नेपालका केही मुख्य सहरी क्षेत्रबाहेक अन्यत्र प्राय: विशेषज्ञ चिकित्सकको अभाव हुने गर्छ।
उनीहरूका भनाइमा “बाध्यात्मक अवस्था वा सम्झौता”का कारण देशका विभिन्न क्षेत्रमा सेवा दिन जाने विशेषज्ञ चिकित्सकहरू पनि लामो समय त्यस्ता स्थानमा टिक्ने गरेका छैनन्।
नेपाल मेडिकल काउन्सिलका अनुसार गत पुस मध्यसम्ममा नेपालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार ८० जना पुगेको छ।
काउन्सिलमा त्यस अवधिसम्ममा कुल ३२ हजार २ सय १८ जना चिकित्सक दर्ता भएकामा त्यसमध्ये करिब एक तिहाइ विशेषज्ञ चिकित्सक छन्।
विशेषज्ञ चिकित्सकमध्ये ७ हजार १ सय १० जना पुरुष र २ हजार ९ सय ७० जना महिला छन्।
नेपालमा दर्ता भएका विशेषज्ञ चिकित्सकमा इन्टरनल मेडिसिनतर्फ सबैभन्दा धेरै १ हजार ८८ जना रहेको काउन्सिलको विवरणमा देखिन्छ।
त्यस्तै प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९ सय ९४, जेनेरल शल्यचिकित्सक ९ सय ४७, अर्थोपेडिक्स ८ सय ५, बालरोग विशेषज्ञ ७ सय ८१ र रेडियोलोजी तथा इमेजिङ विशेषज्ञ ६ सय ६३ जना रहेको विवरण काउन्सिलले दिएको छ।
कतिपय जानकारहरूले चिकित्सा क्षेत्रमा पर्याप्त जनशक्ति रहेको तर त्यसको वितरण असमान भएको बताए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको एउटा दस्तावेजले नै केही क्षेत्रमा जनशक्ति अभाव रहेको उल्लेख गरेको छ।
मन्त्रालयले गत वर्ष आगामी दश वर्षको अवस्था आकलन गर्दै "नेपालको स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति" बनाएको थियो।
उक्त रणनीतिमा नेपालमा रहेका समस्या र चुनौतीको चर्चा गर्ने क्रममा जनशक्ति अभावको कुरालाई पनि उल्लेख गरिएको छ।
त्यसमा भनिएको छ, "स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्राज्ञिक निकायहरू र उत्पादित जनशक्तिहरूलाई उपयोग गर्ने निकायबीच प्रभावकारी समन्वय भएको देखिदैन।"
"यसले गर्दा कुनै विधामा धेरै सङ्ख्यामा, कुनै विधामा न्यून सङ्ख्यामा स्वास्थ्य जनशक्ति उत्पादन हुने गरेको र कुनै विधामा कुनै पनि स्वास्थ्य जनशक्ति उत्पादन हुन नसकेकोले देशको स्वास्थ्य सेवा प्रणालीको आवश्यकता परिपूर्ति हुन सकेको छैन।"
यद्यपि उक्त रणनीतिले उत्पादित जनशक्तिको वितरण र खपतमा पनि समस्या रहेको उल्लेख गरेको छ।
त्यसमा भनिएको छ, "...एकातर्फ आवश्यकता अनुसारको स्वास्थ्य जनशक्ति वितरण हुन सकेको छैन भने अर्कोतर्फ मुलुकमा उत्पादित चिकित्सक, नर्स तथा अरू स्वास्थ्यकर्मीहरूको खपत हुन सकेको छैन।"
कतिपय अवस्थामा पूर्वाधार अभावका कारण विशेषज्ञहरूले आफ्नो सीप र क्षमता उपयोग गर्न नपाएको कुरा पनि रणनीतिमा उल्लेख गरिएको छ।
"विशिष्ट प्रकारको ज्ञान/सीप हासिल गरेको स्वास्थ्य जनशक्ति सामान्य प्रकारको सेवा प्रदान गर्नमा संलग्न हुनुपर्ने भएकोले मानवीय स्रोतको प्रभावकारी सदुपयोग समेतमा एक किसिमको चुनौती थपिएको छ," त्यसमा भनिएको छ।