मानिसहरुलाई सामान्यतया अन्य अवस्थामा पनि रक्तचाप बढिरहेको छ । गर्भावस्थामा देखिने रक्तचाप विभिन्न प्रकारको हुने गर्छ।
सामान्य अवस्थामा पनि उच्च रक्तचाप भइरहेका महिलाहरुमा गर्भावस्थामा रक्तचाप बढ्ने गर्छ । पहिलादेखि नै उच्च रक्तचाप भएपनि गर्भावस्थामा मात्रै थाहा भयो भने त्यसलाई मेडिकल भाषामा क्रोनिक हाइपर टेन्सन भन्ने गरिन्छ । यस प्रकारको उच्च रक्तचापको पहिचानमा मात्रै ढिलाई भएको हुन्छ । यस प्रकारको हाइपर टेन्सन गर्भ रहेको २० हप्ता पहिला नै देखा पर्छ।
यदि गर्भवती महिलामा २० हप्तापछि मात्रै उच्च रक्तचाप देखिएको अवस्थामा त्यसलाई गर्भावस्थामा हुने उच्च रक्तचाप भन्न सकिन्छ । यसलाई विभिन्न भागमा विभाजन गर्न सकिन्छ । गर्भावस्थामा हुने उच्च रक्तचापले शरीरका अन्य अंगहरुमा समेत असर गर्न सक्छ ।
किन बढ्छ गर्भवतीमा रक्तचाप ?
गर्भवतीमा उच्च रक्तचाप बढ्नुका विभिन्न कारणहरुमध्ये महिलाको उमेर एक महत्वपूर्ण कारण हुन सक्छ । महिलाको उमेर कम या बढी हुँदा गर्भवती अवस्थामा उच्च रक्तचापको समस्या देखा पर्न सक्छ ।
गर्भवती महिलाको उमेर १९ वर्ष भन्दा कम या ३५ वर्षभन्दा बढी भएको अवस्थामा उच्च रक्तचापको समस्या देखा पर्न सक्छ । त्यस्तै मोटोपना, वंशाणुगत कारण,रक्तनली तथा मृगौला सम्बन्धि रोगहरु,साल राम्रोसँग नबन्नु जस्ता कारणहरुले गर्भवती महिलामा उच्च रक्तचापको समस्या आउने गर्छ ।
गर्भवतीमा उच्च रक्तचापका कारण आउन सक्ने जटिलताहरु ?
गर्भवतीमा महिला हुने उच्च रक्तचापको कुरा गर्नुपर्दा गर्भवती भएको २० सातापछि बढ्ने रक्तचाप भन्ने बुझ्नुपर्छ । यस अवस्थामा बच्चाको शरीरमा राम्रोसँग रक्त सञ्चालन हुनै सक्दैन ।
आवश्यक मात्रामा रक्तसञ्चार हुन नसक्दा समयअनुसार बच्चाको तौल बढ्न सक्दैन, जसकारण बच्चा खेर जाने सम्भावना धेरै रहन्छ । अस्भाविक रुपमा रक्तचाप बढ्दै जाँदा समय नपुगीकन नै बच्चा निकाल्नु पर्ने हुनसक्छ । समय नपुगीकन नै बच्चा निकालेको अवस्थामा बच्चामा बच्चाको फोक्सोको राम्रोसँग विकास भएको हुँदैंन । राम्रोसँग फोक्सोको विकास नभएको बच्चालाई एनआइसियूको आवश्यकता पर्न सक्छ।
शल्यक्रियाद्वारा समय नै नपुगी बच्चा निकाल्नुपर्ने अवस्थामा आएमा बच्चाको मुत्यु समेत हुनसक्ने जोखिम रहन्छ । उच्च रक्तचापका कारण डेलिभरी भन्दा अगाडि नै साल छुटिन सक्ने,रक्तस्राव भइरहने, बच्चा पेटमा नै खेर जान सक्ने अवस्था आउन सक्छ ।
गर्भवतीमा हुने उच्च रक्तचापको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
सामान्य अवस्थामा गर्भवती जुनसुकै अवस्थामा पनि नुनको कमै प्रयोग गरेको स्वस्थकर मानिन्छ । यदि गर्भावस्थामा उच्च रक्तचापको समस्या देखिएको छ भने नुनको सेवन कम गर्नु अत्यावश्यक मानिन्छ ।
शरीरको रक्तचाप १४० बाइ ९० भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचापको अवस्था भन्न सकिन्छ । पटक पटकको परीक्षणमा गर्भवतीको रक्तचाप १४० बाइ ९० भन्दा बढी भएको अवस्थालाई मात्रै उच्च रक्तचाप भएको भनिन्छ ।
पटक पटकको परीक्षणमा पनि उच्च रक्तचाप देखिएको अवस्थामा गर्भमा रहेको बच्चालाई असर नगर्ने खालको औषधिको प्रयोग गरिन्छ । डेलिभरीको मितीभन्दा अगावै शल्यक्रियाद्वारा बच्चा निकाल्नुपर्ने अवस्थामा बच्चालाई एनआइसियु तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्छ ।
गर्भावस्थामा हुने उच्च रक्तचापको जोखिमलाई कसरी कम गर्ने ?
यस अवस्थामा हुने उच्च रक्तचापको जोखिमलाई कम गर्नका लागि बेला बेलामा रक्तचाप नाप्नुपर्ने हुन्छ । मोटोपना बढी भएका महिलाहरुले घटाउनुपर्ने हुन्छ । नुनको मात्रा तथा कोलेस्टोरेल बढाउने खानेकुराहरु चिल्लो पिरोको मात्रालाई कम गर्नुपर्ने हुन्छ ।
पारिवारिक कारण रक्तचाप बढेको अवस्थामा रक्तचापको औषधि नियमित रुपमा नै सेवन गर्नुपर्ने हुन्छ । पहिला देखी नै रक्तचापको समस्या भएका महिलाहरुमा यसको जोखिम बढी हुने भएकोले रगत पातलो बनाउने औषधि खानुपर्ने हुन्छ ।
गर्भावस्थामा रक्तचाप बढ्नु जोखिमपुर्ण अवस्था हो । यदि कसैमा टाउको दुख्ने, रिँगटा लाग्ने,गोडा सुन्निने,जस्ता लक्षणहरु देखा परेको अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाहअनुसार काम गर्नुपर्ने हुन्छ । यस्ता बिरामीहरुमा डेलिभरीको ३ महिनापछिसम्म पनि जटिलताहरु आउन सक्छन् ।