काठमाडौं । बिहानको ५ बज्दा नबज्दै पशु अस्पताल हुम्लाका डाक्टर भीम तिमिल्सिना उठिसक्छन् । हिजो हुम्लाका पशु अस्पतालमा उपचार गर्न नपाइएका र उपचार गर्न ल्याएका पशुवस्तुको फलोअपको लागि उनी कुन गाउँ जानुपर्ने हो, हिजो बेलुका नै समयतालिका बनाइसक्छन् ।
हुम्लामा हाल पशुवस्तुको निक्कै बिरामीको संख्या बढ्दो छ । रोगी पशुवस्तुको उपचारका लागि कुनै बिहान सिमकोटको तल्लो गाउँ त कहिले माथिल्लो गाउँ थर्मोमिटर, आवश्यक पर्ने औषधि र चेकजाँचका सामानसहित खटिने गरेका छन् ।
एकाबिहानै एक घण्टा पैदल टाढा रहेको बुराउँसे गाउँमा रहेका चौँरी, जुमा लगायतका पशुवस्तु उपचार गरेर सिमकोट फर्कंदा बिहानको ७ मात्र बजेको हुन्छ । चियाको चुस्की कार्यालयमा नै आएर लिने गरेका छन् । पशु सेवा अस्पतालमा हरेक दिन ३० देखि ४० का पशुवस्तु बिहान, बेलुका कार्यालय समय र समयभन्दा अघिपछि ल्याउने किसानको संख्या बढ्दो रहेको छ । पाँच घण्टा टाढा स्याँडा गाउँका खच्चर व्यवसायी हुन् वा अन्य कार्यालयमा सेवा लिनका लागि आइपुगिसकेका हुन्छन् । ती सेवाग्राहीलाई सेवा दिनका लागि कुनै ढिलो नगरी पशु सेवा अस्पतालका डाक्टर भीम तिमिल्सिना कहिल्यै नाई नभनी दत्तचित्त लागिरहेका छन् ।
गएका वर्षमा कार्यालयमा उचित औषधि पनि नहुने र दक्ष स्वास्थ्यकर्मी नहुँदा किसानले उपचारको अभाव भोग्दै आएका थिए । स्थानीय तहका पशु सेवा शाखाले हरेक आर्थिक वर्षमा उचित बजेट नछुट्याउँदा औषधि खरिद र सेवा प्रवाहमा यथोचित व्यवस्था नगर्दा पशु सेवा कार्यालयमा भिड बढ्ने गरेको कार्यालय प्रमुख कृष्ण रोकायाले बताए । आफूसँग प्रदेश सरकारले औषधि खरिदका लागि एक लाख पनि हम्मे वार्षिक बजेटको व्यवस्था गर्नाले पनि थप समस्या हुने गरेको छ । किसानहरू उपचारका लागि पहिले गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नुभन्दा हाल दक्ष डाक्टरको सेवा पाउँदा पशु अस्पतालमा नै आउने गरेको भेटिएको छ ।
सिमकोट गाउँपालिका–६ का किसान टेक ब। रावत बिहानै ९ बजे जोत्ने झोपा बिरामी हुँदा कार्यालयमा ल्याउँदा डाक्टरले कार्यालय समय नै नभनी सेवा दिइएको उदाहरण त एक मात्र हो, हरेक दिन बिहान, बेलुका, साँझ कुनै समय पनि सेवा प्रवाह गर्नका लागि रहेको डाक्टर तिमिल्सिनाले बताए । आफू प्राविधिक भएको भएता पनि कार्यालयको अन्य काममा व्यस्त रहनुपर्ने भएकोले हाल डाक्टर अस्पतालमा भएदेखि आफूलाई सेवा प्रवाहको लागि सहज भएको कार्यालय प्रमुख कृष्ण रोकायाले बताए । पशुवस्तुको उपचारको लागि स्थानीय तहले बजेट र जनशक्तिको व्यवस्थापन गर्न नसक्दा हुम्लाका पशु किसानलाई समस्या हुँदै आएको छ । गएको वर्षमा किसानले करिब एक करोडभन्दा बढी उपचार नै नपाएर नोक्सान बेहोर्नुपरेको स्थानीयको भनाइ रहेको छ ।
हुम्लामा हाल नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकामा चौँरीपालन अन्य गाउँपालिकामा जुमा, झोपा, भेडा बाख्राको पालनले गर्दा राम्रो आम्दानी लिने गरेका छन् । आम्दानीको लागि दक्ष प्राविधिकको अभावले हाल पशु किसानले पशु व्यवसाय फष्टाउन नसकेको बेला पशु अस्पतालले गरेको सेवा प्रवाहको हाल चौतर्फी बयान भइरहेको छ । गएको वर्ष रेबिजको खोप लगाउन नआउने किसानले पनि कुकुरलाई रेबिज खोप दिन ल्याउने गरेको पाइएको छ ।
खरायो, कुखुरा घरमा पालेका सबै प्रजातिका उपचारको लागि हाल सहज वातावरण पशु अस्पताले दिँदै आएको छ । बेला बेला जिल्लाको विभिन्न ठाउँमा पशु शिविरको सञ्चालनसमेत पशु अस्पतालले सञ्चालन गर्ने गरेको छ । बर्सेनि लाखौँको आम्दानी गर्ने हुम्लाका पशु किसानको लागि थप साधन स्रोतको व्यवस्था गर्नको सकेको खण्डमा अझ सेवा प्रभावकारी हुने किसानको भनाइ रहेको छ ।