एजेन्सी । औषधी सेवन गर्दा साबधानी अपनाइएन भने ज्यानै पनि जान सक्छ । रोगको सही उपचारका लागि डाक्टर र बिरामीले विभिन्न चरणमा सही निर्णयहरु लिनुपर्छ । बिरामीले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ डाक्टर कहाँ जाँच गराउनु, डाक्टरलाई रोगको बारेमा राम्ररी वर्णन गर्नु, आवश्यक कुरा भन्न नबिर्सिनु वा नलुकाउनु उत्तम हो । लाजले, डरले रोग लुकाउनु ठूलो गल्ती हो।
यस्तै डाक्टरले बिरामीको लक्ष्णहरु राम्ररी बुझ्नु, त्यसलाई विश्लेषण गर्नु, सही जाँचहरु गर्न सल्लाह दिनु र अन्त्यमा सही ‘डाइग्नोसिस’ गर्नु प्रत्येक रोगीको उपचारको लागि महत्त्वपूर्ण हुन्छन् । डाक्टरले गरेको उपचारमा औषधिको भूमिका सबभन्दा ठूलो हुन्छ । रोग ठीक हुनमा औषधिको सही प्रयोग हुनु सबभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ । जति राम्रो जाँच र उपचार भएपनि बिरामीले खाएको औषधि सही नभएमा रोग ठीक नहुन सक्छ।
त्यसैले डाक्टर र बिरामी दुवैले यो कुरामा ध्यान दिनुपर्छ । डाक्टरले लेखेकै औषधि सही मात्रामा र ठीक समयमा खायो भने रोग निको हुने सम्भाना बढी हुन्छ । यस्तो नभएमा उल्टै औषधिले नराम्रो असर गर्न सक्छ । बिरामीले सही औषधि नखाने कारणहरू तीन स्तरमा हुनसक्छन्।
बिरामीले खाइराखेको अरु औषधिहरुको बारेमा डाक्टरले सोध्नुपर्छ। डाक्टरले लेखेको औषधि बिरामीले सहि रुपमा प्रयोग र्गनुपर्छ । डाक्टरले बिरामीलाई प्रत्येक भेटमा खाइराखेको औषधि ल्याउन लगाउने र लेखेकै औषधि बिरामीले सेवन गरेको छ वा यकिन गर्नुपर्दछ ।
धेरै बिरामीहरू औषधि पसलमा गएर आफ्नो समस्याको लागिऔषधि बिक्रेताको सल्लाह अनुसार औषधि किनेर खाने गर्दछन् । साधारण समस्याको लागि यस्तो गरेमा धेरै अप्ठ्यारो नभए पनि पछि समस्या देखिन्छ । मुटुरोग, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुमा डाक्टरको सल्लाह बिना कुनैपनि औषधि प्रयोग गर्नु हानिकारक हो।
बिरामीलाई नभनीकन नाम फेरेर औषधि फार्मेसीको गल्ती हो । डाक्टरले लेखेको औषधिको नाम नबुझिएमा अनुमानको आधारमा औषधि दिनु, औषधिको बारेमा अनावश्यक कुराहरू भनिदिनु, डाक्टरको सल्लाह विना बिरामीलाई औषधिको मात्रा घटाउने बढाउने वा बन्द गर्ने सल्लाह दिनु फार्मेसीको गल्ती हो।
आफूले खाने औषधिको आवश्यकता, महत्त्व र साइड इफेक्ट आदिको बारेमा जानकारी नराख्नु बिरामीको गल्ती हो। खाने औषधिको नाम थाहा नहुनु, डाक्टरको सल्लाह विपरित औषधिको मात्रा घटबढ गर्नु, औषधी खानै बन्द गर्नु, डाक्टरबाहेक अरु कसैको सल्लाह मानेर उपचारमा परिवर्तन गर्नु, औषधि खाँदा ‘साइड इफेक्ट’ भए कसैलाई नभनी बन्द गर्नु । डाक्टरलाई पछि नभेट्नु बिरामीको गल्ती हो।
डाक्टरले लेखेको अवधिभन्दा बढी औषधि खानु हुँदैन। ग्यास्ट्रिकको औषधि, निद्रा लाग्ने औषधि आदि, दुखाई कम गर्ने औषधी अनावश्यक रुपमा खानु हुन्न । डाक्टरलाई भेट्ने बेलामा आफूले खाइराखेको सम्पूर्ण औषधिहरूको बारेमा जानकारी दिनुपर्छ।
औषधिमा लेखिएको म्याद सम्बन्धी जानकारी राख्नुपर्छ । औषधीको म्याद सकिने मिति ख्याल गरेर औषधी सेवन गर्नुपर्छ । ‘एक्सपाएरी डेट’ सकिएको औषधी प्रभावकारी हुँदैन । साथै, स्वास्थ्यका लागि हानिकारक पनि । औषधि खानुभन्दा अगाडि मिति चेक गर्नुपर्छ । औषधीको म्यादलाई छोटकरीमा ‘इएक्सपी’ लेखिएको हुन्छ।