ठूलो मान्छेहरु जस्तै बच्चाहरुलाई पनि सन्तुलित भोजनको आवश्यकता पर्छ । बच्चाको उमेर अनुसार कस्तो खाना खुवाउने भन्ने कुरा निर्धारण हुन्छ । भर्खरै जन्मिएको बच्चाको लागि आमाको दूधले नै सम्पूर्ण पोषक तत्वको परिपूर्ति गरिरहेको हुन्छ । धेरै आमाहरुको जिज्ञासा बच्चालाई कति समयपछि पानी खुवाउने भन्ने रहेको हुन्छ ।
बच्चालाई जन्मिएको ६ महिनासम्म पानी खुवाउनु आवश्यक हुँदैंन । आमाको दूधमा नै बच्चालाई आवश्यक पानीको मात्रा हुने भएकोले बच्चालाई जन्मिएको ६ महिनासम्म छुट्टै पानी खुवाउनु आवश्यक पर्दैन । बच्चालाई ६ महिना अगाडि नै पानी खुवाउँदा त्यसले हानी समेत गर्न सक्छ । भर्खरै जन्मिएको बच्चाको मृगौला एकदमै अपरिपक्व हुने भएकोले ६ महिना नपुगेका बच्चाहरुलाई पानी खुवाउँदा त्यसले हानी गर्ने गर्छ ।
पानीको साथ साथै सुगर भएका कुराहरु पनि यो उमेरका बच्चालाई दिनु हुँदैंन । बच्चाहरु ६ महिना पुगेपछि उनीहरुलाई नरम प्रकारका विभिन्न खानेकुराहरु दिन सकिन्छ ।जन्मेको ६ महिनापछि बच्चालाई आमाको दूधको साथ साथै अन्य खानेकुरा समेत बच्चालाई खुवाउन सकिन्छ ।
बच्चाको उमेर १ वर्ष पुग्दा सम्म धेरे जसो घरमा पाकेका खानेकुराहरु उनीहरुलाई खुवाउनुपर्ने हुन्छ । १ वर्ष पुगेपछि बच्चाहरुको खानेकुरामा मासु, सागसब्जी, अन्डा लगायतका खानेकुराहरु समेत समावेश गर्न सकिन्छ ।
१ वर्षसम्म बच्चाहरुलाई दिनको ४ पटकसम्म विभिन्न प्रकारका अन्न भएका खानेकुराहरु दिनुपर्ने हुन्छ ।
१ वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई मह खुवाउँनु हुँदैंन । महमा हुने सबै प्रकारको तत्व बच्चाको शरीरले लिन नसक्ने भएकोले मह खुवाउनु राम्रो मानिदैंन ।
त्यस्तै एक वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई चिनी, नुन समेत नखुवाउनु राम्रो मानिन्छ ।
गाई भैसींको दूध बच्चालाई १ वर्षपछि मात्रै खुवाउँदा राम्रो हुन्छ ।
बच्चाहरुलाई सन्तुलित खाना दिनुका साथ साथै अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनुपर्ने हुन्छ । बच्चालाई सक्रिय जीवनशैली जिउनका लागि प्रेरित गर्नुपर्ने हुन्छ । एकै ठाउँमा बसिरहने, मोबाइल हेर्ने जस्ता कुराहरुमा बच्चालाई प्रोत्साहन गर्नुहुँदैंन ।