महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ।
अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ।
पाँच वर्षअघि मात्रै यहाँ दैनिक एक सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आउने गरेकामा अहिले दैनिक पाँच सयदेखि छ सय बिरामी आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालले समयानुसार सेवा विस्तार गर्दै लगेकाले उपचारका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको जानकारी दिए।
“केही समय कोभिडका कारण सेवा सञ्चालन गर्न सकिएको थिएन्। विस्तारित सेवा बुधबारदेखि सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “विशेषज्ञ सेवा अस्पतालले दिँदा यहाँ आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ।”
अस्तापलमा अहिले हाडजोर्नी, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, एमडिजिपी, रेडियोलोष्टि र सर्जन गरी १४ विशेषज्ञ चिकित्सक कार्यरत छन्। अध्यक्ष भट्टका अनुसार अस्पतालमा हाल ११ एमबिबिएस चिकित्सक, तीन दन्त रोग विषेशज्ञ छन्।