काठमाडौं । नेपाल दक्षिण एसियाकै अफगानिस्तान पछिको उच्च मातृ मृत्युदर भएको दोस्रो मुलुकमा पर्ने सर्वेक्षणले देखाएको छ ।
अनुसन्धानहरुले मिडवाइफहरुले सुरक्षित मातृत्व क्षेत्रमा मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा प्रबर्धन,सम्बर्धन र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएर तथा नवजात शिशुको मृत्यु दर घटाउन ठूलो भूमिका खेल्न सक्ने पुष्टि गरिसकेका छन् ।
सन् २०२१ को विश्वव्यापी अनुसन्धानको प्रतिवेदन अनुसार मिडवाइफ्री शिक्षा र सेवामा लगानी गरेमा मिडवाइफहरुबाट दुई तिहाई मातृ तथा नवजात शिशु र गर्भमा मृत्यु हुने शिशुको जीवन रक्षा गरी विश्वमा वार्षिक ४३ लाख जीवन रक्षा गर्न सकिने तथ्य फेला परेको छ ।
त्यस्तै सन् २०१४ को विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार मिडवाइफ्री शिक्षा र सेवामा लगानी गरी समुदायमा आधारित सेवाको लागि परिचालन गरेमा लगानीको सोह्र गुणा प्रतिफल प्राप्त गर्न सकिने र प्राथमिक स्वास्थ्य सेवाको लागि उत्कृष्ट हुने उल्लेख गरेको पाइन्छ ।
विश्वमा अझै पनि आवश्यक मिडवाइफ मध्ये एक तिहाईको अभाव रहेको मिडवाइफ्री सोसाइटी अफ नेपालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७७/७८ देखी २०८७ /८८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्ममा ४,१८० र सन् २०३० भित्रमा ६,४१० गरी जम्मा १०,५९० मिडवाइफ्री व्यवसायीहरु आवश्यक पर्ने अनुमान गरिएको छ ।
नेपालमा सन् २०१६ बाट मिडवाइफ्री शिक्षा शुरु भइसकेको छ । हाल ५ वटा शिक्षण संस्थाहरुमा कूल १८८ जना स्नातक तहका विद्यार्थीहरु मिडवाइफ्री विषयमा अध्ययनरत्त छन् भने आगामी ज्येष्ठ मसान्तबाट त्रिभुवन विश्व विद्यालयमा पनि यसको अध्यापन शुरु हुने भएको छ ।