यमन । अस्पताल मोनाको घरबाट करिब ४० किलोमिटर टाढा छ । उनलाई प्रसव व्यथा सुरु भएपछि उनका लागि जीवन रेखा बन्यो एउटा ऊँट । उत्तर–पश्चिमी यमनको महवीत प्रान्तको एउटा गाउँ अल–मकरामा बस्ने १९ वर्षकी मोनाका लागि अस्पताल पुग्नु ठुलो चुनौती थियो ।
सबैभन्दा नजिकको अस्पताल बानी सादमा थियो, जुन पहाडमा उनको घरबाट लगभग ४० किलोमिटर टाढा थियो । घरबाट अस्पताल पुग्न उनलाई चार घण्टाको समय लाग्थ्यो । तर सडक नभएका कारण र मौसम खराब भएका कारण अस्पताल पुग्न सात घण्टा लाग्यो ।
यात्राका बेला मोना लगातार प्रसव पीडा झेलिरहेकी थिइन् । उनी भन्छिन्, ‘यस्तो लागिरहेको थियो कि ऊँटको हरेक कदमले मेरो जीवन खोसिरहेको छ ।’
ऊँट आधा बाटोमा अघि बढ्न नसकेपछि मोना ऊँटको पिठ्युँबाट ओर्लिन् । उनले श्रीमान्सँगै पैदल यात्रा गर्ने निधो गरिन् ।बानी साद यमनको महवीत प्रान्तको एक मात्र अस्पताल हो, जुन हजारौँ महिलाको उपचार गर्ने एक मात्र ठाउँ हो । मोनाको गाउँबाट यहाँ पुग्न दुई वटा मात्र बाटो छ, ऊँटको पिठ्युँमा सवार भएर पहाडी बाटो पार गर्नु वा पैदल नै अस्पताल पुग्नु ।
मोनाका अनुसार यात्राका बेला जति समय उनी ऊँटमा सवार थिइन्, उनलाई आफ्नो र आफ्नो नजन्मेको बच्चाको सुरक्षाको चिन्ताले सताइरह्यो ।
उनी भन्छिन्, ‘पहाडी बाटोमा खाल्डाखुल्डी थियो । यो यात्रा मानसिक र शारीरिक रूपमा असाध्यै थकाउने खालको थियो । कति पटक त मैले अल्लाहलाई प्रार्थना गरेर आफ्नो ठाउँमा बोलाउन र यो पीडाबाट पार गराइदिन पुकारिरहेको थिएँ । तर आफ्नो बच्चा भने सही सलामत होस् भनेर अल्लाहसँग प्रार्थना गरिरहेको थिएँ ।’मोनालाई उनी कहिले अस्पताल पुगिन् भन्ने थाहा छैन, उनको कहिले उपचार भयो भन्ने पनि उनलाई केही अत्तोपत्ता छैन । उनले आँखा खोल्दा उनको नवजात शिशु डाक्टरको हातमा थियो र चिच्याउँदै रोइरहेको थियो । उनलाई यत्ति मात्रै याद छ ।
मोना र उनका श्रीमान्ले आफ्नो छोराको नाम जार्रा राखेका छन् । जार्रा ती डाक्टरको नाम हो जसले मोना र उनको बच्चाको उपचार गरेर उनको ज्यान जोगाए ।