गर्मी समय लागेसँगै छालामा हुने समस्याहरु पनि बढ्दै जाने गर्छन् । छालामा विभिन्न इन्फेक्सनका कारण, जन्मजात रुपमा , पेशागत कारण,कपाल तथा नङको समस्या तथा शरीरमा रहेका विभिन्न रोगहरुका कारण पनि छालामा विभिन्न प्रकारको समस्या आउने गर्छ ।
यो सँग सँगै घाम तथा एलर्जीका कारण पनि छालामा विभिन्न प्रकारका समस्याहरु देखिने गर्छन् । छालामा हुने रोगहरु सर्ने तथा नसर्ने गरी दुई प्रकारको हुन्छ । छालाम हुने विभिन्न प्रकारको इन्फेक्सन सरुवा रोगमा पर्छन् । यस अन्तर्ग व्याक्टेरियल, भाइरल फङल इन्फेक्सन पर्छन् ।
त्यस्तै बच्चाहरुमा देखा पर्ने विभिन्न प्रकारका फोहोर, खटिराहरु, ठेउला दादुरा,लुतो, दाद जस्ता रोगहरु छालामा हुने सरुवा रोग अन्तर्गत पर्दछन् । कतिपय छालामा हुने रोगहरु जन्मजात रुपमा नै वंशाणुगत कारणले लाग्ने गर्छन् । छालामा आउने चायाँ पोतो सेतो दुबी,एलर्जी,डण्डीफोर,एक्जीमाहरु भने नसर्ने रोग अन्तर्गत पर्छन् ।
छालाको प्रकृति अनुसार कस्मेटिक्सको छनौट कसरी गर्ने ?
छालाको बनावट सबै व्यक्तिको एकै प्रकारको भएपनि छालाको प्रकार भने फरक फरक हुन्छ । कसैको छाला सुख्खा प्रकारको हुन्छ भने कसैको चिल्लो । व्यक्तिपिच्छे छालाको प्रकार अलग अलग हुने भएको कसैलाई उपयुक्त भएको कस्मेटिक्स अर्को व्यक्तिलाई नहुन पनि सक्छ । त्यसैले छालाको प्रकृति अनुसार चिकित्सकको सल्लाहअनुसार कस्मेटिक्स प्रयोग गर्नका लागि मेरो सुझाव छ ।
पछिल्लो समय छालामा लाग्ने रोगहरु किन बढे
पछिल्लो समय छालामा लाग्ने रोगहरु बढिरहेको छ । वातावरणमा आएको परिवर्तनका कारण छालाका रोगीहरुको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समयमा घामको विकिरणको असर समेत बढ्दै गइरहेको छ । अहिले छालामा चायाँ, पोतो दागको समस्या भएका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ ।
सामाजिक सञ्जालको बढी प्रयोगले अनावश्यक कस्मेटिकहरुको प्रयोग पछिल्लो समय बढिरहेको छ । अनावश्यक देखासिकीका कारण जभाबाभी कस्मेटिक्सको प्रयोगले छालामा आउने समस्या बढिरहेको छ । यसको साथै कुनै समस्या परेमा रोगको सुरुवाती अवस्थामा नै उपचार नगर्ने र आफु खुसी उपचार गर्ने बानीले पनि छाला सम्बन्धि समस्या बढ्दै गएको पाइन्छ ।
छालाको प्रकृति अनुसार कस्मेटिक्सको प्रयोग
मानिसले आफ्नो छालाको प्रकृतिबारे जानकारी लिई त्यसैअनुसार कस्मेटिक्सको प्रयोग गर्नु आवश्यक छ । चिल्लो छालामा डन्डीफोर आउने सम्भावना बढी हुन्छ ।चिल्लो छाला हुनेहरुले चिल्लोको मात्रा कम भएको कस्मेटिक्स जेल र लोसनको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै सुख्खा छाला हुनेले क्रिमको प्रयोग गर्नुपर्छ ।
आजकाल सामाजिक सञ्जालहरुमा विज्ञापनका लागि अनावश्यक कस्मेटिक्स प्रचार गरिएको हुन्छ । त्यसरी हौहल्लामा नलागी छाला रोग विशेषज्ञसँग परामर्श लिएर आफ्नो नियमित छाला स्याहार तथा रोग सम्बन्धि उपचार गरेमा छालामा आउने अनावश्यक समस्याबाट बच्न सकिन्छ ।
छालामा आएका कुनै पनि समस्यालाई पूर्णरुपमा निर्मुल बनाउन सकिँदैंन । एक पटक भएको समस्या पुन दोहोरिन सक्छ । जुनसुकै समस्याको उपचारमा भन्दा पनि रोकथाममा ध्यान दिनुपर्ने हुन्छ । आजकाल मानिसहरुले छालामा दाद आयो भनेर अनावश्यक औषधि प्रयोग गरेको पाइन्छ यसले समस्या निको हुनुको साटो झन् झन् बढाइरहेको छ । त्यसैले मेडिकलबाट अनावश्यक औषधि किनेर प्रयोग गर्नुभन्दा छाला रोग विशेषज्ञलाई परीक्षण गरी आौषधि प्रयोग गरेको अवस्थामा समस्या नै आउँदैंन ।
समय तथा मौसमअनुसार छालाका लागि गरिने स्याहार फरक हुने गर्छ । छालामा सिरमको प्रयोग गरी सन् क्रिमको प्रयोग नगर्दो त्यसले छालामा समस्या निम्त्याउन सक्छ । छालाको स्याहारका लागि पानी तथा फलफूलको प्रयोग धेरै गर्नुपर्ने हुन्छ । कडा घामबाट सधैं बच्न सकेमा छालामा आउने समस्यालाई कम गर्न सकिन्छ ।
मद्यपान तथा धुम्रपानबाट टाढा रहेमा पनि छालामा आउने धेरै समस्याबाट बँच्न सकिन्छ । आफ्नो छालाको सुरक्षाका लागि आफैं सचेत हुनु जरुरी हुन्छ । त्यसैले जहाँ पायो त्यही देखाएर उपचार गर्नुभन्दा आफुले उपचार सेवा लिइराखेको चिकित्सक छाला रोग विशेषज्ञ हो या होइन भनी बुझेर मात्र उपचार गर्नु उचित हुन्छ ।
कुनै पनि रोग लागे लागेर निको भएमा पुन हुन नदिनका लागि रोकथाममा ध्यान दिनु पनि त्यतिकै महत्वपूर्ण मानिन्छ ।
चिल्लो छालामा डन्डीफोर आउने सम्भावना बढी हुन्छ ।चिल्लो छाला हुनेहरुले चिल्लोको मात्रा कम भएको कस्मेटिक्स जेल र लोसनको प्रयोग गर्नुपर्ने हुन्छ ।