काठमाडौं। जेनेटिक काउन्सिलिङ कम्युनिकेशनको एउटा प्रक्रिया हो । जसमा बिरामी र बिरामीको परिवार तथा तालिम प्राप्त स्वास्थ्यकर्मीको संलग्नता रहन्छ । जेनेटिक काउन्सिलिङ तथा जेनेटिक परीक्षण दुवैमा विशेषता हांसिल गरेका दक्ष स्वास्थ्यकर्मीहरुको सहभागिता रहन्छ ।
पारिवारिक हिस्ट्रीको आधारमा वंशाणुगत क्यान्सरको जोखिमको आधारमा जेनेटिक काउन्सिलिङ गरिन्छ । पारिवारिक मेडिकल हिस्ट्रीको आधारमा सम्पूर्ण कुराहरुको मुल्यांकन गर्ने गरिन्छ । मुल्यांकन र पारिवारिक हिस्ट्रीको आधारमा रिपोर्टमा तयार पारिन्छ । जेनेटिक काउन्सिलिङमा सर्वप्रथम बिरामी र परिवारको मेडिकल हिस्ट्री नै लिइन्छ । परिवारमा अग्रजहरुमा क्यान्सर भएको खण्डमा बिरामीमा क्यान्सरको जोखिम कति रहेको छ भन्ने पत्ता लगाउनका लागि जेनेटिक काउन्सिलिङ महत्वपूर्ण मानिन्छ । काउन्सिलिङ कै आधारमा अन्य प्रकारको परीक्षण आवश्यक छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ ।
किन आवश्यक छ जेनेटिक काउन्सिलिङ ?
जेनेटिक काउन्सिलिङ एकदमै आवश्यक छ । यो पछिल्लो समय अनुसन्धानको विषय बनेको छ । क्यान्सरको जोखिम हटाउनका लागि जसरी विभिन्न प्रकारका जनचेतनामुलक कार्यहरुको भूमिका महत्वपूर्ण हुन्छ त्यसरी नै क्यान्सरको जोखिम न्यूनिकरणका लागि जेनेटिक काउन्सिलिङको महत्व छ ।
एकै परिवारका धेरै सदस्यहरुमा एकै खालको क्यान्सर देखिएको अवस्थामा अन्य सदस्यहरुलाई जेनेटिक काउन्सिलिङको आवश्यकता पर्छ । स्तन क्यान्सर, अण्डाशयको क्यान्सर, प्रोस्टेट क्यान्सर तथा एकै व्यक्तिमा एक भन्दा बढी क्यान्सर देखा पर्नु, पाठेघरको अन्य प्रकारको क्यान्सर हुनु , ५० वर्ष भन्दा कम उमेरमा नै क्यान्सर देखिएमा त्यसलाई जोखिम भित्र राख्ने गरिन्छ । आन्द्रामा मासुहरु पलाइरहने बिरामीहरुलाई पनि क्यान्सरको जोखिम उच्च हुने गर्छ । त्यस्ता व्यक्तिहरुलाई जेनेटिक काउन्सिलिङको आवश्यकता रहने गर्छ ।
कस्ता रोगहरु जेनेटिकल्लि ट्रान्सफर हुन्छन् ?
स्तन, ओभरी, प्रोस्टेट तथा पुरुष स्तन क्यान्सर जेनेटिक रुपमा ट्रान्सफर हुने गर्छन् । जेनेटिक काउन्सिलिङले व्यक्ति र परिवारमा क्यान्सरको जोखिम कम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने गर्छ । जेनेटिक काउन्सिलिङ गर्दा उच्च जोखिममा रहेका व्यक्तिहरुमा विभिन्न प्रकारको परीक्षण गरी रोग भए नभएको पत्ता लगाउन सकिन्छ । सामान्य मानिसहरुमा भन्दा जेनेटिक समस्या भएकाहरुमा क्यान्सरको जोखिम उच्च रहन्छ ।
जोखिमलाई कसरी कम गर्ने ?
जोखिम कम गर्नका लागि प्रत्येक वर्ष रुटिङ स्क्रिनिङ गर्नु एकदमै अत्यावश्यक मानिन्छ । यदि सुरुवाती अवस्थामा क्यान्सर भएको थाहा पाएमा पूर्ण रुपमा रोगको निदान गर्न सकिन्छ । परीक्षणका क्रममा परिवारका एक सदस्यमा क्यान्सर देखिएमा त्यसको जोखिम परिवारका अन्य सदस्यहरुमा समेत बढ्न जान्छ। यदि एउटा स्तनमा क्यान्सर छ भने अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना एकदमै बढेर जान्छ ।
स्तन क्यान्सरको जोखिमलाई कम गर्नकालागि सामान्य खालको स्क्रिनिङ गर्नुपर्ने हुन्छ । शल्यक्रिया गरेर पनि जोखिमलाई कम गर्न सकिन्छ ।
पाठेघरको क्यान्सर भने स्क्रिनिङ मात्रै गरेर थाहा पाउन सकिदैंन । सुरुकै अवस्थामा पाठेघरको क्यान्सर भएको थाहा पाउन सकेमा अण्डकोष काटेर फालेर पनि त्यसको जोखिम कम गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा क्यान्सर जोखिम घटाउनलागी नै जेनेटिक काउन्सिलिङ दिने गरिन्छ ।
सबै व्यक्तिहरुमा क्यान्सरको जोखिम उत्तिनै रहन्छ । करिब ५ देखी १० प्रतिशत क्यान्सर मात्रै वंशाणुगत कारणले हुने गर्छ । यदि कुनै पनि व्यक्तिमा वंशाणुगत कारणले क्यान्सर भएको थाहा पाउन सकिएको अवस्थामा अन्य क्यान्सर हुने जोखिमलाई कम गर्न सकिन्छ । स्क्रिनिङ, हर्मोन थेरापी तथा विभिन्न प्रकारका उपचारका माध्यमबाट अन्य क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ । बिरामीहरुमा क्यान्सर हुने जोखिमको वर्गीकरण पश्चात् मात्रै जेनेटिक काउन्सिलिङ गर्ने गरिन्छ । जेनेटिङ काउन्सिलिङलाई पनि प्रि टेष्ट , तथा पोष्ट टेष्ट गरी वर्गीकरण गरिएको छ । प्रि टेष्टमा बढी जोखिम भएका बिरामीहरुको परीक्षण हुन्छ ।