धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आयुर्वेद चिकित्साको महत्व बढ्दै गएको बताएका छन् । बुधबार धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले भने, ‘परापूर्वकालमा हाम्रा पूर्खाहरुले,ऋषिमुनिहरुले औषधि उपचारका क्रममा लिएको विधि चाहे योग होस,चाहे आयुर्वेद होस आज त्यसको महत्व अझ बढी बढ्दै गएको छ।’
‘योसँग समाजका सम्पूर्ण व्यक्तिहरु दिन प्रतिदिन जोडिदै गएको अवस्था देखिन्छ’, उनले भने, ‘त्यसकारण आयुर्वेद चिकित्सा प्रणाली कुनै रोगलाई सञ्चो गर्ने कुरामा मात्र होइन्,योगको साधनाबाट मानसिक,शारीरिक रुपले स्वस्थ राख्नका लागि विभिन्न विधि र प्रक्रियाबाट अगाडि बढ्ने जीवन पद्धति हो जस्तो लाग्छ।’
प्रदेश सरकारको तर्फबाट आयुर्वेद चिकित्सालयलाई जनताले प्रत्यक्ष महसुस गर्ने गरी सेवा दिने सन्दर्भमा सेवाका विभिन्न क्षेत्रमा संरचनागत कुराहरुमा सहयोग गर्न तयार रहेको पनि मुख्यमन्त्री शाहले बताए।
आयुर्वेद क्षेत्रमा चाहिने जनशक्ति पनि यसैबाट उत्पादन होस् भन्ने हाम्रो चाहाना छ उनले भने, ‘त्यसका लागि कसरी अगाडि बढ्नु सकिन्छ,अगाडि बढाउने हाम्रो चाहना छ ।’ प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक सूर्यनारायण उपाध्यायले विश्वले कोभिड पछि योग र आयुर्वेदलाई चिनेको बताए ।
उनले भने, ‘विश्वमा ७० प्रतिशत मानिस नसर्ने रोगबाट पीडित भएको र नसर्ने रोगको उपचार आयुर्वेदमा र योगमा छ ।’ त्यस्तै स्वास्थ्य मन्त्रालय,आयुर्वेद विभागले आयुर्वेद चिकित्सा नीति अन्तरगत हरेक प्रदेशमा ५० बेडको आयुर्वेद अस्पताल निर्माण गर्नु र्छ भन्ने मनसायले २०७४ सालदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन निर्माण सुरुगरी २०७८ मा सम्पन्न भएको उनले बताए ।
आयुर्वेद चिकित्सालयबाट २०७९ असोजबाट सेवा सुरु गरिएको उपाध्यायले बताए । हाल आयुर्वेद चिकित्सालयबाट ओपिडी सेवा सुरु गरिएको उनले बताए । उनले भने, ‘५० बेडको अस्पताल छ ओपिडी मात्रै सुरु गरेका छौँ,पञ्चकर्म,पूवृकर्म सुरु त गरेका छौँ, व्यवस्थित रुपमा गर्न सकेका छैनौँ।’
औषधि र कर्मचारीको अभाव समेत रहेको बताउँदै उनले भने ‘हाल ३५ जनाको मात्रै दरवन्दी छ, ५० बेडको अस्पतालमा ७० जनाको स्थायी दरबन्दी हुनुपर्ने हो ।’ हाल दैनिक २ सयभन्दा बढी बिरामीले सेवा लिइरहेको उनले बताए।