उच्च रक्तचाप अर्थात् हाइपर टेन्सन परिचय
सामान्यतया मानिसको शरीरको रक्तचाप १२० बाइ ८० हुनुपर्ने हो । यो भन्दा बढेको अवस्थालाई हामी हाइपरटेन्सन भन्छौं । कहिलेकाही बिरामीको प्रेसर नापेको आधारमा रक्तचाप बढ्यो भन्न सकिदैंन । एक साताभरि दिनको दुई पटकसम्म प्रेसर नाप्दा पनि बढी देखाएको अवस्थालाई मात्रै हाइपरटेन्सन भनिन्छ । निरन्तर रुपमा रक्तचाप बढेको अवस्थामा मात्रै उच्च रक्तचाप वा हाइपर टेन्सन भएको मान्न सकिन्छ । हामी घरमै प्रेसर नाप्ने उपकरण राखेर पनि हाइपर टेन्सन वा उच्च रक्तचाप भए नभएको पहिचान गर्न सक्छौं ।
हाइपर टेन्सनलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा विभाजन गर्न सकिन्छ । धेरै जसो मानिसहरुमा प्राइमरी हाइपरटेन्सन भएको पाइन्छ । जसलाई एसेन्सिएल हाइपर टेन्सन पनि भन्न सकिन्छ । यसप्रकारको हाइपर टेन्सनको खासै कारण नभएतापनि जोखिम गराउने तत्वहरु भने हुन्छन् ।
सेकेन्डरी हाइपर टेन्सन मानिसमा निहित अन्य रोगका कारण हुने गर्छ । मृगौला ,हर्मोनल कारण , थाइराइड जस्ता रोगहरुका कारणहरुले गर्दा पनि सेकेन्डरी
हाइपर टेन्सन हुने गर्छ । जब उच्च रक्तचापको उपचारका लागि बिरामीहरु हामी कहाँ आइपुग्छन् हामी त्यसको कारण पहिचान गर्नतर्फ लाग्छौं ।
सेकेन्डरी हाइपर टेन्सन विभिन्न कारणले हुने भएकोले हामी पहिला उक्त कारणहरुको उपचारतर्फ लाग्छौं । यदि सेकेन्डरी हाइपर टेन्सनको कारण नभेटिएको अवस्थामा हामी त्यसलाई प्राइमरी हाइपरटेन्सनको रुपमा पहिचान गरी उपचार गर्न तर्फ लाग्छौ ।
हाइपर टेन्सनको उपचार कसरी गरिन्छ ?
यसको उपचारमा औषधिको मात्रै भूमिका रहन्न । बिरामीहरुले जीवनशैलीलाई परिवर्तन गरेर पनि हाइपर टेन्सनबाट छुटकारा पाउन सक्छन् । दैनिक जीवन उपभोग गरिने खानेकुरा, शारीरिक एक्सजसाइज जस्ता कुराहरुले पनि हाइपर टेन्सनमा बढाउने या घटाउने भन्नेमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिरामीको अवस्था अनुसार चिकित्सकले उच्च रक्तचापको औषधि दिने या नदिने भन्ने निर्धारण गर्छन् । कहिलेकाही बिरामीहरु एकदमै उच्च रक्तचाप भएको अवस्थामा हामीकहाँ आइपुग्ने गर्छन् त्यस्तो अवस्थमा पनि हामीले औषधिका लागि सिफारिस गर्छौ ।
लामो समयसम्म उच्च रक्तचापको रोगी भएमा त्यसले शरीरका अन्य अंगहरुलाई समेत क्षति पु¥याउने गर्छ । यसले सबैभन्दा धेरै मृगौला, आँखा र मुटुमा असर गर्छ । उच्च रक्तचापको समस्या भएर उपचारका लागि आइपुगेका बिरामीहरुको अवस्था हेरेर अन्य अंगमा असर गरेको या नगरेको पत्ता लगाउनका लागि स्क्रिनिङ गर्नुपर्ने हुन्छ । रक्तचापको औषधि सेवन गर्न थालिसकेका बिरामीहरुलाई हामीले बिरामीको अवस्था अनुसार फ्लोअपमा बोलाउने गर्छौ ।
परीक्षणका क्रममा बिरामीलाई औषधिको मात्रा घटाउने, बढाउने तथा फेर्नुपर्ने हुनसक्छ । हाइपर टेन्सन अर्थात् उच्च रक्तचाप जो कोहीलाई पनि हुनसक्छ । त्यसका लागि बेला बेला परीक्षणको आवश्यकता पर्छ । उमेर बढ्दै जाँदा रक्तचाप बढ्दै जाने सम्भावना हुन्छ । त्यसैले बेला बेला परीक्षण गर्नुपर्ने हुन्छ ।
लक्षण बिना नै देखिन्छ हाइपरटेन्सन ?
अन्य रोगजस्तो रक्तचाप बढ्दा खासै लक्षण देखा नपर्न पनि सक्छ । लक्षणबिना नै रक्तचाप बढ्ने भएकोले पनि यसको उपचारमा जटिलता छ । यदि एकदमै हाइ ब्लड प्रेसर भएको छ टाउको दुख्ने, रिगंटा लाग्ने जस्ता लक्षणहरु देखिन सक्छ तर सामान्यतया उच्च रक्तचापको लक्षण भने हुँदैंनन् । लक्षण बिना नै बढ्ने घट्ने भएकोले बेला बेलामा परीक्षणको आवश्यकता परेको हो ।
हाइपर टेन्सन हुनै नदिन के गर्ने ?
हाइपर टेन्सनबाट टाढा रहनका लागि मानिसले जीवनशैलीलाई स्वस्थ बनाउन आवश्यक छ । हप्तामा तीन दिन आधा घन्टा एरोबिक एक्ससाइज गरेको खण्डमा हाइपर टेन्सन हुने सम्भावनालाई केही टार्न सकिन्छ ।
सकेसम्म खानेकुरामा नुनको मात्रा एकदमै कम गर्नाले पनि उच्च रक्तचाप हुने सम्भावनालाई घटाउन सकिन्छ । दैनिक २ ग्राम मात्रै नुनको सेवन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ।
खानामा कार्बोहाइ्रेड, चिल्लो पदार्थ तथा प्रोटिनको मात्रालाई सीमित बनाई सागसब्जीको प्रयोग बढी मात्रामा गर्दो हाइपर टेन्सनको जोखिम कम हुन्छ ।
नेपालीहरु बढी मात्रामा भात खाने गर्छन् । विस्तारै यो परिपाटीमा सुधार ल्याउनुपर्ने देखिन्छ । जसले हाइपर टेन्सन हुने सम्भावनालाई पनि कम गर्छ ।