काठमाडौं । सरकारले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार (आज) प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, ०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव ०७८/७९’ पेस गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ५ गते साँझ ६ बजे बस्नेछ ।
नेपालको संविधानअनुसार जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको आयव्यय बजेट पेस गर्ने व्यवस्था छ । त्यो भन्दा अगाडि सरकारले नीति कार्यक्रम संसद्मा पेस गर्नेछ । यसैबीच सम्पत्ति शुद्धीकरण र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा बिहीबार छलफल भएको छ ।
संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिको बिहीबार सम्पन्न बैठकले आफ्नो आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो ।
समितिका सबै सदस्यले बैठकमा प्रस्तुत सम्पत्ति शुद्धीकरण र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफाबार छलफलका लागि तत्काल अघि बढाउन समितिले पारित गरेर पठाउनुपर्ने धारणा व्यक्त गरेका थिए । सो बमोमिज बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन तेस्रो संशोधन, २०७९ माथि छलफल प्रारम्भ भएको छ ।
यही जेठ २ गते पहिलोपटक बसेको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा आएकाले यसमा दफाबार छलफल गरी निष्कर्षमा पुर्याउनुपर्ने जानकारी गराएका थिए ।
संक्रमणकालीन न्यायका सम्बन्धमा १ सय ८६ वटा संशोधन परेको छ । उक्त विषयमा अब समितिमा दफाबार छलफल प्रारम्भ भएको हो । समितिको बैठक शुक्रबार ११ बजे पुनः बस्नेछ । दफाबार छलफललाई निरन्तरता दिइने बिहीबारको बैठकका सभापति गुप्ताले बैठकमा जानकारी गराए ।
समितिको बैठकको कार्यविधिमा बिनासूचना निरन्तर पाँच वटा बैठकमा उपस्थित हुन नसके समितिको सदस्यबाट निष्कासन गरिनसक्ने व्यवस्था छ । तर समितिका सदस्यले बैठकमा उपस्थित हुन नसक्नाको लिखित कारण समितिका सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।