पोलिसिस्टिक ओभरियन सिन्ड्रोम डिम्बासयमा स सानो दश भन्दा बढीको संख्यामा पानीको फोकाहरु देखिने अवस्था हो । यससँगै बिरामीमा अन्य लक्षणहरु पनि देखा पर्न सक्छ । जस्तै महिनावारीमा अनियमिता, कसै कसैमा अस्भाविक रुपमा शरीरको तौल बढ्नु, बाँझोपनाको समस्या देखा पर्नु, महिलाहरुमा पुरुषको जस्तो अनावश्यक रौंहरु आउनु,शरीरमा इन्सुलिनको मात्रा बढ्दै गई सुगरको समस्या समेत देखा पर्ने भएकोले यसलाई ग्रुप अफ सिम्टम्स पनि भनिन्छ ।
महिलाहरु केही न केही मात्रामा पुरुष हर्मोन रहेको हुन्छ । पोलिसिस्टिक ओभरियन सिन्ड्रोम भएका महिलाहरुमा पुरुषमा हुने हर्मोनको मात्रा अत्याधिक रुपमा बढ्ने गर्छ । यस्तो सिन्ड्रोमको समस्या भएका महिलाहरुमा महिला हर्मोनको उत्पादन एकदमै कम मात्रामा हुने गर्छ । पोलिसिस्टिक ओभरिन सिन्ड्रोम एक प्रकारको हर्मोनल असन्तुलनको अवस्था हो । यस्तो समस्या प्राय वयस्क महिलाहरुमा देखा पर्छ ।
यस प्रकारको रोगमा बिरामीहरुमा सुरुमा धेरै प्रकारको समस्या देखिने गर्छ । यो एउटा रोग नभई लक्षण हो । हामी कहाँ बिरामीहरु विभिन्न समस्या लिएर आइपुग्ने गर्छन् । महिनावारीमा गडबडी भएको अवस्थामा बिरामीहरु हामी कहाँ आइपुग्ने गर्छन् । त्यस्तै बच्चा नबस्ने, केही महिलाहरुमा अनावश्यक रौंहरु बढी आउने, मोटोपना अत्याधिक बढ्ने, जस्ता समस्याहरु लिएर बिरामी उपचारका लागि आइपुग्ने गर्छन् । कतिपय महिलाहरु भने नियमित परीक्षणका लागि अस्पताल आइपुग्दा पनि यस्तो समस्या देखा पर्न सक्छ ।
किन देखिन्छ यस्तो समस्या
महिलाको शरीरमा हर्मोनल असन्तुलन हुँदा यस्तो समस्या देखा पर्ने गर्छ । यसको मुख्य कारण नै हर्मोनमा हुने असन्तुलन हो ।
पोलिसिस्टिक ओभरियन सिन्ड्रोमका कारण देखिन्छन् यस्ता स्वास्थ्य समस्या
यो एकदमै जोखिमयुक्त सिन्ड्रोम हो । यस्तो सिन्ड्रोमलाई एउटा मात्रै रोग भन्न मिल्दैंन । चिकित्सक कहाँ उपचारका लागि आइपुगेका बिरामीहरु पनि एकै खालको लक्षण लिएर आउँदैंन । अनियमित महिनावारी र बच्चा नबस्ने समस्या लिएर बढी बिरामीहरु हामी कहाँ आइपुग्छन् । बिरामीमा देखिएको लक्षणको आधारमा यस समस्याको उपचार गरिन्छ । बिहे भएको लामो समयसम्म पनि बच्चा नबसेको समस्या लिएर कतिपय बिरामीहरु उपचारका लागि आइपुग्ने गर्छन् । विभिन्न परीक्षण पश्चात् उनीहरुमा पोलिसिस्टिक सिन्ड्रोम भएको पत्ता लाग्छ । यस्तो पत्ता लागिसकेपछि बिरामीको अन्य लक्षणहरुका बारेका अध्ययन गरिन्छ ।
कतिपय लक्षणहरु यस सिन्ड्रोम भित्र पर्छन् भने कतिपय पर्दैनन् । महिनावारीमा अनियमितताको समस्या लिएर आएका बिरामीहरुलाई त्यही अनुसारको हर्मोनहरु दिएर उपचार गरिन्छ । यदि अनियमित महिनावारीका कारण बच्चा बस्न ग्राहो भएको अवस्थामा कसरी बच्चा बसाउने भन्नेमा उपचार केन्द्रित हुन्छ । यस्तो समस्या भएका कतिपय महिलाहरुमा हर्मोनल परिवर्तनका कारण पुरुषको जस्तै अनावश्यक रौंहरु आउने गर्छन् । मोटोपनाको समस्या भएका बिरामीहरुलाई तौल घटाउनका लागि हाम्रो उपचार केन्द्रित रहन्छ । मोटोपनाका कारण महिलाको शरीरमा इन्सुलिनको मात्रा बढ्न जान्छ । जसकारण डायबिटिजको सम्भावना पनि बढ्दै जान्छ ।
कसरी गर्ने उपचार
यस प्रकारको समस्याको मुख्य उपचार भनेको नै जीवनशैलीमा परिवर्तन नै हो । जसअन्तर्गत सन्तुलित भोजनको सेवन, नियमित व्यायाम, तथा लक्षण अनुसारको उपचार पर्छ । यस प्रकारको समस्याको लागि शल्यक्रियाको आवश्यकता पर्दैन । नियमित रुपमा औषधि सेवनपश्चात् यो रोग निको हुन्छ । यसको मुख्य उपचार प्रक्रिया भनेको हर्मोनहरु दिनु नै हो । समस्याको पूर्णरुपमा हल नहुँदासम्म उपचारको आवश्यकता पर्छ । बाँझोपनाको समस्यामा बच्चा नबसेसम्म यसको उपचार गरिरहनुपर्ने हुन्छ । अनियमित महिनावारीमा पनि यस प्रकारको समस्या हल नभएसम्म यसको उपचार गरिरहनुपर्ने हुन्छ