काठमाडौं - सुत्केरी आमालाई श्रीमान् र परिवारको समर्थन र सहयोगको अवश्यकता पर्दछ । नवजात शिशुलाई स्तनपान गराउनुको लागि घरमा उचित वातावरण सुनिश्चित गर्नु पर्दछ। सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरमकपडा वा पूरानो सफा कपडाको व्यवस्था गर्नुपर्दछ ।
सुत्केरी आमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउन दिनको लागि पर्याप्त आराम आवश्यक हुन्छ । त्यसैगरी शिशुको नाइटो निको हुन, झर्न र संक्रमणबाट सुरक्षित गर्न आराम गर्ने समय दिनुपर्दछ ।
नवजात शिशुलाई बाहिरी तापक्रम, वातावरण र खाना आदि समायोजन गर्नका लागि परिवारले उचित वातावरण मिलाउनु पर्दछ ।
सुत्केरी आमालाई बेला–बेलामा पौष्टिक खाना तथा मनतातो झोल खुवाउनुपर्छ । सुत्केरी आमालाई साविक भन्दा बढी खाना खान दिनुपर्दछ । पौष्टिक खानाले सुत्केरीको शरीर मर्मत र तन्दुरुस्त बनाउँछ । यसकोसाथै पौष्टिक खानाको प्रभावले शिशुलाई आवश्यक दुध निर्माण हुन्छ ।
सुत्केरी आमालाई हर्मोन तथा संवेगात्मक सन्तुलन गर्न परिवारको सहयोग र समय चाहिन्छ । पहिलो बच्चा जन्मेपछि जन्मान्तरको उपाय गर्नु पर्दछ । यसले आमाको स्वास्थ्यमा र शिशुको स्याहारमा सहयोग पुग्दछ ।
सुत्केरी आमामा यस्ता खतराका लक्षण देखापरेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्छ
ज्वरो आएमा
योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट (पाठेघर) दुखेमा
धेरै रगत बगेमा (२ वटा भन्दा बढी टालो पूरै भिजेमा वा चोक्टा चोक्टा रगत बगेमा)
टाउको साह्रै दुखेमा
हातखुट्टा अररो भइ मुर्च्छा परेमा
(युनिसेफले तयार पारेको लेख साभार)