काठमाडौं। शारीरिक –क्रिया विज्ञानका अनुसार चिनी पूर्णरुपले बेकारको बस्तु हो । विश्व स्वास्थ्य संगठनको जर्नलमा खानेकुरामा एक चिम्टि चिनीको पनि आवश्यकता पर्दैन भनेर लेखिएको छ ।
चिनीबाट हुने नोक्सानीबारे स्वच्छ,सेतो र घातक नामक चर्चित पुस्तकमा लेखक प्रोफेसर जोन यड्किनले पनि यस्तै भनेका छन् । मानिसको सम्पूर्ण पोषण आवश्यकताहरु एक चम्चा सेतो वा खैरो चिनी वा खानामा वा पेयबाट होइन , समाजको प्रचालित भोजनबाट नै पूर्ति हुन सक्छ ।
खानेकुरामा चिनी थपेका कारण नै आधुनिक खानेकुराको गुणमा आमुल परिवर्तन भएको छ । खानेकुरामा दुई आधारभुत गुणहरु हुनु पर्दछ ।
१ पोषण र
२.खानयोग्य
चिनीमा हाम्रो खानेकुरामा हुनुपर्ने दुई आधारभुत गुणहरुमध्ये खानयोग्य गुणमात्र हुन्छ र त्यसमा पोषण चाँही हुँदैंन । त्यसैले यो पोषणरहित खाना हो भनिन्छ।
आजकाल बजारभरी विभिन्न पत्रु या जङ्क खानेकुराहरु पाइन्छन् । तिनीहरुमा पोषण तत्व हुँदै नहुने या भए पनि अति नै कम हुन्छ । तर रसायनिक वास्ना, रंग र संरक्षक तत्वका सार्थ चिनीको मिश्रणका कारणहरुले बजारमा उपभोक्ताद्वारा यसको व्यापक उपभोग भइरहेको छ ।
यी मध्ये धेरैजसो पुरियाबन्दी पोषणरहित खानाहरुमा अत्याधिक मात्रामा चिनी मिसाइएको हुन्छ । हलुका पेयमा कार्वोनेट गरिएको पानी, चिनी, क्याफिन,रंग,संरक्षक तत्वहरु हुन्छन् । यो पेय रसायनहरु र चिनी घोलिएको पानीको हानीकारक समीश्रण मात्र हो । यसले हाड छिद्र हुने ओस्टोपोरोसिस समस्या , मोटोपना कुपोषण तथा दाँतमा किरा लाग्ने समस्याहरु उत्पन्न गराउँदछ ।
यी उत्पादनहरु आधारभुत रुपमा कृत्रिम तरिकाबाट उत्पादित नक्कली खानेकुराहरु हुन् । सशक्त विज्ञापनको कारणले नै यी उत्पादनहरु बिक्री भइरहेका हुन् । खासगरी हाम्रा केटाकेटी र युवाहरुमा यी उत्पादनहरुको विज्ञापनमा आकर्षित भएका र उपभोगको लतमा फसेका छन् ।