलाई यातायात भाडा समेत पुग्दैंन । नेपालमा विदेशको तुलनामा क्यान्सर उपचार एकदमै सस्तो छ । तर पनि निम्न आय भएका बिरामीहरु सरकारी अस्पतालमा पनि क्यान्सरको उपचार गर्न समक्ष छैनन् । क्यान्सरको उपचारका लागि सरकारी अस्पतालमा नै पनि कम्तीमा ५ लाख खर्च हुन्छ भने निजी अस्पतालमा ८ लाखसम्म लाग्छ । त्यसैले क्यान्सर उपचार लागि सरकारले नयाँ निती तथा कार्यक्रम ल्याउन आवश्यक छ ।
स्तन क्यान्सरबाट कसरी जोगिने
स्तन क्यान्सर बाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्न नियमित ब्यायाम गर्ने र बच्चा जन्मिएपछि नियमित स्तनपान गराउनुपर्छ। प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ। समय समयमा चेक जाँच गराउने गर्नुपर्दछ ।
महिलाहरु जागरुक हुनुको साथै नियमित रुपमा स्तनको जाँच गराइराख्नु पर्छ । महिलाहरुले आफ्नो स्तन परीक्षणको लागी मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाइ पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ। मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती अवस्थामा नै पत्ता लगाउनु हो ।