काठमाडौं - सन्तान प्राप्तिको चाहना हरेक दम्पतीलाई हुन्छ। अझै महिलामा आमा बन्ने चाहना धेरै हुन्छ । आफ्नो सन्तानको साना पाइला, तोतेबोली, मुस्कान, साना कुराको रोदन आमालाई सबैभन्दा प्यारो हुन्छ । तिनीहरुसँग एकैछिन कुरा गर्दा पनि दिनभरीको थकान हराएर गएको महसुस गर्छन् ।
सन्तान कहिले पाउने सबैको आफ्नो व्यक्तिगत निर्णय हो र हुनुपर्छ । सन्तान प्राप्ति को समय कुनै एउटा कुराले निर्धारण गर्न नसकिने भएकोले धेरै कुरामा विचार गर्नुपर्ने हुन सक्छ । सन्तानको जिम्मेवारी उठाउन सक्ने हुनुपर्छ । हरेक दम्पतीले सन्तान जन्माउनु अघि यस्ता बिषयमा बिशेष ध्यान दिनुपर्छ ।
के दम्पती आर्थिक र मानसिक रुपमा तयार छन्
प्रजनन् सम्बन्धि कुनै असामान्यता त छैन ?
उमेरका हिसाबले कति समय कुर्न सकिन्छ ?
कामको वातावरण, जीवनशैली, खानपान वा कुनै रोगले प्रजनन् मा असर पुर्याइरहेको त छैन ?
यस्ता थुप्रै कुराहरुलाई ध्यानमा राख्दै सही समय निर्धारण गर्न सकिन्छ। केहि विकसित मुलुकमा सन्तान प्राप्तिको प्रयास शुरु गर्दा विज्ञको परामर्श लिने प्रचलन भएपनि हाम्रो देशमा यस्तो प्रचलन छैन । कुनै जटिलता आए मात्र स्वास्थ्य परामर्श लिने गरिन्छ । हाल केहि दशक यता गर्भवती महिलाहरु समय समयमा परिक्षण गराउने र अधिकांश डेलिभरि अस्पतालमै हुने गरेको छ ।
उचित समयमा स्वास्थ्य परामर्श लिँदा कति गर्भवती महिला जटिलता बाट जोगिन सकेका छन् भने बाँझोपन र यस सम्बन्धि फैलिएका मिथ्या कुराहरुबाट प्रताडित हुने र ज्यानै गुमाउने अवस्था सम्म पुगेका महिला पनि लाभान्वित भएका छन् ।