इजिप्ट । युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ ।
सीमामा पर्खिरहेका सयौँ शरणार्थी परिवारमध्ये केहीसँग राहदानी छैन । महिला र बच्चाहरूलाई छुट दिइए पनि आफ्नो पति, भाइ वा छोरालाई भिसा नदिएसम्म आफुहरू कतै जान नसकेको बताउने एक महिलाले आफूहरूले इजिप्टको वाणिज्य दूतावासको कृपा पर्खेर दिन बिताइरहेको बताइन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार गत अप्रिल १५ मा दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच युद्ध सुरु भएयता एक लाख ३२ हजारभन्दा बढी शरणार्थी इजिप्ट आइपुगेका छन् ।
सीमावर्ती शहर वादी हल्फास्थित इजिप्टको वाणिज्य दूतावासले आफन्तलाई भिसा दिने पर्खाइमा रहेकी एक महिलाले केही दिनदेखि ‘कहिले भुइँमा त कहिले बसमा सुतिरहेको’ बताइन् ।
नाम नबताउने शर्तमा ती महिलाले भनिन्, ‘हामी खार्तूममा आफ्नो घरबाट भागेको एक महिना पछि आफ्ना केही काकीहरूसँग सीमा पार गर्यौँ, तर मेरो काकालाई भने प्रवेशाज्ञा मिलेको छैन, हामी उहाँहरूको पर्खाइमा इजिप्टको सीमानामा खुला आकाशमा दिन रात बिताइरहेका छौँ, हामी विदेशमा केही गर्न जान्दैनौँ, काकाहरूविना हाम्रो अघिको यात्रा असम्भव छ, तर इजिप्टको वाणिज्य दूतावासले उहाँहरूलाई प्रवेश आज्ञा दिएको छैन ।’
दुई हप्ताको प्रतिक्षापछि अन्ततः कायरो पुगेका अरू केही सुडानी नागरिकहरूले वादी हल्फामा फसेका कारण युद्धका समय फाइदा लुट्ने मुनाफाखोरहरूको व्यवहारको शिकार बनेको बताए । उनीहरूले सबै कुराको अत्यधिक मूल्य निर्धारण गरिएको बताए ।