क्यान्सरको उपचार मुख्यतया तीन विधीबाट गरिन्छ । शल्यक्रिया, रेडियोथेरापी , केमोथेरापी । रेडियोथेरापी भन्नाले विकिरणको प्रयोगबाट क्यान्सरको अनियन्त्रित रुपमा बढेको नराम्रो कोशिकालाई मार्ने उपचार विधी हो । विकिरणको सहायतबाट कोशिकाहरुलाई मार्ने भएकोले क्यान्सर उपचारमा यो विधि महत्वपूर्ण छ ।
रेडियोथेरापी र केमोथेरापी बिचको भिन्नता
रेडियोथेरापी भनेको क्यान्सर भएको ठाउँमा मात्रै दिइन्छ । तर केमोथेरापी भने नशाको माध्यमबाट शरीरभरि नै जान्छ । रेडियोथेरापीको तुलनामा केमोथेरापीले मानिसलाई धेरै नकारात्मक असर गर्छ । रेडियोथेरापी क्यान्सर भएको अंगमा मात्रै दिने भएकोले यसले शरीरका अन्य अंगहरुमा असर गर्दैन । तर केमोथेरापीको असर सम्पूर्ण शरीरमा नै पर्ने गर्छ । रेडियोथेरापीको प्रयोग प्राय रोग निको पार्ने हिसाबले गरिन्छ ।
यदि रोग शरीरका अन्य भागहरु हड्डी,मस्तिष्कमा समेत फैलिसकेको छ भने रोग निको पार्ने हिसाबले मात्रै नभई जीवनयापनलाई सहज बनाउने हिसाबले उपचार गरिन्छ । त्यसैले रोग निको पार्ने तथा सजिलो पार्ने दुवै हिसाबमा यसको उपचार गरिन्छ ।
रेडियोथेरापी कुन कुन क्यान्सरमा प्रयोग गरिन्छ
अण्डाशयको क्यान्सर तथा पाठेघरको सालको क्यान्सर बाहेक प्राय सबै प्रकारको क्यान्सरमा रेडियोथेरापीको प्रयोग गरिन्छ । प्राय नाक, कान घाँटी, स्तन, मस्तिष्क, पाठेघरको मुख, फोक्सो, ठूलो आन्द्रा, मलद्वार, प्रोस्टेट, छाला , आँखा तथा सबै प्रकारको क्यान्सरको उपचारमा रेडियोथेरापीको प्रयोग गरिन्छ । क्यान्सर तेस्रो चरणसम्मको छ भने रेडियोथेरापीको प्रयोगद्वारा त्यसलाई पूर्णरुपमा निको बनाउन सकिन्छ । यदि चौथो चरणमा नै पुगिसकेको अवस्थामा भने जीवनयापनलाई सहज बनाउनेतर्फ चिकित्सकको ध्यान रहन्छ । यसप्रकारको थेरापी बिरामीहरुलाई ३ देखी ७ हप्तासम्म दिइन्छ । रोगको प्रकृति तथा अंग हेरेर रेडियोथेरापी कति समयको दिने भन्ने तय गरिन्छ ।
के रेडियोथेरापी बिना क्यान्सर उपचार सम्भव छ
रेडियोथेरापी बिना प्राय क्यान्सरको उपचार सम्भव छैन । हालसम्म विराटनगरको विराट क्यान्सर इन्स्च्यिूट गरी नेपालभर ७ वटा अस्पतालहरुमा मात्रै रेडियोथेरापीद्वारा क्यान्सरको उपचार गरिन्छ । जुन अंगमा रेडियसन थेरापी दिइन्छ, त्यही अंगमा मात्रै यसको असर रहन्छ । उपचार सकिएपछि यसको असर विस्तारै कम हुँदै जान्छ । क्यान्सर लागेर रेडियोथेरापी लिइरहेका मानिसहरुसँग खाने बस्ने गरेमा उनीहरुको शरीरबाट विकिरण आउँछ भन्ने कतिपयको बुझाइ छ जुन भ्रम मात्रै हो ।