कुष्ठरोग भनेको के हो ?
कुष्ठरोग माइकोब्याक्टेरियम लेरा नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु विस्तारै फैलिन्छन् । यो रोगको सरायु अवधि २ देखी ५ वर्ष रहेको छ । यस रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ । उपचार नगरेका कुष्ठरोग बिरामीसँग लामो समय सम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्दछ ।
कुष्ठरोगका लक्षणहरु ?
शरीरको कुनै भागमा छुँदा थाहा नपाउने , रातो, फुस्रो दागहरु देखा पर्नु ।
हात खुट्टा झमझम गर्नु ।
बाहिरी सतहका स्नायु सुन्निनु ।
हात खुट्टामा नदुख्ने घाउहरु देखा पर्नु ।
कुष्ठरोगका प्रकार ?
उपचारको दृष्टिले कुष्ठरोगलाई कम किटाणु भएका र धेरै किटाणु भएको गरी दुई भागमा विभाजन गरिएको छ । कुष्ठरोग लागेपछि बहु औषधि उपचार विधिबाट यसको उपचार प्रक्रिया सुरु गरिन्छ । बहु –औषधी उपचार विधी भनेको एक भन्दा बढी प्रकारका औषधिबाट कुष्ठरोगको उपचार गर्नु हो । यसमा कुष्ठरोगको कम किटाणु भएको बिरामीले ६ महिनासम्म औषधिको सेवन गर्नुपर्ने हुन्छ । कुष्ठरोगको धेरै किटाणु भएको व्यक्तिले १२ महिनासम्म औषधि खानुपर्ने हुन्छ । विशेषज्ञ डाक्टरको सल्लाह अनुसार थप गरि २ वर्षसम्म पनि औषधि खानु पर्ने हुनसक्छ ।
कुष्ठरोग कसरी पत्ता लगाइन्छ ?
कुष्ठरोगको चिन्ह र लक्षणको आधारमा र बिरामीको छालाको जाँच गरेर कुष्ठरोग पत्ता लगाइन्छ । दाद, दिनाइ, दुबी, जन्मजात दाग, छालाको क्षयरोग आदिले पनि कुष्ठरोगको जस्तै लक्षण देखाउन सक्छ ।
के कुष्ठरोगले अपांगता र असमर्थता गराउँछ ?
यस रोगका किटाणुले बाहिरी सतहका स्नायुहरुमा ह्रास आउँछ । हात गोडामा छुँदा थाहा नपाउने वा केही वस्तुले घाउ, चोटपटक लाग्दा समेत थाहा हुँदैंन । यदि समयमा उपचार नगरेमा मांशपेशीहरुमा समेत पक्षघात हुन्छ । विस्तारै हात गोडाका औलांहरुमा बांगिने तथा कडापन आउने गर्छ । कुष्ठरोग लाग्दैमा हात गोडाका औलाहरु झर्दैनन् । कुष्ठरोगको किटाणुले स्नायुमा असर गरेर दुखाई र चोटपटकको अनुभूती हराउँछ । यसरी तातो समाउँदा वा चोटपटक लाग्दा नदुख्ने घाउ बन्दछन् र त्यस घाउमा संक्रमण भई हड्डीमा असर पुग्छ र हात गोडाका औंलाहरु छोटा हुन्छन् र झर्न थाल्छन् ।
कुष्ठरोगीलाई अलगै राखेर उपचार गर्नुपर्छ ?
यस रोगका बिरामीलाई अलगै कुनै अस्पताल वा स्वास्थ्य संस्थामा राखेर उपचार गर्नु आवश्यक छैन । घरमा नै बसेर कुष्ठरोगको बहु औषधी उपचार विधीबाट उपचार गर्न सकिन्छ । कुष्ठरोग लाग्दैमा जीवनभर औषधि खानुपर्छ भन्ने होइन । कुष्ठरोगको कम किटाणु भएको अवस्थामा ६ महिना र बढी किटाणु भएको अवस्थामा १२ महिनासम्म नियमित औषधि खाए कुष्ठरोग निको हुन्छ ।