काठमाडौं । नेपालमा पनि पछिल्लो समय युवापुस्तामा उच्च रक्तचापको समस्या बढिरहेको तथ्याङ्कहरुले देखाएका छन् ।
युवा पुस्ताहरुमा यो समस्या किन बढ्दै गइरहेको छ त ?
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ अर्ब भन्दा बढिमा मानिसमा उच्च रक्तचाप समस्या छ ।
ती मध्ये ४६ प्रतिशत वयस्कहरुले उच्च रक्तचाप भएको नै थाहा पाउँदैनन् ।
नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।
जसमध्ये १० लाखले मात्रै आफ्नो अवस्थाबारे जानकारी पाउने गरेका छन् भने चार लाख मानिसले उच्च रक्तचापको औषधि सेवन गरेको देखिन्छ ।
तथ्यांक अनुसार, ३७ लाख मानिसहरु आफूलाई भएको समस्याबारे पनि थाहा पाउँदैनन् ।
नेपालमा भएको स्टेप सर्भे २०१९ को तथ्यांकअनुसार ३९ प्रतिशत मृत्युको हिस्सा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट हुने गरेको छ ।
३० देखि ६९ वर्षका २५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको चिकित्सकहरु बताउँछन् ।
मानव शरीरमा रगतको प्रवाह सामान्यतया सिस्टोलिक ब्लड प्रेसर १ सय ४० एमएमएचजी भन्दा धेरै र डायलोस्टिक ब्लड प्रेसर ९० एमएमएचजीभन्दा बढी भएमा उच्च रक्तचाप भएको मानिन्छ ।
नेपालमा उच्च रक्तचाप समस्या भएका मध्ये २५ वर्षमुनिका १० प्रतिशत छन् ।
मोबाइलमा धेरै समय बिताउनु, अस्वस्थकर खानाको प्रयोग र शारीरिक गतिविधि न्यून हुनुले कम उमेरमै रक्तचाप बढ्दै गएको डाक्टर ओममुर्ति अनिल बताउँछन् ।
स्वास्थ्य समस्यासमेत थाहा नपाउँदा समयमा परीक्षण र उपचार अभावमा उच्च रक्तचाप ‘साइलेन्ट किलर’ बन्दै गएको चिकित्सकको बुझाई छ ।
उच्च रक्तचापको प्रमुख कारण मानसिक तनाव नै हो । व्यस्त जीवनशैली, अत्याधिक मानसिक तनाव, अस्वस्थकर खानपिन र शरीरिकरूपमा निस्क्रियताले कम उमेरमा नै यो समस्या देखिन्छ ।
त्यसैले स्वस्थ जीवनशैली तथा खानपिनमा ध्यान दिनु जरुरी छ ।