काठमाडौं- दाम्पत्य जीवन सन्तानको आगमन बिना प्रायः शून्य जस्तै हुन्छ । त्यसैले विवाहको केहि वर्ष पश्चात नै दम्पतिहरु सन्तान प्राप्तिको कोशिसमा लागिहाल्छन् । यसको प्रमूख कारण सामाजिक संरचना पनि हो ।
सन्तान प्राप्तिमा दम्पतिहरु लागेपनि सन्तान प्राप्ति सबैको लागि सहज हुँदैन । विभिन्न कारणले सन्तान प्राप्तिमा समस्या आउन सक्छ । चिकित्सकका अनुसार करिब ८ दम्पतीमध्ये मध्ये एक दम्पतिले सन्तान प्राप्तिको समस्या भोग्दै आएका छन् । भने केहिले उचित निदान र उपचार पश्चात ६० – ७० प्रतिशत दम्पतीले सफलता प्राप्त गरेका छन् ।
सन्तान प्राप्त गर्न चाहाने दम्पतीले बिशेषगरी यी बिषयमा ध्यान दिनु पर्छः
स्वस्थ रहने कोसिस गर्ने
स्वस्थ शरीरले नै स्वस्थ डिम्ब र शुक्रकिट उत्पादन गर्न सक्छ । त्यसैले सन्तान प्राप्त गर्ने योजना बनाएसँगै आफूलाई स्वस्थ बनाउन शुरु गर्नुपर्छ । यसका लागि स्वस्थ र ताजा फलफूल खाने, बाहिरको धेरै नखाने, व्यायाम गर्ने, जाँड, रक्सी, चुरोट आदि नखाने, तनाव मुक्त रहने, धैर्य गर्ने, तौल उचित राख्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
उर्वर अवस्थालाई ध्यान दिने
स्वस्थ रहेसँगै नियमित यौन सम्पर्कमा पनि ध्यान दिनुपर्ने हुन्छ । आम बुझाईमा एक महिलाले महिनाको जुन समयमा पनि यौन सम्पर्क गरे गर्भधारण गर्न सक्छ भन्ने छ तर त्यो सही होइन । गर्भधारण गर्न महिला उर्वर अवस्थामा हुनुपर्छ ।
यो समय भनेको ओभुलेशनको ५ दिन अघि र १ दिन पश्चात सम्मको अवस्था हो । शुक्रकिट महिलाको प्रजनन् अंगभित्र ५ दिनसम्म जीवित रहन सक्छ र डिम्ब निष्कासनपश्चात २४ घण्टा भित्र नै निषेचित हुनुपर्छ । यसै आधारमा उर्वर अवस्था निर्धारण गरिएको हो ।
उर्वर अवस्थामा सम्पर्क नभए सन्तान प्राप्ति हुन सक्दैन ।
उर्वर अवस्थामै यौन सम्पर्क भएको यकिन गर्न नियमित रुपमा (कम्तिमा हप्ताको ३ पटक) यौन सम्पर्क गर्नुपर्छ । जसका कारणले गर्भधारणको अधिक सम्भावना रहन्छ । त्यसका साथै ओभुलेसनको समय पत्ता लगाउन विभिन्न उपायहरु छन् । शरीरको तापक्रम नाप्ने प्रक्रिया, पात्रो मा टिपोट गर्ने माध्यम सर्भिकल म्युकस जाँच्ने वा ओभुलेशन ट्र्याकिंग विधि अपनाउन सकिन्छ ।
यी उपाय बाट पनि उर्वर अवस्थामा अधिक प्रयास गर्न सक्नुहुन्छ । यदि तपाइँको उमेर ३५ वर्षभन्दा मुनि छ भए १ वर्ष सम्म यस्तै प्रयास गर्न सक्नुहुन्छ। करिब ८०५ दम्पतिले १ वर्षको प्रयासमा सफलता प्राप्त गर्छन् । यदि उमेर ३५ वर्ष भन्दा अधिक छ भने ६ महिना सम्म प्रयास गर्नुहोस् र सफलता प्राप्त भएन भने निस्सन्तान विशेषज्ञ सँग परामर्श लिनु पर्ने हुन्छ ।
उचित निदानका साथै प्रजनन् विशेषज्ञको सल्लाह लिनुपर्छ
प्रजनन् उपचारका लागि जाँदा आफूले उपचार रोज्ने भन्दा पनि कुन आवश्यक छ जान्नु जरुरी हुन्छ। प्राकृतिक रुपमा सन्तान प्राप्त भएन भने त्यसपछि आइयुआई गर्नुपर्छ भन्ने एउटा परिपाटी बनेको छ । जसले गर्दा सफलता नहुने र समय तथा पैसाको नोक्सान हुन सक्छ । त्यसैले उचित निदानमा ध्यान दिनुपर्छ । बिशेषज्ञलाई आफ्ना समस्याहरु खुलेर भन्ने त्यसपश्चात बिशेषज्ञले भने अनुसारका टेष्टहरु गराउनुपर्छ । यसो गर्नाले के कुरामा सुधार गर्ने र कुन उपचार गर्ने बुझ्न सजिलो हुन्छ र सफलताको सम्भावना पनि अधिक हुन्छ ।
आफ्नो अवस्था अनुरुप प्रजनन् उपचार सुरुवात गर्ने
उचित निदान पश्चात सुधार गर्न सकिने पक्षहरुमा काम गर्न शुरु गर्ने र अवस्था अनुसारको उपचारबाट सन्तान प्राप्तिको सम्भावनालाई बलियो बनाउनुपर्छ ।
असफल भए कारण पहिचान गरी पुनः प्रयास गर्नुपर्छ
गर्भधारण सफल हुन शरीरका विभिन्न अंग, प्रक्रिया, जीवनशैली, खानपान देखि विभिन्न कुराहरुको भूमिका रहन्छ । कहिलेकाँहि अज्ञात कुराहरुले पनि भूमिका खेल्छ त्यसैले आधुनिक उपचार प्रक्रिया पनि शत प्रतिशत सफल हुन सकेका छैनन् । त्यसैले एक पटक असफल हुँदैमा सन्तान नै नहुने हो कि भनी सोच्नु उचित होइन ।
निः सन्तान उपचारको क्रममा सम्पूर्ण जानकारी राखिएको हुन्छ । यस्ता कारणहरुको सुक्ष्म अध्ययन गरेर मात्र अर्को पटक फेरि प्रयास गरिन्छ त्यसैले सन्तान प्राप्तिको सम्भावना अधिक हुन्छ।