काठमाडौं । नेपालमा स्वास्थ्य बिमा गरेका करिब ५५ प्रतिशतले बिमा सेवा नलिने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
अस्पतालहरूले राम्रो सेवा नदिएपछि सरकारले सञ्चालन गरेको महत्वाकांक्षी स्वास्थ्य बीमा कार्यक्रम सेवा नलिनेहरुको संख्या बढेको हो ।
स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् । जसमध्ये ३४६ वटा प्रथम सेवा बिन्दु र बाँकी ९४ ‘रिफरल’ संस्था छन् । अधिकांश सरकारी संस्थामा बीमा कार्यक्रम सञ्चालन गरिएको छ ।
बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बस्यौलाका अनुसार ५२ लाख ९४ लाख ४३६ जना बीमामा समावेश भएका छन् ।
जसमध्ये पूर्ण अशक्त अपांग ९२ हजार ६२९, अति गरिब ४ लाख ८७ हजार ९९३, एचआईभी संक्रमित २५ हजार २४४, कुष्ठरोगी २ हजार ८४२, गम्भीर क्षयरोगी २ हजार ४३६, ज्येष्ठ नागरिक ६ लाख ३३ हजार २५ र महिला स्वयंसेविका ८३ हजार ४४८ जना छन् ।
डा बस्यौला स्वास्थ्य बिमा कार्यक्रममा केही समस्याहरु रहेको स्वीकार गर्छन् । उनका अनुसार काठमाडौं र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न कठिनाई भएको छ । अस्पतालहरुमा फार्मेसी प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यस सम्बन्धी बारम्बार बिमितबात कार्यक्रम प्रति शिकायत हुने गरेको उनको भनाई छ ।