‘स्तनपान गराउँदा आमाको शरीरको आकार बिग्रन्छ ? ’ धेरै महिलाको मनमा उब्जिने प्रश्न हो । शहरमा बसोबास गर्दै आएका आमाहरु यहि सोचका कारण बच्चालाई राम्रोसँग स्तनपान पनि गराउँदैनन् । ग्रामिण क्षेत्रमा सहि तरिकारले स्तनपान गराउँन जान्दैनन् भने शहरका आमाहरु शरीर बिग्रन्छ, स्तनको आकार बढ्छ जस्ता भ्रमले राम्रोसँग स्तनपान गराउदैनन् ।
यस्ता भ्रमका कारण बच्चाहरुले राम्रोसँग आमाको दुध खान पाउँदैनन् र कुपोषणको शिकार बन्न पुग्छन् । शहरमा त झन बच्चा जन्मेको केही महिनाबाटै बजारमा पाउने कृक्रिम दुध खुवाउन थाल्छन् । जबकी बच्चा जन्मिएको ६ महिनासम्म आमाको दुध बाहेक केही पनि खुवाउनु हुँदैन् ।
नेपालमा स्तनपान गराउने महिलाको प्रतिशत पछिल्लो समयमा घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने ६ महिनासम्म आमाको दुध मात्र खाएका शिशुहरुको संख्या ४१ प्रतिशत मात्र छ । जबकी सन् २०११ मा ६ महिनामुनीका बालबालिकामा स्तनपानको संख्या ७० प्रतिशत थियो । सन् २०१६ मा घटेर ६६ प्रतिशतमा झरेको थियो ।
नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष ८ लाख २३ हजार बालबालिकाको जीवन जोगाउन सकिने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ ।
स्तनपान गराउने आमाको संख्या केही वर्षयता महिलाहरू घरभित्रको कामकाजमा मात्र सीमित नभई रोजगारीका लागि घरबाहिर निस्कन थालेका कारण यो संख्यामा कमी आउन थालेको हो । शिशुलाई स्तनपान गराउँदा सौन्दर्यमा कमी आउँछ भन्ने आमाहरुको धारणाले पनि यस्तो समस्या निम्तिने गरेको चिकित्सकहरु बताउँछन् ।
आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको आधार नै हो । यसले बच्चा र आमा दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनुपर्ने हुन्छ ।
आमाको दुधले झाडापखाला, श्वाप्रश्वास लगायतका विभिन्न रोगको संक्रमणबाट बचाउनका साथै स्तनपानबाट जीवनको पछिको चरणहरुमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुने गर्छ ।
आमाको स्वास्थ्य बिग्रिने र स्तनको आकार ठूलो हुन्छ भन्ने भ्रममा नपर्न आमाहरुलाई सुझाव छ ।
स्तनपानको महत्व :
१। आमाको दूधमा कार्बोहाइड्रेड, प्रोटिन र मिनरल पाइने हुँदा बच्चालाई चाहिने सम्पूर्ण पोषणतत्व परिपूर्ति गर्छ ।
२। बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
३। बच्चालाई संक्रमण हुनबाट जोगाउँछ ।
४। आमा र शिशुबीच आत्मीयता बढाउँछ ।
५। आमाको दूध शिशुले सजिलै पचाउन सक्छ ।
६। आमाको पाठेघर खुम्चिन सहयोग पुग्छ । स्तनपान गर्दा शरीरमा आउने अक्सिटाइसिन नामक हर्मोनले आमाको शरीर पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ ।
७। आमाको स्तन र पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।
८। बाहिरको दूध (ल्याक्टोजिन) किनेर खुवाउनु नपर्दा खर्च जोगिन्छ ।
९। स्तनपान गराउँदा बच्चाको शारीरिक र मानसिक विकासमा टेवा पुग्छ । आमाको दूध नै बच्चाको लागि सर्वोपरी हुन्छ । त्यसैले स्तनपानलाई ‘गोल्ड स्ट्यान्डर्ड’ पनि भनिन्छ ।
स्तनपान गराउने आमाले के गर्ने ?
१। सुत्केरी हुनपूर्व नै बच्चालाई स्तनपान कसरी गराउने भन्नेबारे आमाले जानकारी लिने । ताकि बच्चा जन्मी सकेपछि स्तनपानमा समस्या नहोस् ।
२। शिशु जम्मिएको एक घण्टाभित्र नै स्तनपान गराउने ।
३। प्रत्येक दुई घण्टामा बच्चालाई स्तनपान गराउने ।
४। प्रत्येक पटक स्तनपान गराइसकेपछि एक गिलास दूध वा जुस पिउने ।
५। बच्चा बिरामी छ तर खान सक्छ भने निरन्तर स्तनपान गराउने ।
६। शिशुलाई स्तनपान गराउँदा राति पनि उठ्नुपर्ने हुनाले आमाले समय मिलाएर आराम गर्नुपर्छ ।
७। आमाको स्वास्थ्य मजबुत राख्नका लागि सम्पूर्ण पोषण तत्व पुग्ने गरी खानेकुरा खाने ।
८। स्तनमा संक्रमणका कारण आमाले औषधि प्रयोग गरेको अवस्थामा पनि स्तनपान नगराउने ।