एडीएचडी बालबालिकामा देखिने एक प्रकारको रोग हो । जसलाई एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर भन्ने गरिन्छ । यो बालबालिकामा देखिने आचरण सम्बन्धि रोग हो । प्राय विद्यालय जाने उमेर समूहका बालबालिकामा देखिने यो रोगमा बच्चाको ध्यान एकीकृत गर्न सकिदैंन ।
यस प्रकारको रोग भएका बालबालिकाहरुले पढाइमा खासै सफलता पाउन सक्दैनन् । बच्चाहरु धेरै रिसाहा र झोक्किने खालका हुन्छन् । बच्चाहरुले आफैंलाई नियन्त्रण गर्न नसक्नु यस रोगको प्रमुख समस्या हो । यस्ता समस्या भएका बच्चाहरु कक्षाकोठामा नबसी बिना प्रयोजन यताउती डुल्ने गर्छन् । तथ्यांकअनुसार विद्यालय जाने उमेर समूहका ८ देखी ९ बच्चाहरुमा यस प्रकारको रोग बढी देखिन्छ । सामान्यतया यो रोग लागेपछि १२ वर्ष भन्दा अगाडि नै रोगका लक्षणहरु देखिने गर्छन् ।
बच्चाहरुमा कस्तो लक्षण देखिन्छन्
एक ठाउँमा बस्न नसक्ने, अरुलाई चलाइ राख्ने, पढाइमा ध्यान दिन नसक्नेजस्ता समस्या यो रोगमा देखिन्छ।धेरै चकचक गर्ने, सामान हराउने तथा तोडफोड गर्ने कुनै कुरामा ध्यान दिन नसक्ने भयो भने उक्त बच्चालाई एडीएचडी समस्या भएको अनुमान गर्न सकिन्छ । यस रोग लागिसकेपछि बच्चाहरुमा आत्म नियन्त्रणको कमी हुने गर्छ ।
रोगका कारण
यस रोगको यकिन कारणहरु अहिलेसम्म पत्ता लागेको छैन । यद्यपि गर्भावस्थामा बढी धुम्रपान तथा मद्ययपान गर्ने आमाहरुबाट जन्मेका बच्चाहरु यस प्रकारको रोग देखा पर्न सक्ने अनुमान गरिएको छ । यदि जोखिमर्पूर्ण डेलिभरी भएको अवस्थामा, डेलिभरीका लागि लामो समय लाग्ने तथा जन्मेपछि नरुने बच्चाहरुमा यस प्रकारको रोगको जोखिम रहन्छ ।
पछिल्लो समय बजारमा पाइने विभिन्न प्रकारका कृत्रिम रुपमा रंगरोगन गरिएका खानेकुराहरुको प्रयोगले यस रोगको जोखिम बढेको छ । यस्ता खानेकुराहरुको बढी प्रयोगले बच्चाको मस्तिष्कले राम्रोसँग काम गर्न नसक्दा बच्चामा यस प्रकारको रोग लाग्ने गर्छ । वंशाणुगत कारणले पनि यो रोग लाग्ने सम्भावना रहन्छ । वंशाणुगत केही कारणले पनि यस रोग लाग्न सक्छ ।
बाल्यवस्थामा देखिएका कतिपय रोगहरु पछिसम्म पनि देखिन सक्छन् । करिब ६० देखी ८० प्रतिशत बालबालिकाहरुमा यो रोग वयस्क हुँदा पनि देखा पर्ने गर्छ । ठूलो हुँदै जाँदा चकचक गर्नमा कमी आएपनि आचरण सम्बन्धि समस्याहरु भने पछिसम्म देखा पर्ने गर्छ ।
उपचार के
यसको उपचार प्रक्रियाको कुरा गर्नुपर्दो आचरण सम्बन्धि थेरापी नै हो । बालबालिकामा रहेका यस रोगसँग मिल्दाजुल्दा समस्याहरुको पहिचान गरेपछि चिकित्सकको सल्लाह बमोजिम उपचार प्रक्रियामा जानुपर्ने हुन्छ ।
बालबालिकामा रहेका सामान्य खालको समस्या जस्तै साथीभाईसँग नमिल्ने समयमा गृहकार्य नगर्ने जस्ता समस्याहरुलाई भने अभिभावकले बारम्बार सम्झाईबुझाई गरेको अवस्थामा सुधार ल्याउन सकिन्छ । विद्यालयमा समेत बच्चाहरुलाई गाइड गर्नका लागि हामीले गाइडलाइन दिन सक्छौं । राम्रो काम लागि बच्चाहरुलाई प्रोत्साहन गरेको अवस्थामा बालबालिकाको आचरणको सुधार ल्याउन सकिन्छ ।
आचरण सम्बन्धि थेरापीको अतिरिक्त उपचार प्रक्रियामा विभिन्न प्रकारका औषधिहरुको समेत प्रयोग गर्न सकिन्छ । औषधि मिलाएर चलाउन सकेको अवस्थामा बालबालिकामा रहेको यस समस्यामा सुधार ल्याउन सकिन्छ ।
जबसम्म दिमागको ध्यान दिने र शान्त बनाएर राख्ने भागको विकास हुँदैन, तबसम्म यो समस्या रहिरहन्छ। १७र१८ वर्षको उमेरसम्म यो रोगको उपचार गरिराख्नु पर्छ ।एडीएचडी उपचारबाट भन्दा पनि वातावरण सहज बनाइदियो भने निको हुन सक्छ। यदि यो सबै गर्दा पनि निको भएन भने अस्पताल लैजानुपर्छ ।