कोरोनाभाइरस महामारीबीच हाल नेपालमा उपलब्ध रहेका अक्सिजन सिलिन्डरको तुलनामा तेब्बरभन्दा बढ्ता माग भइरहेको अधिकारी एवं व्यवसायीले बताएका छन्।
काठमाण्डू उपत्यकामा ६ हजार सिलिन्डर दैनिक रूपमा व्यावसायिक उद्योगहरूले उत्पादन गर्ने गरेका छन् भने २,५०० हाराहारीमा अस्पतालहरूले सिलिन्डर तयार पार्छन्।
बाँकी दश हजार हाराहारीमा काठमाण्डू उपत्यकाबाहिर अक्सिजन उत्पादन हुने गरेको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, “अहिले नियमित आपूर्तिमा दैनिक ३५ देखि ४० हजार सिलिन्डर आवश्यक पर्ने सरकारी अनुमान छ।”
व्यवसायीहरूले भने अहिलेको माग दैनिक ५० हजार सिलिन्डरसम्म पुगेको बताएका छन्।
के गरिएको छ?
यसबीचमा नेपालले चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी गरेको जनाएको थियो।
जसअन्तर्गत २ हजार चीन सरकारले अनुदानमा दिने र १८ हजार किनेर ल्याइने बताइएको थियो।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अहिलेसम्म चीनबाट दुई पटकमा गरेर आठ सय सिलिन्डर हवाई उडानमार्फत् आएका छन्।
त्यसैगरी खाडी क्षेत्रमा काम गर्ने नेपालीहरूको सहयोगमा ओमानबाट ५५५ सिलिन्डर नेपाल आइपुगेको बताइएको छ।
सहप्रवक्ता डा. अधिकारी भन्छन्, “चीनबाट सुरुमा चार सय सिलिन्डर खाली आएका थिए। तर सरकारले अब जहाँबाट पठाए पनि अक्सिजन भरिएकै पठाउन भनेको छ। त्यसले नेपालमा चाप बेहोरिरहेको मागलाई केही सहज बनाउँछ।”
नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायण तिमिल्सिना खाली सिलिन्डरहरूको जोहो गर्ने काम भारतमा महामारी सुरु हुँदादेखि नै गर्न सकिएको भए अहिलेको जस्तो चाप नपर्ने ठान्छन्।
उनी भन्छन्, “अहिले सिलिन्डर भयो भन्दैमा जति पनि भर्न सकिने भन्ने हुँदैन। भारतमा अवस्था बिग्रन लागेका बेला नै हामीले थप सिलिन्डरहरू भरेर राख्न सक्नुपर्थ्यो।”
बढ्दो चाप
अक्सिजनका लागि बढिरहेको हाहाकारबीच आइतवारको नियमित प्रेस ब्रीफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिरामीका आफन्तलाई अक्सिजन खोज्न नभन्न आग्रह गरिएको बताएका थिए।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बीबीसीलाई भने, “त्यसले हाम्रो स्वास्थ्य प्रणालीमै त्रास र भय देखिन थालेपछि हामीले त्यस्तो आग्रह गरेका हौँ।”
नेपालमा विगत केही दिनमा सङ्क्रमण पुष्टि हुने सङ्ख्या केही कम भइरहेको देखिए पनि अक्सिजनका लागि चाप कम भएको अवस्थाका त्यसलाई बुझ्न नहुने अधिकारीहरू बताउँछन्।
डा. अधिकारी थप्छन्, “उद्योगहरूबाट जति सिलिन्डर भरिएर गएका छन् ती त्यही सङ्ख्यामा नफर्कँदा समेत समस्या थप जटिल बनेको हो।”
नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिवले ग्यास उद्योगअघि सोझै बिरामीका आफन्तहरू आएर अक्सिजनका लागि हाहाकार गर्न थालेपछि आफूहरूका आपूर्ति चक्र पनि बिथोलिएको बताउँछन्।
तिमिल्सिना भन्छन्, “कसलाई अत्यावश्यक भन्ने ठम्याउन नसकी भद्रगोल तरिकाले वितरण गर्नुपर्यो।”
उत्पादन अवस्था
नेपालमा अहिले सरकारी र निजी गरेर ३२ वटा अस्पतालका मात्र आफ्ना अक्सिजन प्लान्ट छन्। चारवटा अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क छन्।
डा. समिरकुमार अधिकारी भन्छन्, “ती अस्पतालहरूका क्षमता नै पनि अहिलेको उच्च मागलाई थेग्न सक्ने नभएकाले सिलिन्डर अक्सिजनतर्फ चाप बढेको हो।”
चाप बढेपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले दैनिक कोटा छुट्ट्याएर अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन थालेपछि झन् अस्तव्यतता बढेको अस्पतालहरूले जनाएका छन्।
नेपालमा चीनबाट व्यावसायीहरूले किनेका केही हजार सिलिन्डर आउने क्रममा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
सङ्घका महासचिव तिमिल्सिना भन्छन्, “अहिले हामीसँग दैनिक ४० देखि ५० हजार अक्सिजन सिलिन्डरको माग छ जबकि देशभरि दैनिक अधिकतम १७ देखि १८ हजार सिलिन्डर उत्पादन हुन्छ।”
बिबिसी