पाठेघरमा हुने संक्रमणलाई मेडिकल भाषामा पिआइडी भन्ने गरिन्छ। पाठेघरको मुखमा संक्रमण भई पाठेघर तथा यस वरपरका अंगमा फैलिएर पेट दुख्ने, पानी जाने , पीप जाने, महिनावारीमा गडबडी हुनेजस्ता समस्या आएको अवस्थामा त्यसलाई पाठेघरको संक्रमण भन्ने गरिन्छ ।
पाठेघरको संक्रमण भएको कसरी थाहा पाउने ?
पाठेघरमा संक्रमण भएपछि कुनै कुनै माहिलाहरुमा तल्लो पेट धेरै नै दुख्ने गर्छ। महिनावारीको समय आएपछि पेट दुख्ने क्रम बढ्ने गर्छ । पाठेघरको मुखबाट गन्ह्याउने तथा फोहोर पानी आउने गर्छ । कतिपय पाठेघरमा संक्रमण भएका महिलाहरुमा महिनावारीमा गडबडी समेत हुने गर्छ ।
यस्तो समस्या भएमा महिलाहरुमा महिनावारीको समयमा अत्याधिक रक्तस्राव समेत हुने गर्छ । यौन सम्पर्कका समयमा पीडा भएमा पनि पाठेघरको संक्रमण भएको शंका गर्न सकिन्छ । संक्रमण शरीर भरि नै फैलिएको अवस्थामा वाकवाकी हुने ,ज्वरो आउने तथा बेहोस हुने समेत हुन सक्छ ।
कस्ता महिलाहरु पाठेघरको संक्रमण हुने सम्भावना बढी ?
महिनावारीको समयमा सेनिटरी प्याडको सट्टामा पुराना फोहोर कपडाहरु प्रयोग गर्ने महिलाहरुमा पाठेघरको संक्रमण हुन सक्छ । कपडामा भएको फोहोरका कारण पाठेघरको मुखमा संक्रमण भई अन्य अंगहरुमा यसको संक्रमण फैलिन सक्छ ।
एक भन्दा धेरै पुरुषहरुसँग असुरक्षित रुपमा यौन सम्पर्क गर्ने महिलाहरुमा पाठेघरको संक्रमण हुने सम्भावना रहन्छ । यदि श्रीमान्को एक भन्दा धेरै महिलाहरुसँग यौन सम्पर्कमा भएमा पनि महिलाहरु यसको जोखिम धेरे हुन्छ । कतिपय महिलाहरुमा पानी जाने समस्याको उपचार समयमै नहुने कारणले पनि पाठेघरको संक्रमण हुने सम्भावना रहन्छ । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनका साधनहरुको प्रयोग सही तरिकाले नहुँदा पनि महिलाहरुमा पाठेघरको संक्रमण हुने सम्भावना रहन्छ।
त्यस्तै असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाहरुमा पाठेघरको संक्रमण हुने जोखिम रहन्छ। पोषणयुक्त खानेकुरा तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन नसक्दा पनि पाठेघरमा संक्रमण हुने सम्भावना बढ्ने गर्छ ।
उपचार के ?
रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो हुन्छ । रोग नै लाग्न नदिनका लागि महिलाहरुले महिनावारीको समयमा सेनिटरी प्याडको प्रयोग गर्नुपर्ने हुन्छ । एक भन्दा बढी पुरुषहरुसँग यौन सम्पर्क नराख्ने तथा यौन सम्पर्क राख्नै परेको अवस्थामा कन्डमको प्रयोग गर्नुपर्ने हुन्छ।
पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्या भएका महिलाहरुले तुरुन्तै चिकित्सक कहाँ आएर स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ। पाठेघरको संक्रमण सुरुकै अवस्थामा छ भने औषधिको प्रयोगद्वारा यसको उपचार गरिन्छ ।
यदि जटिल अवस्था भइसकेको छ भने अस्पताल भर्ना गरेर नै उपचार गर्नुपर्ने हुन्छ । यदि पाठेघरको ट्युब र अण्डाशयमा संक्रमण धेरै नै फैलिसकेको छ भने त्यसलाई शल्यक्रिया गरेर मात्रै निको बनाउन सकिन्छ । अन्तिम चरणमा पुगिसकेको अवस्थामा पाठेघर निकालेर नै उपचार गरिन्छ।
पाठेघरमा संक्रमण हुन नदिन के गर्ने ?
पाठेघरको संक्रमण भएमा रगतको माध्यमबाट शरीरका अन्य अंगहरुमा समेत संक्रमण फैलिन सक्ने अवस्था आउन सक्छ। संक्रमणका कारण मृगौलामा समेत समस्या आउन सक्छ । रगतको माध्यमबाट शरीरभरि नै संक्रमण फैलिन सक्ने सम्भावना रहनेछ भने कतिपय महिलाहरुमा बाँझोपनाको समस्या पनि आउन सक्छ। यदि बच्चा बसेमा पनि गर्भपतन हुने सम्भावना रहन्छ । सरसफाई विशेष ध्यान दिने तथा महिनावारीको समयमा सेनेटरी प्याडको मात्रै प्रयोग गरी पाठेघरमा हुने संक्रमणबाट बँच्न सकिन्छ।
पोषणयुक्त खानाको प्रयोग तथा जीवनशैलीमा विशेष ध्यान दिन सकेको अवस्था यसबाट बँच्न सकिन्छ। असुरक्षित गर्नपतनका कारण पनि पाठेघरमा संक्रमण हुन सक्ने भएकोले मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्नपतन गराएर पनि पाठेघरको संक्रमण हुने जोखिमलाई कम गराउन सकिन्छ।