आमाका लागि गर्भावस्था निकै गम्भीर र महत्वपूर्ण अवस्था हो । यस्तोमा उनीहरुले खानपानदेखि लिएर दैनिक व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्छ । गर्भावस्थामा आमाले खानामा मात्रै नभई सुत्दा समेत ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।
गर्भावस्था महिलाको जिन्दगीको सबैभन्दा खुसी र उत्सुकताले भरिएको समय हो । आमाले गर्भमा रहेको सन्तानलाई लिएर थुप्र्र्र्रै रंगीन सपनाको संसार बुनेकी हुन्छिन् । यही सपनाका लागि उनीहरुले निकै पीडा सहेर सन्तानलाई जन्म दिन्छन् ।
गर्भावस्थामा कुन पोजिसनमा सुत्ने ? कसरी सुत्दा आफू र गर्भको शिशु सहज हुन्छ ? यसबारे ध्यान दिन जरुरी छ ।
आमाले गरेको हरेक कामको प्रत्यक्ष असर गर्भमा रहेको बच्चालाई पर्न जान्छ । सामान्यतया गर्भवती भएको आमालाई सुत्न कठिनाइ हुन्छ ।
आमा र गर्भको शिशु दुवैको स्वास्थ्यका लागि सुत्ने तरिकाका बारेमा जान्न आवश्यक छ । जसले आमा र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो गर्छ ।
कुन पोजिसनमा सुत्ने ?
गर्भवती भएको तीन महिनासम्म पेटको भार कम हुने भएकाले सिधा वा जुनसुकै पोजिसनमा सुत्दा पनि खासै असर पर्दैन । तर तेस्रो महिनापछि पेटको भार बढ्दै जाने भएकाले आमालाई सिधा सुत्न गाह्रो हुन्छ । सिधा सुत्दा सबै भार पिठ्युमा पर्ने भएकाले यो आमा र शिशु दुवैका लागि हानिकारक हुनसक्छ ।
पिठ्युँमा भार पर्ने गरी सुत्न नहुने : गर्भावस्थामा सिधा सुत्दा रगत स्वतन्त्र रुपमा चलायमान हुन पाउँदैन । जसकारण पाचन प्रणाली तथा ढाडको समस्या आउन सक्छ । महिलाले गर्भ बसेको तीन महिनापछि सिधा सुत्नु हुँदैन । सिधा सुत्दा गर्भमा रहेको शिशुमाथि सिधा भार पर्न जान्छ ।
सुत्ने सही पोजिसन : गर्भावस्थामा आमाले बाँयातर्फ ढल्किएर सुत्नु फाइदाजनक मानिन्छ । बाँयातर्फ फर्केर सुत्नाले शरीरका सम्पूर्ण अंगमा रगत स्वतन्त्र रुपले सञ्चार हुन पाउँछ । यस्तो सुताइ पोजिसनले गर्भमा रहेको बच्चाले राम्ररी अक्सिजन प्राप्त गर्छ । यसले बालबालिकालाई स्वस्थ रहन मद्दत गर्छ ।
बाँयातर्फ सुत्दा आमाले घुँडा मोडेर सुत्नुपर्छ । राम्रो निद्राका लागि आमाले खुट्टाको बीचमा सिरानी समेत राख्न सकिन्छ । सही पोजिसनमा सुत्दा आमाले ढाडको समस्याबाट समेत छुटकारा मिल्छ ।
गर्भावस्था विशेष समय भएकाले यस्तो बेला आठदेखि नौ घण्टा सुत्नुपर्ने चिकित्सकहरुको राय छ । पर्याप्त निद्राले गर्भमा हुर्किरहेको शिशुको पूर्ण विकासमा मद्दत गर्छ । यदि कुनै समस्या आए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।