दाँत स्वास्थ्य र गर्भावस्था परिचय
महिलाहरुमा गिजासम्बन्धी समस्या पुरुषमा भन्दा धेरै आउने गर्छ । महिनावारी तथा गर्भ रहेको अवस्थामा महिलाहरुमा गिजासम्बन्धि धेरै समस्या आउने गर्छ । महिनावारीको समयमा गिजा सुन्नेको जस्तो अनुभव हुन्छ ।
अस्वस्थ्य गिजामा महिनावारीको समयमा रगत आउने समस्या हुन्छ । गर्भवति महिलाहरुलाई गिजाको समस्या छ भने त्यस्ता महिलाहरुको बच्चा समय भन्दा अगााडि जन्मिने , कम तौलको हुने जोखिम हुन्छ । बच्चा पाउन सहज बनाउन शरिरले प्रोस्टाग्ल्याण्डिन भ्द्द हार्मोन बनाउछ , गिजाको संक्रमण गर्ने ब्याक्टेरियाले प्रोस्टाग्ल्याण्डिन भ्द्द हार्मोनको उत्पादन गर्छ त्यस कारण बच्चा समय अगाडि नै जन्म लिन्छ ।
त्यसैले बच्चाको योजना बनाउनु अगाडि गिजामा केही समस्या भएमा दन्त चिकित्सकलाई देखाउनु आवश्यक हुन्छ । गर्भवति भइसकेपछि दन्त चिकित्सकलाई देखाउदा उपचार राम्रोसंग हुन पाउँदैन किनभने गर्भवति महिलालाई एन्टि बायोटिक्सहरु दिन मिल्दैन साथै एक्स रे हरु गर्न मिल्दैन ।
गर्भ जाँचको क्रममा जाँदा नै गाइनोकोलोजिष्टहरुले दन्त परीक्षण गरेर आउन सुझाव दिएमा गर्भवति महिला तथा पेटमा रहेको बच्चालाई रोग लाग्ने सम्भावना नै कम रहन्छ । सुत्केरी हुँदा ब्रस गर्नु हुँदैंन भन्ने विश्वास अझै पनि मानिसहरुमा रहेको छ । सुत्केरी अवस्थामा ब्रस गर्दा दाँत वा गिँजाबाट रगत आउँछ भन्ने गरिन्छ । यस्तो विश्वासको आधारमा गर्भवती अवस्थामा ब्रस नगर्दा महिलाहरु विभिन्न रोगबाट ग्रसित हुन पुग्छन् ।
गर्भावस्थामा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन एकदमै बढ्दै जाने गर्छ । त्यसकारण गिजामा विभिन्न प्रकारको समस्या आउने गर्छ । म गर्भवती हुँदा मेरो गिजामा एउटा सानो डल्लो आएको थियो । त्यतिबेला मैले महसुस गरे म आफैं दन्त चिकित्सक हुँदा त गर्भावस्थामा मलाई समस्या आयो भने अरु समान्य महिलाहरुको अवस्था कस्तो होला ।
गिजाको रोग नदुख्ने भएको कारणले पनि मानिसहरुले यसलाई समस्याका रुपमा नहेरेको पाइन्छ । नदुख्ने भएकोले चिकित्सककहाँ धेरै मानिसहरु जादैंनन् । गिजाबाट रगत आउनु भनेको शरीरको अन्य भागबाट रगत आउनु जस्तो नै हो ।
बच्चाहरु जन्मेर ८ वर्ष नपुग्दासम्म अभिभावकले नै ब्रस गराउनुपर्ने हुन्छ । जबसम्म बच्चाले आफ्नो जुत्ताको फिता बाध्न सक्दैन तबसम्म अभिभावकले नै ब्रस गराउनुपर्ने हुन्छ । यसरी बच्चाको दाँतलाई स्याहार गर्न नसकेको अवस्थामा ४/५ वर्षकै उमेरमा बच्चालाई सिरिन्ज लगाएर नै उपचार गराउनुपर्ने अवस्था आउने गर्छ ।
बच्चाको दाँत त हो नि आइहाल्छ भनेर अभिभावकले हेलचक्राइ गर्ने गर्छन तर सानै उमेरमा दाँत निकाल्दा विभिन्न समस्याहरु आउन सक्छ । उनिहरुले आफ्नो आत्माबल गुमाउन सक्छन् । आमा बन्ने चाहनासँगै महिलाहरुले आफ्नो लागि मात्र नभई बच्चाहरुको लागि पनि सोच्नुपर्ने हुन्छ । आमा सचेत हुन सकेको अवस्थामा बच्चाहरु स्वास्थ्य सम्बन्धि धेरै समस्या आउँदैंन ।
महिनावारी सुक्ने समयमा महिलाहरुको दाँत किन किराले खान्छ
उमेर ढल्कदै जाँदा महिलाहरुमा हर्मोनको मात्रा कम हुँदै जान्छ । महिनावारी सुक्ने समयमा महिलाहरुको शरीरमा विभिन्न प्रकारको परिवर्तन आउने गर्छ ।
यस्तो समयमा महिलाको छाला एकदमै सुख्खा हुँदै जाने गर्छ । जसकारण शरीरले थुक उत्पादन गर्न सक्दैन । जसकारण दाँत किराले खाने तथा गिजाको समस्याले बढी मात्रामा सताउने गर्छ । महिलाहरुको शारीरिक बनावट पुरुषहरुको तुलनामा केही संवेदनशील हुने भएकोले महिलाहरुले दाँत स्वास्थ्यमा बढी ध्यान दिनुपर्ने हुन्छ ।
दाँतको तथा गिजाको समस्या हुँदा बच्चामा कस्तो जोखिम हुन्छ
गर्भवती महिलाले दाँतको स्याहार राम्रोसँग नगरेको अवस्थामा कम तौलको बच्चा जन्मने, समय अगावै बच्चा जन्मने जस्ता जोखिम रहन्छ । त्यसैले पहिलादेखी नै मुख स्वास्थ्यको स्याहार गर्न सकेको अवस्थामा अन्य धेरै प्रकारका रोगहरुबाट बच्न सकिन्छ ।
गिजामा समस्या भएकी आमाले बच्चालाई चुप्पा गर्दा पनि ब्याक्टेरिया सरेर बच्चालाई विभिन्न प्रकारको इन्फेक्सन हुने गर्छ । गिजाको समस्या भएका मानिसहरुमा मुटु,मृगौला तथा कलेजो रोगको समस्या देखिन सक्छ । अल्जाइमर, स्ट्रोक, निमोनिया,लगायतका रोगको जोखिम गिजाको समस्याका कारण पनि बढ्न सक्छ ।
गिजाको रोग वंशाणुगत हुन्छ
डायबिटिज जस्तै गिजाको रोगहरु पनि वंशाणुगत हुन्छ । आजकाल आमाहरुले स्तनपान नभई बोतलबाट दुध चुसाउने गर्छन् । जसमा चिनी राखिएको हुन्छ ।
जसकारण बच्चाहरुमा दुई तीन वर्षकै उमेरमा दाँत किराले खाने समस्या देखिने गरेको छ । बच्चाहरुलाई बोतलबाट दुध चुसाए पनि लामो समयसम्म भने त्यसो गर्न हुँदैंन । बच्चालाई टन्न दुध खुवाउने बहानामा उसको दाँतको बिग्रार्दै गएको ज्ञान धेरैलाई हुँदैन ।