विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले महामारी घोषणा गरेको १ वर्षमा हामीले भाइरसलाई बुझ्न र नियन्त्रण गर्न वैज्ञानिकहरूले अभूतपूर्व प्रयास गरेको देखेका छौँ।
विश्वभरका अनुसन्धानकर्ताहरूले पहिल्यै कहिल्यै नदेखिएको तहको साझेदारी गरेका छन् र ज्ञान, अनुसन्धान र खोपको विकासमा वर्षौँसम्म लाग्ने काम केही महिनामा सकेका छन्।
पछिल्लो १२ महिनामा हामीले थाहा पाएका कुराहरू यस्ता छन्:
कोभिड-१९ का लक्षण
सबैभन्दा सुरुमा थाहा भएका लक्षणमा ज्वरो र खोकी थिए। त्यसपछि धेरै मानिसहरूले गन्ध वा स्वाद थाहा पाउने क्षमता गुमाएको बताएपछि त्यसलाई पनि मुख्य लक्षणका रूपमा राखियो।
महामारी निरन्तर कायम रहँदा अरू कम देखा पर्ने लक्षण जस्तै घाँटीमा खसखस हुनु, टाउको दुख्ने, जीउ दुख्ने र पीडा हुने, झाडापखाला, छालामा दाग देखा पर्ने वा औलाहरूको रङ्ग उड्ने, आँखा रातो हुने वा चिलाउने देखा पर्यो।
डब्लूएचओले गम्भीर बिरामी परेका मानिसहरूलाई तत्कालै उपचार गराउन भनेको छ।
सास फेर्न अप्ठेरो हुने, बोल्न वा हिँड्न गाह्रो हुने, भ्रममा पर्ने वा छाती दुख्ने गम्भीर लक्षण हुन्।
डब्लूएचओले फोक्सोमा समस्या भएका बिरामी, मधुमेह, मुटु रोग वा क्यान्सर भएका व्यक्तिहरूलाई भाइरसबाट बच्ने उपायहरू अपनाउन सुझाव दिएको छ।
अधिकांश बिरामीहरू चाँडै निको भए पनि अध्ययनहरूले केही व्यक्तिहरूमा कोभिड १९ ले मुटु र फोक्सो जस्ता अङ्गमा दीर्घकालीन क्षति पुर्याउने उल्लेख गरेका छन्।
कोभिड १९ यसरी सर्छ
सुरुका केही महिनामा डब्लूएचओले मानिसले खोक्दा वा हाच्छिउँ गर्दा साना थोपाहरू हावामा बसिरहने भन्दा पनि सतहतर्फ खस्ने हुँदा कोरोनाभाइरस सङ्क्रमण सरेको तर्क गर्यो।
त्यही भएर सङ्क्रमित व्यक्तिहरूबाट भुईँ वा सतहमा भाइरस नपुगोस् र नफैलियोस् भनेर हात धुने कुरालाई मुख्य नियन्त्रणको उपाय भनियो।
तर ब्रिटिश मेडिकल जर्नलमा हालै प्रकाशित लेखमा सतहमा छोएर सार्स-कोभ-टु सर्ने सम्भावना सास फेर्ने क्रममा सर्नेको तुलनामा कम रहेको उल्लेख गरेको छ।
वास्तवमा पछिल्लो प्रमाणले कोभिड-१९ मुख्य गरी नजिक रहेका व्यक्तिहरूमा श्वासप्रश्वासको माध्यमबाट सर्ने प्रमाणित भएको छ।
यो मुख्य गरी एक वा त्यो भन्दा बढी व्यक्तिले अरूसँग लामो समय बिताउने घरभित्र, भिडभाड हुने ठाउँमा र कमजोर भेन्टिलेसन भएको क्षेत्रमा सर्ने डब्लूएचओले जनाएको छ।
त्यही भएर अरू मानिसहरूसँग घरभित्र भेट्न धेरै किसिमका बन्देज लगाइएका छन्।
कोभिड-१९ खोपले प्रभाव पारिरहेको देखिन्छ
यूकेमा कोरोनाभाइरसको कारणले अस्पतालमा भर्ना हुने मानिसहरूको सङ्ख्यामा उल्लेख्य प्रभाव पारिरहेको देखिन्छ।
करिब दुई तिहाइ जनसङ्ख्याले कम्तीमा खोपको एउटा मात्रा पाएका छन् र तथ्याङ्कले खोपले अस्पतालमा भर्ती, मृत्यु र समुदाय स्तरको सङ्क्रमण घटाएको देखाएको छ।
साधारण अवस्थामा खोप बनाउन १० वर्ष लाग्छ।
तर फाइजर, मोडेर्ना र आस्ट्राजेनेकाले कोभिड १९ विरुद्धको खोप निक्कै छोटो अवधिमा विकास गरे जसको श्रेय प्रविधि, खोपका क्षेत्रमा वृद्धि भएको लगानी र कम भएको प्रशासन संयन्त्रलाई दिइएको छ।
केही महिनाको प्रयासमा खोप विकास भए पनि धेरै व्यक्तिहरूले त्यसलाई प्राप्त गर्न वर्षौँ लाग्न सक्छ।
खोप अरूलाई पनि उपलब्ध गराउने विषयमा व्यापक असन्तुलन रहेको छ र डब्लूएचओले धनी र गरिब देशका बीचमा 'अप्रत्याशित असन्तुलन' रहेको जनाएको छ।
लामो कोभिड-१९ ले तपाईँलाई अझ गाह्रो पार्न सक्छ
कोरोनाभाइरसबाट सङ्क्रमित भएको महिनौँपछि पनि उल्लेख्य सङ्ख्याका मानिसहरूले लङ कोभिड भनिने लामो समय देखा पर्ने लक्षणहरूको सामना गरिरहेका छन्।
डब्लूएचओले १० मध्ये एक व्यक्ति त्यसरी प्रभावित भएको हुनसक्ने भन्दै जिउ गल्ने, टाउको र छाती दुख्ने र डिप्रेसन जस्ता समस्या देखिन सक्ने जनाएको छ।
महामारीको सुरुको अवधिमा मानिसहरूले आफ्नो अवस्था गम्भीरतापूर्वक लिइयोस् भन्नका लागि धेरै सङ्घर्ष गर्नुपर्यो र वैज्ञानिकहरूलाई किन कसैमा यस्तो समस्या देखिन्छ र अरूमा देखिँदैन भन्ने कुराको जवाफ छैन।
उनीहरूले कोभिड-१९ को दीर्घकालीन असरबारे अध्ययन गरिरहेका छन् र एउटा हालै प्रकाशित अध्ययनले मध्यम मात्रै सङ्क्रमण भएको अवस्थामा पनि त्यसको ६ महिनापछि मृत्यु हुने वा गम्भीर बिरामी पर्ने जोखिम बढी रहेको देखाएको छ।
नयाँ प्रकार अझ सङ्क्रामक
कोभिडका विभिन्न हजारौँ प्रकार सक्रिय छन्।
यो अपेक्षा गर्न सकिन्छ किनभने फैलने क्रममा उनीहरूले आफ्नो सङ्ख्या विस्तार गर्छन् र स्वरूप परिवर्तन गर्छन्।
अधिकांश अवस्थामा त्यसको केही अर्थ हुँदैन कहिलेकाहीँ ती थप खतरनाक वा सङ्क्रामक बन्छन्।
यूके, दक्षिण अफ्रिका, ब्रजिल र भारतमा देखिएका नयाँ प्रकारको स्पाइक प्रोटिन भनिने शरीरको कोषमा टाँसिने भाइरसको हिस्सामा परिवर्तन देखिएको छ।
उदाहरणका लागि एनफाइभजिरोवानवाइ प्रकारको भाइरस सङ्क्रमण र विस्तार दुवैमा तेज देखिएको छ। कतिपय अनुसन्धानले यूके भेरिअन्टका कारण मृत्युको जोखिम ३० प्रतिशत बढी हुने उल्लेख गरेका छन्। तर उक्त प्रमाण अन्तिम होइन।
बालबालिकालाई गम्भीर बिरामीको जोखिम कम
बालबालिकालाई पनि कोभिड-१९ सङ्क्रमण हुन सक्छ तर गम्भीर खालको बिरामी पर्ने जोखिम वयस्कभन्दा उल्लेख्य मात्रामा उनीहरूमा कम हुन्छ। उनीहरूबाट भाइरस फैलने सम्भावना पनि कम रहने ठानिएको छ।
वैज्ञानिकहरूले अहिले आइरहेका नयाँ प्रकारहरूले कम उमेरका व्यक्तिहरूलाई बढी प्रभाव पार्छन् कि पार्दैन भनेर अध्ययन गरिरहेका छन्।
सन् २०२० को फेब्रुअरी र सन् २०२१ को मार्च १५ को बीचमा ब्राजिलमा कोभिड-१९ का कारण कम्तीमा ८ सय ५२ जना ९ वर्षभन्दा मुनीका बालबालिकाको ज्यान गएको विवरण अघिल्लो महिना आएको थियो। त्यसमा ५ सय १८ जना एक वर्ष भन्दा मुनिका थिए।
कोरोनाभाइरसको अप्रत्यक्ष प्रभाव अन्तर्गत स्वास्थ्य सेवा अवरूद्ध हुँदा दक्षिण एसियामा अनुमानित २ लाख ३९ हजार मातृ तथा शिशुको निधन भएको एउटा राष्ट्रसङ्घीय प्रतिवेदनमा जनाइएको छ।
कोभिड-१९ रहिरहन्छ
नेचर नामक जर्नलले एक सय जना कोभिड-१९ को क्षेत्रमा कार्यरत विज्ञहरूलाई सोध्दा लगभग ९० प्रतिशतले यो पूर्ण रूपमा निर्मूल नहुने र निरन्तर देखा पर्ने धारणा राखेका थिए।
हामीले कोभिड-१९सँगै बाँच्न सिक्नुपर्ने हुनसक्छ तर यसको अर्थ अघिल्लो वर्षकै स्तरको सङ्क्रमण र मृत्यु हामीले व्योहोरिरहनेछौँ भन्ने होइन।
इन्फ्लुएन्जाका कारण बर्सेनि दशौँ हजारको ज्यान जाने गर्छ तर समाजको रूपमा हामीले उक्त सङ्क्रमणलाई सामना गरेर बाँच्न सिकिसक्यौँ।
कोभिड पनि त्यस्तै रोग बन्न सक्छ र बेला बेलामा समाजमा यसको प्रभाव बढी देखिन सक्छ।
आफू र अरूलाई जोगाउने उपाय
सुरुमा कोभिड-१९ को सङ्क्रमण कसरी कम गर्ने भन्नेबारे विभिन्न सरकारहरूले फरक फरक सुझाव दिएका थिए तर अहिले डब्लूएचओले सुरक्षाका लागि चाल्नुपर्ने कदमबारे प्रस्ट सन्देश प्रवाह गरिरहेको छ।
कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्ने, नाक र मुख ढाक्ने गरी मास्क लगाउने र हात धुने प्रमुख सुझाव हुन्।
तपाईँले आफ्नो कोठामा हावा भित्र बाहिर गर्न सजिलो हुने गरी उपयुक्त किसिमको भेन्टिलेसनहरू राख्नुपर्ने र भिडभाडयुक्त ठाउँबाट परै रहने गर्नुपर्छ।
यदि तपाईँलाई खोप प्रस्ताव गरियो भने तुरुन्तै लिनुपर्छ किनभने अनुमति पाएका खोपले गम्भीर बिरामी र मृत्युबाट उच्च तहको सुरक्षा दिने डब्लूएचओले जनाएको छ।
तर अझै पनि कोभिड-१९ का बारेमा कैयौँ प्रश्नको जवाफ आएका छैनन् र वैज्ञानिकहरूले सामुदायिक प्रतिरोधी क्षमता विकास हुन आवश्यक अवस्था सहितका सवालबारे अनुसन्धान जारी राखेका छन्।
बिबिसी