शरीरमा इन्सुलिन हर्मोनको उत्पादनमा कमी आएको अवस्थामा डायबिटिज हुने गर्छ ।
डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या हो । टाइप टुमा इन्सुलिनको कमीका साथै त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने हुन्छ । यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो । यो जीवनशैलीका कारण हुने गर्छ ।
इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यो प्याङ्क्रियाज भन्ने ग्रन्थीबाट उत्पादन हुन्छ । टाइप वानको समस्यामा हर्मोन नै उत्पादन हुँदैन भने टाईप टु मा भने हर्मोन उत्पादन भएपनि त्यसले काम गर्न नसक्ने समस्या देखापर्छ । यी दुवै समस्याले रगतमा सुगरको मात्रा बढ्छ ।
टाईप वान वंशााणुगत हो । कतिपयलाई बाल्यावस्थामा देखा पर्छ । कतिपय किशोर र युवाहरूमा पनि यस्तो समस्या देखिन्छ । कतिपयले भने भाइरस इन्फेक्सनका कारण पनि टाइप वान डायबिटिज देखा पर्ने बताउँछन् । उपचारको दृष्टिकोणबाट हेर्दा टाईप वान कठिन हुन्छ । किनकि बिरामीलाई सामान्य अवस्थामा राख्न नियमित रुपमा इन्सुलिन दिनुपर्ने हुन्छ । यसमा बिरामीलाई इन्सुलिनले नै बचाउने हो ।
दोस्रो प्रकारको डायबिटीज भने मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ । मोटोपन बढ्यो भने डायबिटिज हुने जोखिम उच्च हुन्छ । किनकि इन्सुलिनले सुगरलाई मानिसको शरीरको कोषभित्र पठाउने काम गर्छ । तर मोटो मानिसको शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्न नसक्दा रगतमा सुगरको मात्रा बढ्ने हुन्छ । त्यसैले मोटोपन हुनु डायबिटिजको जोखिम बढाउनु हो।
मधुमेहका लक्षणहरु
विभिन्न अनुसन्धानका अनुसार, ५० प्रतिशत बढीलाई मधुमेह लक्षण विना नै देखिएको छ । त्यसैले स्वस्थ ठानिएका व्यक्तिले ३० वर्ष उमेर कटेपछि नियमित रुपमा सुगर टेष्ट गराउनु बुद्धिमता हुन्छ । यद्यपि जुनसुकै उमेर समूहका मानिसहरुमा डायबिटिज हुन सक्छ । पचास प्रतिशतमा डायबिटिज भएपछि लक्षणहरु देखा पर्छ ।
–बढी थकान महशुस हुने
–पिँडुला दुख्ने
–बढी भोक लाग्ने
–छिटो छिटो पिसाव लाग्ने र तिर्खा लाग्ने
–आलस्य हुने, जाँगर नचल्ने
– वजन घट्दै जाने
– मुख सुख्खा हुने
–वाकवाकी, रिंगटा लाग्ने
–खाना बढी रुच्ने
– हातखुट्टा पोल्ने, सुन्निने, झमझमाउने
–आँखा धमिलो र तिरमिराउने
– यौन दुर्वलता हुने
– पटक–पटक सङ्क्रमण हुने वा घाउ ढिलो निको हुने
मधुमेह रोगीले कस्तो खानेकुरा खाने ?
मधुमेहीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पु¥याउनुपर्छ । मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हो ।
मधुमेहीले स्वास्थ मानिस सरह खान हुने परिकारमा हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरौंला, सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्दछन् । पेय पदार्थमा चिनी तथा घ्यू नभएका (चिया, कफी, सुप)लिन सकिन्छ ।
मधुमेहको उपचार के ?
परिवारमा कसैमा सुगर छ भने परिवारका सदस्यले ३० वर्षको उमेर भएपछि चेकजाँच गर्नुपर्छ । यसलाई प्री डाइबेटिज स्क्रिनिङसमेत भनिन्छ । कसैको आफ्नो वंशमा कसैलाई सुगर छ भने एक पटक ३० वर्ष नपुग्दै स्क्रिनिङ गर्नु राम्रो हुन्छ । दैनिक रूपमा सामान्य व्यायाम गर्नु राम्रो हुन्छ ।
मधुमेहबाट कसरी बँच्ने ?
मधुमेहबाट बच्न विभिन्न उपायहरु अबलम्बन गर्न सकिन्छ । जसलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ ;
– शारीरिक व्यायाम दैनिक ४५ मिनेट र हप्तामा पाँच दिन मजाले हिँड्ने ।
– डाक्टरको सल्लाहमा नियमित औषधिको सेवन गर्ने ।
– समय-समयमा खाना खाने ।
– मैदाबाट बनेका खाना कम गर्ने ।
– शरीरको तौल सामान्य राख्ने ।
– चिनीको मात्रा कम गर्ने ।
–आँप सकभर नखाने