काठमाडौं। कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा लम्पीस्किन नामक संक्रमक रोगको महामारी फैलिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ।
कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पीस्किन रोगको संक्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा संक्रमण देखिएको जानकारी दिए।
उनले ताप्लेजुङ र सोलुखम्बू बाहेकका जिल्लामा यो रोगको महामारी फैलिएको बताए। उनले यस रोगको संक्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरु मरेको जानकारी दिए।
उनका अनुसार इलामका दश वटा पालिकामा चार सय ३५, झापाका १५ वटा पालिकामा एक सय २०, पाँचथरमा १७, मोरङमा एक सय ८२, उदयपुरमा एक सय २०, खोटाङमा तीन, ओखलढुंगामा पाँच गाईगोरु मरेका छन्।
यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, संखुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, राँगाभैँसी मरेको उनको भनाइ छ । लम्पीस्किन रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उनको भनाइ छ।