सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताएका छन् ।
मेलम्चीमा बिहीबार सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन सघाउने बताए । उनले सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहनुभएका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गरेकामा आभार प्रकट गरे । मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफु लागिपरेको बताए ।
मेलम्चीमा सम्पन जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ्ग स्टार क्लब मेलम्ची ९ ले हात पारेको छ । फाइनलमा मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ्ग स्टारले उपाधि जित्यो । मेलम्ची ९ ले दुवाचौरलाई २५–२०, २५–१८, २०–२५ र २५–१६ ले पराजित गरेको हो ।
उपाधिसँगै मेलम्ची ९ ले २ लाख नगद हात पारेको छ भने मेलम्ची ७ दुवाचौरले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै बनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सृजनशील युवा क्लब दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै बनकाली तेस्रो भएको हो । उसले ७५ हजार रुपैयाँ नगद पाएको छ । खेलाडीहरूलाई नगद, ट्रफी प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
मेलम्ची युवा क्लबको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा २५ गतेबाट सुरु भएको प्रतियोगितामा अनुशासित टिम मेलम्ची २ घोषित भयो । बेस्ट डिफेन्डर सुसान गिरि, बेस्ट सर्भर मेलम्ची ७ का खेलाडी संगम तामाङ, बेस्ट सेटर सिन्धु योङ स्टारका राम गिरि, उत्कृष्ट नवोदितमा मेलम्ची ७ का सुरेश तामाङ , वेस्ट ब्लकरमा सिन्धु योङ स्टारका सुरज खड्का, उत्कृष्ट स्पाइकर मेलम्ची ७ का रोशन तामाङ र प्रतियोगिताको उत्कृष्ट खेलाडीमा सिन्धु योङ स्टारका रमेश खतिवडा घोषित भएका छन् ।
प्रतियोगितामा पूर्व खेलाडी, पत्रकार, सुरक्षाकर्मी लगायतलाई पनि सम्मान गरिएको क्लबका अध्यक्ष महावीर श्रेष्ठले जानकारी दिए ।