काठमाडौं । शुन्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी भन्ने नारासहित विश्व औलो दिवस मनाइँदैं छ । विश्व स्वास्थ्य सम्मेलनको ६० औं सभाले सन् २००८ देखि २५ अप्रिललाई औलो दिवस मनाउने निर्णय गरेदेखि नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी विश्व औलो दिवस मनाउन थालिएको छ।
स्थानीय औलोलाई शुन्यमा झार्नका लागि विभिन्न नवीनत तथा प्रभावकारी कार्यक्रमहरुमा लगानी बढाउनुपर्ने आजको आवश्यकता बनेको छ । रोग सम्बन्धि जनचेतना बढाउन,निवारणका लागि बहस पैरवी गरी बहुपक्षीय संलग्नतामा कार्यक्रम अघि बढाउन कार्यक्रम कार्यान्वयनमा प्राथमिकताका साथ लगानी बढाउनुपर्ने आजको आवश्यकता बनेको छ ।
नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समय सीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एन.टि.डी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउँछन् । उनी भन्छन् , ‘पछिल्लो समय औलोको जोखिम तराइमा मात्र होइन पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् ।’
औलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिँदै आएको शाखाको तथ्याङ्कमा उल्लेख छ । चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन् । औलो सङ्क्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।”