नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछु, मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न समर्थ नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको ।
म देखिरहेको छुः मेरो पिताकोजीको स्वप्नबाटिका जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् । यस्तो स्वप्नबाटिकाको परिकल्पनाकार मेरा पुजनीय पिता स्व. लुनकरणदास चौधरी ज्यूको आज १०१ औं जन्मजयन्ती पनि हो । म यसै मञ्चबाट उहाँलाई हार्दिक स्मरण गर्दै शब्दसुमन अर्पण गर्न चाहन्छु ।
साथै, यहाँहरुको कृपापूर्ण उपस्थितिका लागि पनि कृतज्ञता व्यक्त गर्दै नव वर्षको आत्मीयतापूर्ण शुभकामना अर्पण गर्न चाहन्छु । यहाँहरुको नर्भिकप्रतिको स्नेहका लागि कृतज्ञता व्यक्त गर्न उचित शब्दहरु मसँग छैनन् ।
नर्भिक नामले मात्र होइन, आफ्नो कामले परिचित भएको छ । ३० वर्षअघि रोपिएको बिउबाट हुर्किएको नर्भिक आफ्नो लक्ष्यप्रति इमानदारीताका साथ अघि बढ्दै यो अवस्थामा पुगेको संस्था हो । भनिन्छः सफल हुनु धेरै ठूलो कुरा होइन, तर सफलता जोगाउन सक्नु सबैभन्दा ठूलो कुरा हो । त्यो सबैभन्दा ठूलो चुनौति हो । यहाँहरुजस्ता संरक्षकहरुको सद्भाव र प्रेरणा, र यहाँ कार्यरत दक्ष जनशक्तिको कर्मठता र कर्तव्यपरायणताका कारण नर्भिक आज यो उचाईसम्म पुग्न सफल भएको छ । म यहाँहरु सबैलाई विश्वास दिलाउन चाहन्छु, नर्भिक सदा इमानदािरताकापूर्वक आफ्नो लक्ष्यप्रति समर्पित भइरहनेछ ।
वास्तवमा भन्ने हो नर्भिकको बारेमा हामीले केही बोल्नुपर्दैन । बोल्छन् ती रोगीका असंख्य आँखाहरु, अनि आफन्तहरु जो यहाँबाट उपचारित भएर स्वास्थ्य लाभ गरिरहेका छन् । ती आशिर्वादका हातहरु जुन यस स्वस्थ धामको कण कणमा फैलिएका छन् । आज नर्भिक भन्नसाथ सेवा, स्वास्थ्य, सहृदयताको जुन बोध हुन्छ, मैले त्यसैलाई आफ्नो जीवनको परम उपलब्धि ठानेको छु ।
उपलब्धिको कुरा गर्दाखेरि म तीस वर्षपूर्वतिर फर्किएर जब हेर्छु, केही मीठा, केही तीता, केही घतलाग्दा, केही गौरवपूर्ण क्षणको पथमा हिँडेका ती पद्चापहरुलाई देख्छु । धेरै मान्छेलाई कौतुहुलता भइरहनसक्छ, एउटा व्यापारिक घराना किन स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको छ ? यसको पछाडि पक्कै केही न केही कारण हुनुपर्दछ । कोही मलाई सोध्द्थे केले तपाईलाई स्वास्थ्य सेवामा लगानी गर्न प्रेरित गर्यो ? तब म सम्झन्छु, मेरो बचपन(बाल्यकाल) ।
मेरो जीवन बाल्यकालदेखि नै कहिले पनि धेरै स्वस्थ रहेन । र, आकस्मिक स्वास्थ्यउपचारका क्रममा भारत जाँदाखेरि आफूले देखेका, भोगेका ती क्षणहरु म कहिल्यै पनि बिर्सिन सक्दिँन । त्यो बेला दिल्लीमा अल इण्डिया इन्स्टिच्यूट(एम्स)बाहेक त्यो स्तरको अरु अस्पताल नै थिएन । न त कर्पोरेट अस्पतालहरु नै आइसकेका थिए । यो करिब ५२ वर्षअगाडिको कुरा गर्दैछु म ।
हामी जतिसुकै भए पनि सामान्य नागरिकभन्दा आफूलाई बाहिर लगेर उपचार गर्नसक्ने सामथ्र्य भएको ठान्छु । मैले आफ्नै आँखाले देखेको छु, एम्समा जाँदाखेरि भर्नाका लागि मेरा पिताजीले डाक्टरहरुको अगाडि हात जोडेको, झण्डै खुट्टा नै समाउनुभएको । म सम्झिन्छु, एम्सको कम्पाउण्डभित्रै त्यहाँको रुखमुनि मेरी आमाले खाना पकाएर खुवाउनुभएको । र, म यो पनि सम्झिन्छु, रगतको टाटा भएको शैयामा सुतेको ।
मैले अघि बिजको कुरा गरेँ । त्यही नै बिज मेरो हृदयमा थियो । हामी अलि सक्षम हुँदा हुँदै पनि जब यति धेरै दुःख पाउँछौं भने सामान्य नागरिकको के हालत हुँदो हो ? त्यो नै एउटा प्रण थियो कि म नेपालमा एकदिन अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउनेछु । र, आज भन्दा ३० वर्षअगाडि यसको सुरुवात गरेँ । त्यसका साक्षी डा. एसके भट्टाचार्य आज यहाँ मौजुद हुनुहुन्छ । म उहाँप्रति हार्दिक नमन गर्न चाहन्छु । उहाँहरुको साथ, उहाँहरुको हौसला त्यो बेला नभएको भए यो कार्यको थालनी गर्न त्यति सजिलो हुने थिएन होला ।
हामीले थालनी त गर्यौं । आफ्नो निजी सम्पत्ति थिएन । लिज्ड प्रपर्टीमा सर्भिसेज सुरु गर्यौं । सुरु गरेको केही महिनापछि हामी लखेटियौं । किनभने जब हस्पिटल चल्न थाल्यो, नाम कमाउन थाल्यो, घरधनीहरुलाई लोभ बढेर गयो । त्यसपछि एकठाउँबाट अर्को ठाउँमा, अर्कोबाट अर्को ठाउँमा सर्दै स्थायी रुपमा थापाथलीमा हामीले थप लगानी गरी आफ्नै जग्गामा हार्ट कमाण्ड सेन्टर स्थापना गर्यांै, जसले कार्डियाक इमेरजेन्सीलाई विश्वसनीय स्तरमा आफूलाई विकास गरेको थियो ।
प्रविधिको हिसाबले पनि नर्भिक सधैं अगाडि रह्यो । ३० वर्षअघि नेपालमा पहिलोपटक निजी क्षेत्रमा इको मसिन ल्याउने पनि नर्भिक नै हो । क्याथब्लयाब सुरु गर्ने पनि नर्भिक नै हो भने बाइपास सर्जरी सुरु गर्ने पनि नर्भिक नै हो । नर्भिकले यस्ता धेरै प्रथम कार्यहरु गरेको छ । त्यसको फेहरिस्त मैले अहिले पढ्न थालेँ भने धेरै समयको आवश्यकता पर्दछ।
पैसा कमाउन योभन्दा धेरै ठूला बजार र विकल्पहरु मौजुद छन् । तर, एउटा चित्कार गरिरहेको रोगी, जब स्वास्थ्यलाभ गरिसकेपछि हाँस्छ, मुस्कुराउँछ, त्यो हासोको शितलता जब जब म अनुभव गर्छु, मलाई संसारका सारा कुराहरु फिक्का लाग्छन् । र, आफूमा जन्म–जन्मान्तरको तृप्ति अनुभव गर्दछु । सफलता, असफलता सँगसँगै आउने प्रयत्नहरु हुन् । जब हामी ‘म’को अहम् बाँच्छौं, असफलता हाम्रो नजिक नजिक आउँछ । जब हामी ‘हामी’को महानतालाई बुझ्न थाल्छौं, तब हामी सफल हुँदै जान्छौं ।